प्रहरी प्रमुख नै तीन वटा देशको खुफिया एजेण्ट ?

प्रहरी प्रमुख नै तीन वटा देशको खुफिया एजेण्ट ?

एउटा सम्प्रभू देशमा शक्तिशाली प्रहरी संगठनको सबैभन्दा माथिल्लो पदधारीले क–कसका लागि काम गर्छ ? नेपाली प्रहरी, प्रशासनको इतिहासमा यस्ता व्यक्ति पनि भेटिन्छन् जसले भारत, बेलायत र अमेरिका तीन वटै देशको खुफिया एजेण्ट भएर राजा महेन्द्रको पञ्चायती सत्तामा खुदो खाएका थिए ।

राणाविरुद्ध कांग्रेसको एउटा लडाकु दस्ता थियो जसलाई मुक्ति सेना भनिन्थ्यो । हमलाका कमिसार थिए मातृकाप्रसाद कोइराला जो पछि प्रधानमन्त्री भए र भारतको ‘पपेट गभर्मेन्ट’ अर्थात् कठपुतली सरकार चलाए । ००७ सालको आन्दोलनलाई दिल्ली सम्झौताले थान्को लाइदिएपछि तत्कालीन जनमुक्ति सेनालाई कसरी समायोजन गर्ने भन्ने विषयले कांग्रेसभित्र बवण्डर मच्चायो । समायोजनमा भारत र रुसको मोडलबारे लामो व्याख्या पनि भयो ।

प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र गृहमन्त्री बीपी कोइराला मुक्तिसेनालाई अर्धसैनिक बलको रूपमा रक्षा दल बनाएर समायोजन गर्ने सहमतिमा पुगे । तर यो सहमतिले कांग्रेसभित्रै अन्तद्र्वन्द्व र अन्तरसंघर्ष अथवा घर्षण उत्पन्न ग¥यो । राजा महेन्द्रले कांग्रेसभित्रको यो घर्षणको राजनीतिक उपयोग गरे र रक्षा दललाई नेपाल प्रहरीमा रूपान्तरण गरेर आफ्नो पासा खेले । रक्षा दलमा समायोजन भएको जनमुक्ति सेनाका हस्तीमध्ये थिए ज्ञानबहादुर (जीबी) याक्थुम्बा, गोपालसमशेर, पूर्णसिंह खवास, पहलसिंह लामा, रामबहादुर थापा, डिबी लामा इत्यादि । यीमध्ये अधिकांश नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आइजीपी) मा पुगे । र, राजा महेन्द्रले प्रजातन्त्रको हरण अपहरण गरी पञ्चायती व्यवस्था लादेसँगै आइजीको रूपमा आइपुगे पहलसिंह लामा उर्फ पीएस लामा ।

अमेरिका, बेलायत र भारतका खुफिया संस्थानिम्ति पहलसिंह लामाले कसरी काम गर्थे भनेर ६० वर्षअगाडिका दस्तावेज अवकाशप्राप्त बेलायती जनरल साम कोवेनले केही समयअघि सार्वजनिक गरेका छन् । सन् १९६३ को नोभेम्बर २२ मा काठमाडौँस्थित बेलायती दूतावासका सहचारी पी सी पेट्रीले एउटा पत्र विदेश मन्त्रालयको सुदूरपूर्वी विभागका प्रमुख सी एम म्याकलिहोसलाई लेखेका रहेछन् । पत्रमा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक पहलसिंह लामाले आफ्नै निवासमा आयोजना गरेको रात्रीभोजमा भएका संवाद, नेपालमा कम्युनिष्टविरुद्ध सहकार्य गर्ने प्रस्ताव र त्यसका लागि खुफिया सञ्जाल निर्माण गर्न गरिएको आग्रहको विवरण उल्लेख छ ।

आइजीपी लामाले उक्त रात्रिभोज दिएका रहेछन् अक्टोबर १२, १९६३ मा । र, पेट्रीले पत्र लेखेका हुन् अक्टोबर १७ मा । त्यतिबेला बेलायती राजदूत थिए एल ए स्कूपस् र चिनियाँ राजदूत चाङ सी चेई । यो बेला चीनविरुद्ध तिब्बती शरणार्थीलाई उपयोग गरी खम्पा गुरिल्लाको नाममा सिआइए र ‘र’ले संयुक्त मिसन चलाइरहेका थिए । र, खम्पा विद्रोहको आड लिएर महानिरीक्षक लामाले ‘नेपालमा बढ्दो कम्युनिष्ट शक्तिविरुद्ध अमेरिका र भारतसँग सहमति भइसकेको भन्दै बेलायतसँग पनि सहकार्य हुन सके राजा महेन्द्र, नेपाल प्रहरी र नेपाली जनता खुशी हुने’ विश्वास व्यक्त गरेका थिए ।

बेलायती जासुसी संस्था एम १६ लाई नेपालमा कसरी स्थापित गर्ने ? प्रहरी महानिरीक्षक लामाले एउटा तरिका सुझाएका रहेछन् । ‘दूतावासभित्र एउटा सूचना केन्द्र निर्माण गर्ने । नेपालमा सार्वजनिक छवि भएका बेलायती नागरिकलाई नियुक्त गर्ने । अधिकृतबारे नेपालका राजा, मुख्यसचिव, प्रहरी महानिरीक्षक र बेलायती विदेश मन्त्रालयलाई मात्र जानकारी हुने । ती अधिकृतले हप्तामा एक दुई घण्टा महानिरीक्षक लामालाई परामर्श दिने र हङकङ, मलाया, सिंगापुर आदि ठाउँबाट नेपाल प्रवेश गर्ने कम्युनिष्टहरूको सूचना विवरण तयार पारिदिने ।’

पेट्रीले लेखेका छन्, ‘लामाले माग गरेको सहयोगअनुसार सूचना अधिकृत नियुक्त गरिए नेपालका कम्युनिष्टहरू र नेपालले उनीहरूसँग गरिरहेको व्यवहारबारे हामीले अप डु डेट सूचना प्राप्त गर्नेछौं । र, हाम्रा लागि उपयुक्त सम्पर्क व्यक्ति महानिरीक्षक लामा नै हुनेछन् जसले हामीलाई यो प्रस्ताव गरेका छन् ।’

बेलायती विदेश मन्त्रालयको खुफिया संरचनामा दुई महत्वपूर्ण शाखा हुन्छन् । पहिलो सूचना नीति विभाग जसले खुफिया नीति बनाउँछ । दोस्रो, सूचना अनुसन्धान विभाग जसले खुफिया नीतिको क्रियान्वयन गर्छ । नेपाल मामिलामा काठमाडौँस्थित बेलायती दूतावास, भारतको नयाँदिल्लीस्थित बेलायती उच्चायोग र लण्डनस्थित विदेश मन्त्रालयबीच समन्वय हुन्छ र निर्णय प्रक्रियामा जान्छ ।

बेलायती सूचना अनुसन्धान विभाग खुफिया सञ्जालको त्यही इकाई हो जुन कम्युनिष्टबिरुद्ध अफवाह फैलाउने (एण्टी–कम्युनिष्ट प्रोपोगाण्डा) इकाईको रूपमा चौहत्तर वर्षअघि स्थापना गरिएको थियो । यो विभागको व्यवस्थापन, निर्देशन अमेरिकी खुफिया संस्था सिआइएको समानान्तर संगठन सिआइएस, एम सिक्सटिनले गर्छ । नेपालका प्रहरी महानिरीक्षक लामाले यही विभागअन्तर्गतको खुफिया कर्मचारीलाई आफ्नो परामर्शदाता बनाइदिन आग्रह गरेका हुन् जुन केही महिनाभित्रै कार्यान्वयन पनि भयो ।

अचम्म त के भने लामाले यो प्रस्ताव आफैँ गरेका थिएनन् । सिआइएले यसबारे बेलायती दूतावाससँग पहिल्यै छलफल गरिसकेको थियो । सजिलो बाटोका लागि मात्र लामा परिचालित भएको तथ्य १९६३ नोभेम्बर १८ को अर्को पत्रमा भेटिन्छ । अझ रमाइलो त के भने लामाले बेलायती अधिकृतसँग उक्त सहयोग प्रस्ताव राख्दा भारतीय खुफिया संस्था र का दुई जना वरिष्ठ अधिकृत पनि छेउमै थिए ।

अर्को पत्रमा लामाले यही विषयमा अमेरिकी एजेन्सीसँग सम्झौता भइसकेको भन्दै त्यसको विषयमा राजा महेन्द्र पनि जानकार रहेको उल्लेख गरेका छन् । प्रहरी महानिरीक्षक लामाको प्रस्तावअनुसार बेलायतले खुफिया एजेन्टको रूपमा कसलाई नियुक्त ग¥यो छद्मभेषी ती सूचना अधिकृतले कुन तहमा रहेर काठमाडौँमा चौध वर्ष बिताए ?

नेपाली सेना, बेलायती सेना, नेपाल प्रहरीभित्र पकड जमाएका ती खुफिया एजेन्ट महेन्द्रको निधनसम्म कसरी ‘दाहिने चन्द्र’ बने ? अर्को अंकमा भेटौँला !

टिप्पणीहरू