राष्ट्रियसभामा नारायणकाजी गर्जिंदा वाशिङ्टनमा अर्कै ब्रिफिङ

राष्ट्रियसभामा नारायणकाजी गर्जिंदा वाशिङ्टनमा अर्कै ब्रिफिङ

नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाबाट अनुमोदित एमसीसीसम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाको धारणा माग्नुपर्ने बताउनु भएको छ । हिजो राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उहाँले तत्काल अमेरिकालाई पत्र लेख्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

एमसीसी पारित गर्ने क्रममा अपनाइएको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै सांसद श्रेष्ठले सरकारले तत्काल पत्र लेखेर धारणा माग्नुपर्नेमा जोड दिनुभयो ।

एमसीसी अनुमोदनको निर्णयप्रति पार्टीमा फरक मत राख्दै आउनुभएका श्रेष्ठले राष्ट्रियसभाबाट अमेरिकाको धारणा माग्नुपर्ने बताइरहेका बेला उता अमेरिकाको बुझाई अर्कै पाइएको छ । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले एमसीसी पारितपछि अमेरिका नेपालमा चिनियाँ ‘दुष्प्रचार’ तोड्न सफल भएको टिप्पणी गरेका छन् ।

अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै राजदूतले भने, ‘एमसीसी सम्झौता पास गर्न पीआरसी (जनवादी गणतन्त्र चीन) को दुष्प्रचार अभियानको कठोर सामना गर्नुपरेको थियो । अन्ततः नेपालको संसद्ले एमसीसीको ५० करोड डलर अनुमोदन गरेकाले चीनविरुद्ध अमेरिकाको सफलता प्राप्त भएको छ ।’

यता, काठमाडौँस्थित चिनियाँ दूतावासले भने थम्पसनको भनाइको खण्डन गरेको छ । दूतावासका प्रवक्ताले आज प्रस्तावित अमेरिकी राजदूत थम्पसनको भनाइलाई ‘आधारहीन’ भनेका हुन् । नेपालमा एमसीसीलाई लिएर चर्को बहस भइरहँदा आपसमा टकराएका दुई महाशक्ति राष्ट्र यसैमा चौथो पटक आमने–सामने भएका हुन् ।

टिप्पणीहरू