ओलीले अब गर्नसक्ने थप अचम्म

ओलीले अब गर्नसक्ने थप अचम्म

‘प्रयास भइरहेको छ, चिन्ता गर्नु पर्दैन ! गठबन्धन टुट्छ, तपाईंहरू ढुक्क हुनुस् !’, नेकपा एमालेको पछिल्लो सचिवालय बैठकमा अधिकांश नेताले सत्ता गठबन्धन कायमै रहे आगामी संसदीय निर्वाचनमा पार्टीले फेरि पनि पराजय व्यहोर्नुपर्ने चिन्ता पोखेपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो । तर, केही नेताले त्यसअनुसारको परिणामका संकेत नदेखिएकोमा ध्यानाकर्षण गराउँदा उहाँले एक वाक्यमा भन्नुभयो, ‘बाहिर हल्ला गरेर गर्ने विषय होइन, काम गर्ने हो, यो भैरहेको छ !’

स्थानीय चुनावमा अनपेक्षित परिणाम आएपछि एमाले घोषित रूपमै सत्तारुढ पाँचदलीय गठबन्धन टुटाउने रणनीतिमा छ । त्यसको विकल्पमा वाम गठबन्धनको प्रस्ताव अघि सारिएको छ । र, जसपा, राप्रपाको थप विभाजनसँगै महन्थ, राजेन्द्र, बाबुराम, रेशम चौधरी, सिके राउत, कमल थापाहरुलाई मिलाएर नयाँ धु्रवीकरण बनाउने खेलसमेत प्रारम्भ भएको छ । उता, माओवादी केन्द्र र एकीकृत समाजवादीको मूल नेतृत्व सहमत नहुँदा केही नेताको प्रयासका बाबजुद वाम सहकार्यको बहसले मूर्तरूप लिन सकेको छैन ।

तर, ओलीमा देखिएको कन्फिडेन्सको सोझो अर्थ हो– वाम गठबन्धनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको एउटा पक्षले गरिरहेको प्रयासले गति लिइरहेको छ र त्यसले उहाँलाई उत्साहित बनाएको छ । माओवादी र एकीकृत समाजवादीको एक तप्का स्थानीय चुनावकै बेला वाम गठबन्धनको प्रयासमा थियो । माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा समाजवादीबाट झलनाथ खनाल यो प्रक्रियामा जोडतोडले लागेको विभिन्न घटनाक्रमले देखाइसकेको छ ।

दुई पार्टीका प्रभावशाली नेताहरू वाम सहकार्यको पक्षमा उभिनु, सत्ता गठबन्धन टुट्नेमा केपी ओली ढुक्क रहनु र यतिबेलै उत्तरी छिमेकी चीनका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणमा आउनुबीचको राजनीतिक सम्बन्ध के होला ? अथवा यो सब एउटा संयोग मात्र हो ? राष्ट्रिय राजनीतिमा प्रत्यक्ष देखिने गरी ठूलो उलटफेर नभए पनि श्रृंखलावद्ध रूपमा विकसित यी घटनाक्रमले मंसिरको चुनावअघि नै वामपन्थीलाई एक ठाउँमा ल्याउने घरेलु तथा बाह्य परिस्थिति अनुकूल हुँदै गएको एकथरीको दाबीलाई आधारहीन नै चाहिँ भन्न सकिँदैन ।

सत्ता केन्द्रित राजनीति निर्णायक हुने नेपाली परिवेशमा भोलि के होला आजै किटान गर्न गाह्रो हुन्छ । ‘नेपाली राजनीतिमा कतिबेला के हुन्छ, थाहै हुँदैन’ भन्ने त भाष्य नै बनेको छ । किनभने ०७४ सालमा कांग्रेससँग सत्ता सहकार्यमा रहेको माओवादी र एमालेबीच लगत्तै छापामार शैलीको वाम गठबन्धन हुँदै एकता हुन्छ भन्नेमा त्यतिबेला कमैले विश्वास गरेका थिए ।

त्यस्तै, तीन वर्षमै त्यो पार्टी विभाजन होला भन्नेमा पनि धेरैलाई विश्वास थिएन । त्यसैले भावी राजनीतिको विश्लेषण गर्दा सत्ता समीकरणको प्रश्न नै निर्णायक बनेर आउने गर्छ, जसरी सत्ताका लागि जुटेका वामपन्थीहरू त्यसैगरी फुटेका थिए । तथापि, केही दिनका राजनीतिक घटनाक्रमले वाम गठबन्धनको सम्भावना देख्ने र खोज्नेहरूलाई उत्साहित बनाएको हुनसक्छ । बताइएअनुसार एमालेले सत्ता गठबन्धन फोर्न दुईवटा विकल्पलाई समानान्तर रूपले अघि बढाएको छ ।

पहिलो विकल्प, संस्थागत रूपमै माओवादी र समाजवादीलाई कांग्रेससँगको सहकार्यबाट बाहिर निकाल्ने हो । त्यो सम्भव नहुँदा दुवै पार्टीमा वाम गठबन्धनको पक्षमा रहेका नेताहरूको साथ लिएर परिस्थिति आफू अनुकूल बनाउने । सोहीअनुसार ओलीले आफ्नो टीम पनि परिचालन गर्नुभएको बताइन्छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माधवलाई भेटेर प्रधानमन्त्री या अध्यक्ष रोजेर लिन अफर गरेको सूचना बालकोटले सुविचारित ढंगले चुहाएको चर्चा हुने गरेको छ । आफूलाई चुनावपछिको पहिलो अढाई वर्ष प्रधानमन्त्री बनाउन लिखित गरिदिने प्रस्ताव आएको स्वयं प्रचण्ड आफैंले भनिसक्नुभएको छ । त्यसको पुष्टि गर्दै बालकोटनिकट एक नेताले यसो भनेका छन्, ’माधव र प्रचण्डलाई प्रस्ताव गरेको हो, तर उहाँहरूले त्यसलाई हाम्रो कमजोरी ठान्नुभयो, त्यसैले अब दोस्रो विकल्पमा छलफल अघि बढ्छ ।’

समाजवादीमा झलनाथलाई इङ्गेजमा राखेर माधव नेपालसँग असन्तुष्ट नेताहरूलाई सांसदको टिकट दिने भन्दै आफूतिर तान्ने एमाले अध्यक्ष ओलीको अर्को रणनीति छ । त्यसको जिम्मा उहाँले झलनाथसँग निकट सम्बन्ध भएका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिनुभएको छ । अघिल्लो पटकजस्तै राष्ट्रपति बनाउने आश्वासन दिएर झलनाथलाई माधवविरुद्ध प्रयोग गर्न सके एकै तीरले दुई शिकार हुने बालकोटको बुझाइ हो ।

यो प्रयास सफल हुँदा झलनाथहरू एमालेमै फर्किने र सत्ता गठबन्धन पनि भत्काउन सकिने विश्वासका साथ पाण्डे निरन्तर डल्लु भेटघाटमा रहेको आलोकनगरको रेकर्डमा छ भनिन्छ । यता, प्रचण्डलाई मनाउन वर्षमान पुनसँग एमालेको दोस्रो तहका केही नेताहरू निरन्तर संवादमा रहेको खुमलटारले नोटिसमा राखेको छ । माओवादीमा महासचिवका दावेदार पुनलाई मनाउन सके लचिलो स्वभावका प्रचण्ड उताको गठबन्धन छोडेर यता आउन तयार हुने ओलीको विश्वास हो । एमालेका एक नेताले त भने, ‘वर्षमान महासचिव हुँदा अनुकूल वातावरण बन्छ । हामी त्यो सम्भावना हेरेर बसेका छौँ ।’

तर, ओलीको यो रणनीति बुझेर प्रचण्ड र माधवले पनि काउन्टर रणनीति बनाएका छन् । दुबैतर्फका विश्वासिला स्रोतले बताएअनुसार कांग्रेससँगको सहकार्य बलियो बनाएर गठबन्धन कायम राख्ने पहिलो विकल्प छ । संगसंगै माओवादी, समाजवादी, जसपा, जनमोर्चा र बाबुराम भट्टराईहरूको तेस्रो मोर्चा बनाएर कांग्रेस र एमालेलाई साइजमा ल्याउने दोस्रो विकल्प हो ।

यसमा एमालेका नेताहरूसमेत आउने उनीहरूको दाबी छ । असन्तुष्टहरूलाई समेटेर पार्टीमा शक्ति आर्जन गर्न वाम गठबन्धनको चर्को कुरा गरे पनि विगतमा ओलीको पेलानमा परेका झलनाथलगायत नेता यथास्थितिमै त्यता जाने सम्भावना छैन भन्नेहरू पनि छन् । आफूलाई भेट्न आउने एमाले नेताहरूलाई झलनाथले अहिलेकै अवस्थामा ओलीसँग सहकार्यको सम्भावना नदेखेको सन्देश दिएको सूचना कोटेश्वर र खुमलटारसम्म नपुग्ने कुरा भएन ।

‘सुरेन्द्र पाण्डेसँग नियमित भेटघाट भइरहेको सूचना पाएका छौँ तर जेएन कमरेडले राजनीतिक रूपले हामी धेरै टाढा पुगिसक्यौं, हामीले अहिले गरेको विश्लेषण र केपी ओलीले दशौँ महाधिवेशनमा गरेको विश्लेषण धेरै फरक छ । त्यसो भएको हुनाले अहिले नै एकताको सम्भावना छैन भनेर प्रष्ट कुरा राख्नुभएको भन्ने बुझिएको छ’, जानकार स्रोतले भन्यो, ‘एमसीसी र एसपीपीमा छलफल गरेर एकीकृत धारणा बनाउन नसक्नु माधव कमरेडको पनि कमजोरी रह्यो भन्ने कुरा हो । अब त्यसअनुसार जाने र चुनावपछिको शक्ति समीकरण मिलाउँदा उहाँ (झलनाथ)लाई एड्जष्ट गर्न सके समस्या हुँदैन । उहाँ यही गठबन्धनको पक्षमा उभिनुहुन्छ ।’

यता, ओलीले आफ्नो पार्टीमा खेल्न खोजेको बुझेपछि चुनावअघि नै एकता गर्न माओवादी र समाजवादीको एउटा पक्ष लागिपरेको छ । अस्ति आलोकनगरमा समाजवादीका महासचिव बेदुराम भुसाल, उपाध्यक्ष प्रमेश हमाल र उपमहासचिव प्रकाश ज्वालासँग वर्षमान पुन र देव गुरुङको लामो छलफल भएको थियो । पार्टी एकताको सम्भावना र भावी रणनीतिबारे गम्भीर कुराकानी भएको स्रोतले बताएको छ । त्यसो त एमालेमा पनि स्थानीय चुनावपछि ओलीको रणनीति असफल भएको भन्दै असन्तुष्ट हुनेको संख्या व्यापक छ ।

विगतमा बालकोटको खास भनिएका नेताहरू नै अहिले ओलीसँग सन्तुष्ट नरहेको बताइन्छ । प्रतिनिधिसभा विघटनयताका राजनीतिक घटनाक्रमको समीक्षासहित नयाँ कोणबाट जानुपर्ने मत पहिलेभन्दा बढेको छ । दुई नेता (ओली–माधव)को जुङ्गाको लडाइँले वामपन्थी आन्दोलन नै बर्बादीतिर गएको भन्नेहरू हिजो घनश्याम भुसाल र भीम रावलमात्र थिए, अहिले त्यो संख्या बिस्तारै बढ्दै छ । त्यहाँ आत्मसमीक्षाको विषय उठेको छ ।

अर्कोतिर नेपाली कांग्रेसको आफ्नै दाउ छ । वामपन्थीहरू विभाजन भएका बेला एक्लै चुनाव लडेर बहुमत ल्याउने शेखर, गगनहरूको महत्वाकांक्षासहितको दाबी स्थानीय चुनावले खारेज गरिदिएपछि तिनै नेताले गठबन्धनको विकल्प नरहेको भन्न थालेका छन् । तर, कांग्रेस नेताहरूका सार्वजनिक अभिव्यक्तिमा सीट भागबण्डामा सहजै कुरो नमिल्ने संकेत बुझिन्छ ।

चुनावपछि कम्युनिष्टहरू मिल्दा पनि सरकार बन्ने स्थिति आउन नदिने गरी माओवादी र समाजवादीलाई गठबन्धनमै राख्ने कांग्रेसको रणनीति देखिन्छ । ०७४ मा समानुपातिकतर्फ एमाले हाराहारीमा भोट ल्याएर पनि प्रत्यक्षमा जम्मा २३ सीटमा खुम्चनुपरेको पीडाले बेलाबेला झस्किने गरेको कांग्रेसको एउटै उद्देश्य वाम गठबन्धन रोक्नु हो । त्यसका लागि माओवादी र समाजवादीलाई उसले कसरी मनाउँछ, धेरै कुरा त्यसमै निर्भर हुने देखिन्छ ।

वर्षमान महासचिवमा आइदिए हुन्थ्यो भन्ने एमालेको चाहना, जनार्दनको झलनाथसँग भेट, सुरेन्द्र पाण्डेको नियमित डल्लु आउजाउ, कांग्रेसमा शेखर पक्षको अतिवाद र जसपाको विभाजनले अहिलेको समीकरण यही रूपमा रहने सम्भावना भने लगभग अन्त्य भैसकेको छ । यसमा फेरबदल भए अचम्म मान्नु पर्दैन । दलहरूका आ–आफ्नै स्वार्थप्रेरित दाउपेचका बाबजुद पाँच दलीय गठबन्धन कायमै रहेको अवस्थामा ’काउन्टर’ दिन एमालेले स्थानीय चुनावमा भन्दा अझै व्यवस्थित गठबन्धन बनाउने सम्भावना पनि उत्तिकै छ ।

लोसपालाई थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनाउन रेशम चौधरी र बाबुराम भट्टराईहरूको एउटा ग्रुप अनि सिके राउत र कमल थापाको अर्को समूहलाई मिलाएर आफू बलियो हुने प्रयत्नसँगै समाजवादीमा तोडफोड र माओवादीमा मतभेद गराएर राष्ट्रिय राजनीतिको चाबी आफ्नो हातमा लिने रणनीतिका साथ ओलीका कदम अघि बढेको एकथरीको दाबी छ ।

टिप्पणीहरू