गभर्नर बर्खास्तीको माग गर्दै सत्तापक्षका विद्यार्थीहरुले बालुवाटार घेरे

गभर्नर बर्खास्तीको माग गर्दै सत्तापक्षका विद्यार्थीहरुले बालुवाटार घेरे

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले संयुक्त रूपमा बिरोध प्रदर्शन गरेका हुन् ।

बालुवाटारमा घेराउ गर्न पुगेका उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । नेविसंघ र क्रान्तिकारीका कार्यकर्ताले गभर्नर बर्खास्तीका लागि प्रधानमन्त्रीलाई २४ घण्टाको अल्टिमेटम दिँदै अन्यथा सडकमा आगो बाल्ने चेतावनी दिएका छन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । धरपक्कडका क्रममा केही घाइतेसमेत भएका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दाबी गर्दै अधिकारीलाई बर्खास्त गर्न केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेकाे छ ।

टिप्पणीहरू