सैनिक प्रवक्ता नारायण सिलवालको ड्युटी फेरिने प्रवल सम्भावना

सैनिक प्रवक्ता नारायण सिलवालको ड्युटी फेरिने प्रवल सम्भावना

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख जर्नेल नारायण सिलवालको जिम्मेवारी परिवर्तन हुने भएको छ । पुस ८ गतेदेखि मुलुकको सबैभन्दा ठूलो र संवेदनशील सुरक्षा निकायको प्रवक्ताको भूमिकामा रहेका सिलवालको भूमिकाबाट मिडियाकर्मी चिढिएपछि सेनाको उपल्लो तहमा प्रधानसेनापति अस्ट्रेलियाबाट फर्कनासाथ जिम्मेवारी परिवर्तनसम्मको कुरो चलेको हो ।

शुरुदेखि नै सञ्चारमाध्यमसँग सम्पर्क र सञ्चारकर्मीसँग कुराकानीमा ठाडो मिजासले प्रस्तुत हुँदै आएका सिलवालले असार ८ गते राति जनआस्थालाई प्राप्त यौटा अत्यन्त सँवेदनशील पछिल्लो समाचार पुष्टिको क्रममा देखाएको रुखो व्यवहार नै उनको निम्ति प्रत्युत्पादक बनेको हो । उनले त्यो दिन दिएको प्रतिक्रियाले सिङ्गो सैनिक संगठन र उसको नेतृत्वप्रतिको जनधारणालाई थप नकारात्मक बनाउन बल पुर्याएको ठहरपछि सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारीको निम्ति अर्का जर्नेलको खोजी गरेको बताइन्छ ।

काठमाडौं विमानस्थलस्थित सेनाको ह्याङगरमा हप्तौंदेखि राखिएको निजी क्षेत्रको एउटा हेलिकप्टरबारे जनआस्थाले असार ८ गते बुधवार बेलुकी राखेको जिज्ञासामा सिलवालले ‘किन मलाई फोन गरेको ?’ भनेर ठाडो जवाफ दिएका थिए । साँझ ८ बजेर १५ मीनेटमा जनआस्था डटकमका सम्पादकसँग भएको करिब तीन मीनेटको सम्वादलाई केलाउँदा उनी कुन हदसम्म गैरजिम्मेवार भाषा बोल्न सक्षम छन् र उनको कार्यकालमा सेना र सञ्चारक्षेत्रवीच कस्तो सम्बन्ध अघि बढ्ला भन्ने पनि प्रष्ट भएकाले सिलवालको क्षमतामाथि प्रश्न चिन्ह उठाइएको बताइन्छ ।

सेनाबाट अवकाशप्राप्त पूर्व पाइलट लेफ्टिनेण्ट कर्णेल प्रमोद लामा, रामेछाप काँग्रेसका सभापति कान्छाराम तामाङको लगानी रहेको र दिपक कार्की,रविन्द्र बस्नेत,समुन्द्र गुरुङ्गसमेत जोडिएको अन्नपूर्ण हेलिकप्टर कम्पनीको सुन्तला रंगको हेलिकप्टरलाई सेनाको ह्याङगरमा राख्न अनुमति दिइएको विषयबारे उनले शुरुमै आफूलाई कुनै जानकारी नभएको बताएका थिए । सेनाजस्तो संवेदनशील निकायको ह्याङगरमा जोडजाम गर्ने उद्देश्यसहित निजी क्षेत्रको हेलिकप्टर हप्तौंसम्म राखिएको विषयबारे प्रवक्ता अनभिज्ञ हुनुलाई जनआस्थाले अर्को रहस्यमय विषय ठानेर सोधखोज गरेको थियो । जुम्ल्याहा सन्तानझैँ ह्याङ्गरमा दायाँ सेनाको र बायाँ निजी कम्पनीको हेलिकप्टर राखेर पार्टपुर्जा जोड्दै बनाउँदा आगलागी,सामान हेरफेर या अरु जे पनि हुनसक्नेतर्फ जनआस्थाले जवाफदेही हुने को ? भनेर सोधनी गरेको थियो ।

त्यसअघि पनि सिलवालले जनआस्थाले विभिन्न समाचार पुष्टिको निम्ति सम्पर्क गर्दा शुरुमै बाङ्गो बाङ्गो जवाफ दिएर गाउँको पन्चायतकालिन हवल्दारी शैलीमा पेश हुने गरेका थिए ।

सेनासम्बन्धी समाचारमा उसैको प्रवक्तालाई फोन नगरे सञ्चारकर्मीले सीधै सेनापतिलाई सम्पर्क राख्ने कि सरकारको प्रवक्ता सञ्चारमन्त्री या नेपाल प्रहरीका टेकप्रसाद राई या सशस्त्रका बिदुर खड्कालाई ? निजामतीमा झैँ सेनाका जिम्मेवार अधिकारीहरु पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जागिरे रुटिनमा हिँड्ने हो भने अफिसको खबर बुझ्न कार्यालय समयमै फोन गर भन्दै झर्किफर्की गर्ने हो भने ९८५१०८३२८८ वाला आधिकारिक नम्बरको मोबाइल,फोन,इमेल र सञ्चारका विभिन्न माध्यमलाई १०–५ बाहेकका समयमा किन “अफ मोड”मा नराखेको ?

जनआस्थाले असार ९ गते मुलुकको सबैभन्दा जिम्मेवार र संवेदनशील संस्थाको भलो चिताउँदै उसलाई थप जिम्मेवार बनाउन प्रेस जगतले देखाएको सदाशयतालाई प्रवक्ताले नै गलत ठान्ने हो भने नेपाली सेनाको निम्ति त्यस्तो प्रवृत्ति आत्मघाती हुनसक्ने ठहरसहितको समाचार प्रकाशित गरेको थियो । सञ्चारजगतको सकारात्मक सहयोगले नेपाली सेना र उसको नेतृत्वलाई अघि बढ्न ठूलो योगदान पुर्याएको सबैले देखिरहेको पनि समाचारमा उल्लेख छ ।

जनआस्थाको उक्त समाचारपछि सैनिक नेतृत्वले डीपीआरका कारण पूरै संगठनले ‘अन्कम्फर्टेबल’ महसुस गरेको स्रोतको दाबी छ । अन्य क्षेत्रबाट समेत नेपाली सेनाको छविलाई राम्रो बनाउन डीपीआरलाई चुस्त बनाउन सल्लाह प्राप्त भएपछि सिलवालको विकल्प खोज्न थालिएको हो ।

स्रोतले भन्यो,‘सामान्यतयाः नेपाली सेनामा साउन लागेपछि धेरै जसोको जिम्मेवारी र विभाग परिवर्तन गर्ने गरिन्छ । यो साउनमा पनि गर्ने तयारी छ । त्यसैमा सिलवालको सरुवा हुने निश्चित छ ।’

नेपाली सेनाले आफ्नो संस्थामा भए गरेका गतिविधि र जोडिएका विषयमा स्पष्ट पार्न जनसम्पर्क तथा सूचना निर्देशनालय खडा गरेको हो । लडाइँ भिडन्त,निकुञ्ज,तालिम,बजेट निर्माण,ब्यारेक परिसरको संरक्षणजस्ता जिम्मेवारीबाट पृथक राखेर मिडियासँग चौबिसै घण्टा सम्पर्कमा रहने गरी ठूलो दलबलसहित निर्देशनालय प्रमुखको जिम्मेवारी एक तारे जर्नेललाई दिने व्यवस्था गरिएको हो । अहिले त्यो जिम्मेवारीमा सिलवाल ७ महिनादेखि छन् ।

यसअघि उक्त भूमिकामा राजेन्द्र थापा,दिपक गुरुङ्ग,सुरेश शर्मा, ताराबहादुर कार्की,नयनराज दाहाल, विज्ञानदेव पाण्डे र सन्तोषवल्लभ पौडेलजस्ता मिडियामैत्री जर्नेलहरु पनि थिए ।

टिप्पणीहरू