सियुजी सिम वितरणमा अनियमितता, कमाउने ध्याउन्नमा जनप्रतिनिधिको संलग्नता

सियुजी सिम वितरणमा अनियमितता, कमाउने ध्याउन्नमा जनप्रतिनिधिको संलग्नता

संघीय सरकारले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत नेपाल टेलिकमको पाठशाला सियुजी सिमको प्रयोग विद्यालय तहमा अत्यन्त कम देखिएको छ । कोरोना महामारीको समयमा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित नहुनको लागि सरकारले ल्याएको सो सेवा स्थानीय तहको बजेट सिध्याउने मेलो मात्र भएको छ ।

कर्णाली प्रदेशको दैलेख जिल्लाका दुई वटा पालिकाले विद्यार्थीहरुलाई उक्त सिम वितरण नै नगरी आर्थिक वर्ष २०७७–०७८ को बजेट दुरुपयोग गरिएको खुलेको हो । महाबु र भगवतीमाई गाउँपालिकाले विद्यार्थीहरुलाई सियुजी सिम वितरण नै नगरि बजेट सिध्याएको भेटिएको छ ।

कोरोना महामारीको समयमा विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गरि पढाइलाई निरन्तरता दिन कक्षा १ देखि १२ सम्मका विद्यार्थी, शिक्षकलाई सहुलियत दरमा इन्टरनेट सुविधा उपलब्ध गराउने सरकारी योजनाअनुसार नेपाल टेलिकमले उक्त सिम प्रयोगमा ल्याएको थियो । तर, विभिन्न बहानामा धेरैजसो स्थानीय तहले संघीय सरकारको उक्त निर्णयलाई लत्याइदिएका छन् । तीमध्ये दैलेखका महाबु र भगवतीमाई गाउँपालिका एक हुन् ।

सियुजी सेवा नै प्राप्त भएन

महाबु र भगवतीमाई गाउँपालिकाका जनप्रतिनिधिमाथि अहिले सियुजी सिम खरिद नै नगरी सरकारी बजेट दुरुपयोग गरेको आरोप लागेको छ । जसमा सियुजी सेवाका लागि महाबुले २७ विद्यालयलाई १६ लाख ४४ हजार र भगवतीमाईले ३२ विद्यालयको निम्ति ३१ लाख ८१ हजार रुपैयाँ बजेट निकासा गरेका थिए । उक्त बजेट चारदेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयलाई मात्र दिइएको हो ।

ती पालिकाले उक्त बजेट निकासा गरेर पनि सिम खरिद नगरेको बताइन्छ । त्योसँगै विद्यार्थी र अभिभावकहरु उक्त पालिकाविरुद्ध विरोधमा उत्रिएका छन् । जनप्रतिनिधि र शिक्षकको मिलेमतोमा सरकारी रकममा अनियमितता भएको आरोप लगाउँदै महाबु गाउँपालिकाका स्थानीय युवाले उनीहरुले अभिभावकको आँखा छल्ने र विद्यार्थीको भविश्यमाथि खेलबाडको काम गरेको बताए ।

‘म पनि यो गाउँकै युवा हुँ । कहाँ के भइरहेको छ, त्यसको प्रत्यक्ष अवलोकन गर्दै आएको छु । त्यसमा पनि मेरो घरका पाँच जना मालिका माविमा नियमित अध्ययनरत छन् । खै उनीहरुले केही पाएका छैनन्, ’ उनले भने ‘यो सबै जनप्रतिनिधि र शिक्षकको मिलेमतोमा भएको काम हो । उनीहरुमाथि छानबिन हुनुपर्छ ।’

सियुजी सेवा लागू भएको दाबी

महाबु गाउँपालिकाले सियुजी सिम खरिदका लागि पालिकाभित्रका सबै विद्यालयको खातामा रकम पठाइसकेको दाबी गरेको छ । सोही गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण ओलीले २७ वटै सामुदायिक विद्यालयमा सियुजी सेवा शुरु भएको बताए ।

तीमध्ये एउटा मालिका माध्यमिक विद्यालयले सो सिम वितरण नगरि अन्य शैक्षिक सामाग्री खरिद गरेको उल्लेख गर्दै उनले उक्त विद्यालयका केही विद्यार्थीबाट विरोध भइरहेको स्वीकारेका छन् । अधिकांश विद्यालयले पनि सिम वितरण गरिसकेको दाबी गरेका ओलीले नेपाल टेलिकमको बैंक खाता परीक्षण गर्नसमेत चुनौती दिएका छन् ।

प्रत्येक विद्यार्थी र शिक्षकलाई सिम वितरण गरेर कोरोना महामारीमा अनलाइनमार्फत पढाइ शुरु गरिएको दाबी गर्दै उनले भने, ‘हामीले बजेटअनुसार उक्त सिम खरिदका लागि २७ वटै विद्यालयमा रकम पठाएका छौँ । विद्यालयले पनि सिम वितरण गरिरहेको फाइल यहाँ सुरक्षित छ । त्यतिकै कसैले बिरोध गर्न त पाउँदैन होला नि ? यदी विश्वास नभए नेपाल टेलिकमको बैंक खाता हेर्दा पनि भो !’

सियुजी सेवा सुचारु नगरेको सामुदायिक विद्यालय मालिका माविका निमित्त प्रधानाध्यापक रामबहादुर बुढाले गाउँपालिकाको भनाइमा समर्थन जनाएका छन् । गाउँपालिकाले सिम खरिदको लागि बजेट दिए पनि सबै विद्यार्थीलाई नपुग्ने भएपछि सो कार्यक्रम स्थगित गरिएको प्रधानाध्यपक बुढाको दाबी छ । पालिकाले उपलब्ध गराएको सो बजेटमा अन्य शैक्षिक सामाग्री खरिद गरिएको उनको भनाइ छ ।

एउटा सिमले मात्र विद्यार्थीले अनलाइनमार्फत सञ्चालन गरिएको कक्षामा सहभागी नहुने बताएपछि अरु विकल्प खोज्न बाध्य भएको प्रधानाध्यपक बुढाले जानकारी दिए । विद्यार्थीहरुले घरमा स्मार्ट फोन माग गरेको भन्ने अभिभावकबाट गुनासो बढेको भन्दै उनले भने, ‘पहिलो कुरा त हामीलाई बजेट उपलब्ध भएअनुसार विद्यार्थीलाई त्यो सेवा दिन सम्भव नहुने भयो । दोस्रो, एउटा सिम मात्र भएर कक्षामा सहभागी नहुने विद्यार्थीको अडान थियो । तेस्रो, अभिभावकहरुले छोराछोरीलाई स्मार्ट फोन दिन नसक्ने बताउनुभयो ।’

उनले थपे, ‘यति मात्र होइन स्वयम् अभिभावकहरु स्कुलमै आएर हामीसँग धेरै गुनासो पनि गर्नुभयो । त्यो भएपछि हामीले विकल्प खोजेका हौँ, बजेट दुरुपयोग भएको छैन ।’

यता, भगवतीमाई गाउँपालिका कार्यालयले पनि आफूमाथि लागेको आरोप अस्वीकार गरेको छ । पालिकाले ३२ वटै स्कुलमा सियुजी सेवाका लागि बजेट पठाएको गाउँपालिका अध्यक्ष गणेश थापाले दाबी गरे । तर, उनले केही स्कुलले सियुजी सेवा दिन नसकेको भने स्वीकारेका छन् ।

सियुजी सिमका लागि मात्र ३१ लाख बजेट छुट्याएको समाचारको खण्डन गर्दै अध्यक्ष थापाले कोरोनाकालमा अन्य सुरक्षा व्यवस्थापनको लागि विद्यालयमा बजेट दिएको बताए । जसमा सियुजी सिमको लागि १५ लाख ७९ हजार तीन सय ७५ बाहेक अन्य स्वास्थ्य सुरक्षामा बजेट विनियोजन गरेको उनको भनाइ छ । उक्त बजेट खर्च नगरेका विद्यालयबाट २९ लाख असुल गरेर बाँकी सरकारको बेरुजुमा पठाइसकिएको दाबी गरेका छन् ।

‘पालिकाले सबै स्कुलहरुमा बजेट पठाइसकेको हो । तर, विद्यालयले त्यो बजेट प्रयोग नगरेको भन्ने छ । हामीले केही स्कुलबाट बजेट असुल पनि गरिसकेका छौँ,’ उनले भने, ‘त्यो सरकारको बेरुजुमा समेत पठाइसकेका छौँ । थप अन्य बजेट असुल गर्ने प्रक्रिया अघि बढिरहेको छ ।’

टिप्पणीहरू