मुटुरोगी कुमारको गंगालालमा उपचार शुरु, सहयाेग जुट्दै

मुटुरोगी कुमारको गंगालालमा उपचार शुरु, सहयाेग जुट्दै

मुटु रोगबाट थलिएका कुमार नेपालीको राजधानीस्थित शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रमा उपचार थालिएको छ । डाक्टर सुजिब राजभण्डारीको टिमले उनको उपचार शुरु गरेको हो । मुटु समस्याले सिकिस्त उनलाई पाँच दिनअघि अस्पताल भर्ना गरिएको परिवारले बताएको छ ।

जनआस्था अनलाइनमा गत बुधबार प्रकाशित ‘पतिलाई मुटुरोग, स्याहार्ने श्रीमती पाठेघरको बिरामी,सानी छोरीको बिचल्ली’ शीर्षक समाचारपछि अस्पतालका चिकित्सकहरुले बिरामीको सोधखोज गरेका थिए । अस्पतालको पहलमा नेपालीलाई भर्ना गरेर नियमानुसारका सबै सुविधा निःशुल्क गरिएको गंगालाल प्रशासनको दाबी छ ।

विपन्न परिवारका नेपालीलाई आजै धरौटी रकम पाँच हजार फिर्ता गरिएको छ भने,खाना, इसीजीलगायतका परीक्षण पनि निःशुल्क गरिएको छ । निकै जटिल मुटु रोगको वर्गीकरणमा परेको उनको उपचारको निम्ति अस्पतालले सक्दो सहयोग गर्ने बताइएको छ ।

यसअघि प्रकाशित समाचारमा बिरामी नेपालीलाई पाँच पटक हृदयाघात भएको भन्ने विवरण मुटुरोग विशेषज्ञहरुले असम्भव भनेका छन् । ‘शायद बिरामी र परिवारले नबुझेर त्यसो भनेका हुन सक्छन् । तर उनको रोगको प्रकृति बेग्लै खालको भएकाले नियमित उपचारको आवश्यकता पर्नसक्छ,’ उपचारमा संलग्न एक जना चिकित्सकले बताए ।

जनआस्थाले उनको मुटुमा देखिएको समस्या जटिल हुँदै गएपछि शरीर पुरै सुन्निन थालेको र फोक्सो पनि फुलेपछि सहृदयी मनलाई जानकारी गराउन बुधबार उक्त समाचार प्रकाशित गरेको थियो ।

श्रीमानको उपचारमा सहयोगीको रुपमा खटिएकी अनिता स्वयमलाई पनि उपचारको खाँचो छ । पाठेघरको समस्या बोकेर उनी श्रीमानका निम्ति निरन्तर दौडधुप गरिरहेकी छन् । साथमा ६ वर्षकी छोरी बोकेर उनी अस्पताल र पैसाको जोहोमा लागेको कारुणिक दृश्य देखिन्छ ।

नुवाकोटको ककनी गाउँपालिका ५, थानसिङका कुमारलाई २०७३ सालमा मुटुको समस्या देखिएको थियो । त्यसयता उनले निरन्तर उपचार गराउँदा सबै श्रीसम्पत्ति सकाएका छन् ।

पछिल्लो दिनमा परिवारलाई खान र लाउन पनि धौधौ परेको छ । छोरीको पढाइ अवरुद्ध भएको छ । अरुले सहयोग गरे खान पाइने,नभए भोकै बस्नुपर्ने बाध्यता उक्त परिवारले सामना गरिरहेको छिमेकीहरु बताउँछन् ।यसैवीच कुमारसहित उनकी बिमार पत्नीको थप ओखतीमुलो र छ बर्षकी छोरीको पढाइ खर्चनिम्ति स्व.कमलापति-गङ्गादेवी पन्थ स्मृति प्रतिष्ठान  र इन्जिनियर सुरज पाण्डेले रु. दश दश हजार गरी बीस हजार सहयोग गरेका छन् । तपाईं पनि उनको दु:खमा मल्हम लगाउन चाहनुहुन्छ भने -कुमार नेपाली,प्रभु बैंक,खाता नम्बर ०३७०१६८००७७०००१४ र फोन ९८१८०७१४४४ र ९८४०४४०५०९ मा जोडिन अनुरोध छ ।

टिप्पणीहरू