देउवाको पालामा फौजीलाई रेस्टुरेन्टमा बोलाउँदै, कोशेली फुत्काउँदै

देउवाको पालामा फौजीलाई रेस्टुरेन्टमा बोलाउँदै, कोशेली फुत्काउँदै

नेपाल प्रहरीमा ३२ जना एसएसपीको बढुवा भएसँगै सशस्त्र प्रहरी बलमा पनि एसएसपी बढुवाको तयारी थालिएको छ । यही साताभित्र बढुवा सकाउने तयारी छ । वरिष्ठताको आधारमा १,२ र ३ नम्बरका एसपीलाई छाडेर ४ नम्बरलाई तान्न अनेक चलखेल भैरहेको बताइन्छ ।

राम्रोसँग बोल्न नसक्ने अवस्थामा रहेका चार नम्बरे शंकर खनाललाई वरियताक्रमको माथिल्तिर पर्ने गरी तान्न लागिएपछि अरु आकांक्षी मलिन देखिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको गाउँले खनाल यसअघिका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धेरै मायाँ गरेमध्येका हुन् ।

उनैको नाताले भाइ उनलाई यसअघि मुख्यालय हल्चोकस्थित रिक्रिएसन सेन्टरबाट शुभलाभ धेरै हुने ठाउँको रुपमा चिनिने भैरहवा पठाइएको थियो । उता प्रबन्ध प्रमुखको जिम्मेवारी पाएका दीपेन्द्र कुँवर (ख) लाई एसएसपी कन्फर्म गर्ने क्रममा विनियम नै परिवर्तन गर्न थालिएको छ ।

उनैको लागि विद्यमान चार वर्षको बढुवा क्राइटेरियालाई घटाएर तीन वर्ष बनाइसकिएको छ । उता १६ नम्बरमा रहेका रामेछापका विकास घिमिरेले पनि माथि उक्लन साम,दाम, दण्डभेदको निम्ति दिपेन्द्रलाई प्रयोग गरेको पाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाको ज्वाईं दिपेन्द्रले निजी स्वार्थमा फौजलाई कसरी भाँडभैलो गर्दैछन् भन्ने कुराको थप नमूना आउन बाँकी नै छ । वरिष्ठता सूचीको १ नम्बरमा झापा बिर्तामोड घर भएका उप्रेती थरका एसपी छन् ।

यस्ता सबै खेल प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा र आरजू राणाका पिए प्रकाश देउवाले बालुवाटारको एउटा कुनोमा रहेको रेष्टुरेन्टमा खेल्ने गरेको हल्चोकभरि चर्चा छ । उनीहरुले नियमित भेटघाट र योजना बनाउने थलो बालुवाटार र शीतल निवासबीच मोडभित्रको ओपेरा रेष्टुरेण्ट हो ।

उक्त रेष्टुराँ शिवपुरी माध्यमिक विद्यालयबाट एक सय मीटर उत्तरपश्चिम कुनोमा अवस्थित छ । ओपेरा प्रकाश देउवा र बागलुङका अर्का एक जना ब्यापारीको लगानीमा खुलेको बताइन्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको बढुवा, सरुवा र तक्मासम्बन्धी विशेष कुराकानी र निर्णय पछिल्लो समय त्यहिँबाट हुने गरेको हुने खानेहरु बताउँछन् ।

उता नेपाल प्रहरीको बढुवामा भने अर्का बिचौलिया रामहरि खतिवडाले नारायणहिटी दरवारको गणतन्त्र स्मारकवाला पूर्वी ढोकाबाट नक्साल जाँदा मोडैको इमागो रेस्टुरेन्टलाई आकाँक्षी बोलाउँदै धुत्ने थलो बनाएका थिए ।

– उमेश अधिकारी र रमेश आचार्य

टिप्पणीहरू