देश हितमा समयको सदुपयोग गरौं

कोरोना संकटकै बेला नेपाल सीमा संकट पनि झेल्दैछ । यो परिस्थितिले नेपाल र भारतलाई दिएको साझा पाठ हो, सीमा व्यवस्थापनको ।
सन् १९७५ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सीमा व्यवस्थापनको विषय उठाइन् । तर,काम हुन पाएन ।

अहिले निर्वाध रुपमा कोरोना संक्रमण भारतबाट भित्रिँदैछ । अन्तरदेशीय अपराधका श्रृंखला छँदैछन् । त्यसमाथि एउटा देशको भूभागमा अर्को देशले बाटो नै बनाइदिने स्थिति यससँगै देखिएको छ ।

सीमा व्यवस्थापनलाई भिसा प्रणाली, आउन–जान सास्तीको अर्थमा मात्रै लिनु हुँदैन । भीसा प्रणाली लागु नगरे पनि बिग्रने केही छैन । तर, सीमामा तैनाथ भएका सुरक्षा निकायले नाकाबाट को–को छिरे ? को–को बाहिरिए ? भन्ने अभिलेख, तिनका नागरिकता, राशनकार्ड वा कुनै पहिचान खुल्ने कागजातसहित विवरण अद्यावधिक गर्न सक्छन् । यदि त्यस्तो गरिएको थियो भने नेपालमा कोरोना फैलिएपछि मात्रै संक्रमित भारतबाट आएको रहेछ भन्ने कुराको जानकारी हुने स्थिति आउँदैन थियो ।

किनभने, भारतमा लकडाउन भएपछि प्रवासिएका थुप्रै नेपाली यता छिरेका छन् । नेपालमा पनि लकडाउन भएको बेला यता कडाइ भयो र दशगजातिर रमिता नै देखियो । त्यो रमिता चल्नुअघि नै संक्रमितहरु छिरेका रहेछन् भन्ने कुरा अहिले संक्रमण पहिचानको तीव्रतासँगै बुझिँदैछ । यदि नाकामा समयमै सचेतता अपनाइएको हुन्थ्यो भने संक्रमण बोकेर आएका मानिस सीमावर्ती क्षेत्रकै कुनै क्वारेन्टाइनमा राखिन्थे र समुदायमा संक्रमण फैलिने खतरा न्युन हुन्थ्यो । तर, त्यसो नगरिँदा संक्रमण समुदायसम्म पुगेको छ ।

टिप्पणीहरू