मदन भण्डारीवाला गीतमाथि मारमुंग्री

मदन भण्डारीवाला गीतमाथि मारमुंग्री

०७७ पुस ५ अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीसमक्ष आफ्ना गुप्तचर प्रमुख सामन्त गोयलमार्फत चार बुँदे ‘समझदारी पत्र’ पठाउनुभएको चर्चा एमाले नेताहरुको बीचमा चलेको छ ।

गत बिहीबार एमाले नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.पुष्पराज कँडेलका छोराको विवाह जमघटमा त्यस्तो चर्चा चल्यो । त्यहाँ अहिले एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेसहित एमालेका थुप्रै नेता थिए । चलेको प्रसंग पुरानै हो : चुच्चे नक्साबारे संविधानको अनुसूची संशोधन गर्नका निम्ति संसदमा अभूतपूर्व एकता जुटेपछि त्यो पारित भयो ।

तर, त्यसलाई प्रकाशित भएपछि पनि विद्यालयको पाठ्यक्रममा समावेश नगरियोस् भन्ने माग भारतको थियो । उक्त जमघटमा भएको चर्चाअनुसार, मोदीको अनुरोधका चार बुँदामध्येको एक महत्वपूर्ण बुँदा यो थियो । यसरी पहिलो बुँदालाई ओलीले इमान्दारिताका साथ पूरा गरिदिएपछि दोस्रो बुँदा कार्यान्वयन गर्ने कुरा ओलीकै हातमा थियो, अर्थात् संसद भंग ।

तेस्रो र चौथो बुँदा कार्यान्वयनका निम्ति पनि संसद र पार्टीको संरचना बाधक भएको ओलीले बताउनुभएको थियो । ती दुबै संस्थालाई विघटन गर्दा भारतको समर्थन हुने भएपछि पुसको ५ गते ओलीबाट संसद भंग र फागुनको २३ गते सर्वोच्च अदालतबाट तत्कालीन नेकपा भंग हुन पुग्यो । यसरी संसद र पार्टीमाथि आक्रमण गर्दै तेस्रो र चौथो बुँदा कार्यान्वयन गरिनुपर्ने विषय थियो, संघीयता खारेज र धर्मनिरपेक्षता खारेज गरी हिन्दू राज्य कायम ।

त्यसअघि माओवादीसँग एकता गरेर दुई अध्यक्ष बनाउने कुरालाई मुकुन्द न्यौपानेले पञ्चतन्त्रको ‘दुई टाउके हाँस’ भन्नुभएको रहेछ । ‘दुई हाँस, एक जिऊ, अर्थात्, एउटाले अमृत र अर्कोले वीष खाँदा दुबै मरे !’ एकताअघिको स्थायी कमिटी बैठकमा मुकुन्दले यो कुरा भन्नुभएको थियो ।

२३ गते बिहीबार त्यहाँ भएको चर्चाअनुसार, ०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनमा पार्टी अध्यक्ष माधव नेपाल, प्रधानमन्त्री केपी ओली र राष्ट्रपति झलनाथ खनाल हुने गरी नेताबीच सहमति गराइयो । यदि केपीले त्यो प्रस्ताव मान्नुभएन भने माधवलाई प्रधानमन्त्री बनाउने गरी उहाँलाई अध्यक्ष बनाउने कुरा थियो । त्यसमा झलनाथ सहमत हुनुभयो । यो कुरा हुँदा त्यहाँ भीम रावल पुगेका थिएनन् ।

घनश्याम भुसालले थाहा पाएपछि माधवसँग गएर ‘झलनाथकहाँ जानुप¥यो, ओलीसँग मिलाउने गरी कुरा चलाएका छन्’ भने । माधव पार्टी कार्यालयका सहयोगी चन्द्र पासवानकी आमाको निधनपछि अन्त्येष्टि कार्यक्रमबाट सीधै डल्लु पुग्नुभयो । ओलीबाट पार्टी चल्दैन, प्रधानमन्त्री दिए हुन्छ भन्ने कुरा गर्नुभयो । त्यसबेला संसदीय दलको नेता छान्नुपर्ने थियो ।

अध्यक्ष कि दलको नेता भन्ने ओलीको माग रह्यो । वामदेवले अन्तिममा झलनाथको साथ छाडेर ओलीलाई समर्थन गरिदिएपछि दलको नेतामा चुनाव जित्न कठिन हुने कुरा झलनाथले बुझिसक्नुभएको थियो । तर, माधवले ‘दलको नेता र आगामी प्रधानमन्त्री पनि तपाईं नै’ भनेर हौस्याउनुभयो । घरका मान्छेले समेत ‘ओलीलाई बेकारमा किन छाड्नु ?’ भनेर कराउन थालेपछि उहाँ दलको नेतामा उठ्नुभयो र हार्नुभयो ।

तर, यी कुराका आधारमा मुकुन्दले त्यो साँझ पार्टी मिलाउनुपर्छ भन्नुभयो भनी नयाँपत्रिकामा समाचार छापियो । उहाँले नयाँ पत्रिकाबाट फोन गर्ने सुरोजंग पाण्डेलाई भन्नुभएको रहेछ, ‘विवाहमा गएको, मजाकको कुरा भयो ।’ उहाँले कविता नै सुनाइदिनुभयो, ‘देशका लागि लड्नेहरु जिउँदै शालिक भए, नोटका बिटा बोक्नेहरु देशका मालिक भए †’ यही कुरा उक्त जमघटमा गर्दा एमाले उपाध्यक्ष विष्णु पौडेलले ‘गज्जब’ भन्दै ताली पिट्नुभयो ।

उहाँले ०५६ मा लेखेको एउटा शायरी पनि सुनाउनुभयो, ‘माता यिनका कुर्सिया, पिता यिनका नोट, मुस्किलमें हम पडगए भाइ किसको दिएँ भोट ?’

गीतको कुरा

‘देशमा मदन भण्डारीजस्तो नेता फेरि जन्मिएनन्’ भन्नु एमाले वा केपी ओली नालायक हुन् भन्नु होइन । तर, अक्कल नै डेढी भएपछि दिमागले त्यही ठम्याउँदो रहेछ । यसपछि एमालेहरुले एउटा सद्दे गीतलाई अपांग बनाइदिए ।

मुकुन्द न्यौपानेले १० वर्षअघि एमाले हुँदै लेखेको र टीका भण्डारीद्वारा संगीतवद्ध गीतको स्थायी बोल थियो, ‘मदन, तिमीलाई जनताले सम्झिरहेछन् आज, तिमी भए कस्तो हुन्थ्यो हाम्रो माझ !’ उक्त गीतमा मदनपछि उनीजस्ता नेता जन्मिएनन् भनिएको कुरा एमाले र विशेषतः केपी ओलीलाई ठीक नलाग्दा अहिले उक्त गीतबाट त्यस्तो शव्द हटाएर युट्युबमा अपलोड गरिएको छ । उक्त गीतमा ‘तिमीपछि नेतै जन्मिएन कोही’ भनिएको वाक्यांशसँग के को रिस हो ? भनेर मुकुन्दले त्यहाँ कुरा कोट्याउनुभयो ।

टिप्पणीहरू