खै बोलेको– पार्टी फुटाउनु गलत कि ठीक ? « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

खै बोलेको– पार्टी फुटाउनु गलत कि ठीक ?

प्रकाशित मिति :  १ श्रावण २०७९, आईतवार १८:००


नेपाली वामपन्थी राजनीतिको अनौठो पक्ष भनौं कि ताज्जुब लाग्ने कुरा भनौं– के छ भने हाम्रा सबै वामपन्थी भनिने नेताहरू, ताई न तुईको नेकपा अध्यक्ष स्वयं ऋषि कट्टेलदेखि विप्लव, आहुति हुँदै बिजुक्छे, चित्रबहादुर केसी, वामदेव, ओली, माधव, प्रचण्ड र पुराना नेता मोहनविक्रम सिंहसम्मका सबैले आफूलाई कम्युनिष्ट पार्टीको एक मात्र प्रोप्राइटर ठान्छन् र अरू सबैलाई सुब्बा, खरिदार वा मुखियासरहका सहयोगी कर्मचारीजस्ता मान्छन् ।

जस्तो हेरौं न, यिनीहरू सबैले चीनलाई हेर्ने, भारतलाई हेर्ने, अमेरिका, रुस, युरोपेली संगठन, दुई वटा कोरियालगायत ल्याटिन अमेरिकी मुलुकलाई हेर्ने दृष्टिकोणमा कहीँ–कतै एकरूपता छैन, फरकै फरक छन् । सिद्धान्ततः एकरूपता नहुन सक्छ तर विदेशनीतिमात एकरूपता हुनुपर्ने होइन र ? राष्ट्रियताको सवालमा एकरूपता हुनुपर्ने होइन र ? यहाँ त दलको के कुरा गर्नु, नेतापिच्छेको हेराइ र बुझाइ छ ।

कसैले माओवाद भन्छन्, कसैले त्यसैलाई विचारधारा भन्छन् । एकले अर्कालाई कम्युनिष्ट मान्दैनन् । अर्को दलको नेतालाई नेतै मान्दैनन्, दललाई दल ठान्दैनन् । धरहराबाट हेर्दा पनि खोजे भेटिन्न भन्छन् ठूला दलले साना दललाई । अब त हुँदाहुँदा नेताको स्वार्थमा आधारित वर्ग पक्षधरता पो देखिन्छ गाँठे ! सत्तामा जाने मौका मिले घोर राजावादी दक्षिणपन्थीहरू पनि वर्ग मित्र भइदिन्छन् र स्वार्थ बाझिएका बेला वामपन्थी पनि वर्गशत्रुसरह भइदिन्छन् ।

अहिलेकै ताजा घटनालाई हेरे पुग्छ । यता कांग्रेससँग जनयुद्ध लडेको दल मिलेको छ भने उता राजावादी दल राप्रपासँग राजासँग लडेको दल मिलेको छ । तर, दुश्मनी कोसँग छ भने जनयुद्ध र झापा विद्रोह गरेका दलहरूको बीचमा छ, आ–आफू मिलेर संयुक्त जनआन्दोलनमार्फत राजालाई फालेका दुई दलहरूको बीचमा छ । योभन्दा अनौठो कुरा अरु केही हुन्छ होला त !

उस्तै रमाइलो अर्को कुरा पनि छ । त्यो के हो भने मूल नेतृत्वले आन्दोलनप्रति गद्दारी गर्छन्, धोका दिन्छन्, जनजीविका, राष्ट्रियताप्रति गद्दारी गर्छन्, बेइमानी गर्छन् । शक्ति आर्जन गरेर पदमा पुग्न गुट बनाउँछन्, विवाद खडा गर्छन् र अन्त्यमा पार्टी नै पनि फुटाएर नयाँ दल बनाउँछन् । महाकाली सन्धि गराउने वा नगराउने भन्ने बारेमा विवाद भएर एमाले पार्टी फुट्यो । तर केही समयपछि फुटेर बनेका दुईवटा पार्टी फेरि एकीकृत भए । पार्टी फुटाउन र एकता गर्नमा पनि जनता र कार्यकर्ताको कुनै भूमिका रहेन ।

हामीले पार्टी फुटाउने वा फुटाउन बाध्य पार्नेलाई कहिले पनि दण्डित गर्न सकेनौं र कसैले दण्डित गर्नुपर्छ भनेर आवाज पनि उठाएनन् । पार्टी नफुट्दा तिनै नेता ठीक, फुटाउँदा पनि तिनै नेता ठीक र फेरि केही सीप नलागेर पार्टी एकता गर्दा पनि तिनै नेता ठीक । के यी तीनै घटना घटाउने नेतृत्व तीनै पटक सही हुन सक्छन् त ? सक्दैनन् । तर, सवाल सत्ताको थियो । एकताबद्ध हुँदा चुनाव जित्न सकिन्छ र सत्तामा गएर सत्ताको तर मार्न पाइन्छ । यहाँ पार्टीको, जनताको, आन्दोलनको हितको कुरा कहाँनेर छ ? त्यसकारणले पार्टी मिल्यो ।

केही समयपहिले पनि दुई ठूला पार्टी मिले । चुनावमा मिलेर जित हासिल गरे र सरकार पनि बनाए । तर, के स्वार्थ बाझियो कुन्नि मिलेको धेरै समय नहुँदै फेरि अलग–अलग भए । फुट्ने कुरा यसै पनि बेठीक हो र फुट्नेबित्तिकै एकाअर्काको बीचको सम्बन्ध वर्ग दुश्मनीको जस्तो अवस्थामा पुग्नु झनै बेठिक हो ।

तर, अचम्म कस्तो छ भने बनाए त ठीकै हो तर बिगारे पनि तिनै बिगार्नेलाई नै नेता मान्नुपर्ने, कार्यकर्ता– कार्यकर्ता तथा समर्थक–समर्थक जनताबीच फाटो पैदा गराए र लडाए पनि तिनैलाई नेता मान्नुपर्ने ! यस्तो पनि हुन्छ त ? यी नेताहरूले जे जस्तोसुकै गल्ती, अपराध, बेइमानी, गद्दारी गरे पनि हामीले तिनैलाई नेता मान्नुपर्ने ? तिनले फेरि कहिले के गल्ती गर्छन् र हामीले सुधारेर ठीक ठाउँमा ल्याउने भनी कुरेर बस्ने हो ? तिनैलाई अगुवा बनाएर हिँड्ने हो ?

कार्यकर्ता माथिल्लो वा तल्लो सबै तहका, मध्यम तहका नेता तिनका भक्त अथवा हनुमान हुन् र सधैंभरि हनुमानगिरी गरिरहने, सहेर बस्ने ? त्यस्तो नेतृत्वलाई अस्वीकार गरी नयाँ नेतृत्व निर्माण गर्दै अघि बढ्न सकिन्न र अथवा बढ्नुपर्ने होइन र ? किनभने पार्टी निर्माणमा नेता र कार्यकर्ताको साथसाथै समर्थन र सहानुभूति राख्ने जनताको पनि धेरै ठूलो र महत्वपूर्ण भूमिका रहेको हुन्छ । गाउँ गाउँमा जनताका गीत गाउँदै जागरणको शंख फुक्दै, सारंगी रेट्दै हिँड्ने कलाकारहरूको, खाना पकाएर खुवाउने र बस्न सेल्टर दिने गाउँका गरिब किसानलगायत शिक्षक, विद्यार्थी, सबैको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहन्छ ।

जनयुद्धका कमाण्डरको भूमिका र बन्दुक बोकेर लड्न खटिएका गुरिल्लाको रोल फरक अवश्य हुन्छ तर महत्ता कम हुँदैन । ती गुरिल्लालाई खाना पकाएर खुवाउनेको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसकारण पार्टी नेतृत्वले मात्रै निर्माण गरेको होइन र निर्माण गर्न सम्भव पनि छैन । यदि, नेतृत्वले मात्रै बनाएर बन्ने भए अहिले सबै दलका नेता रुँदै हिँड्नुपर्ने थिएन । माधव, प्रचण्डहरू देउवाको शरण अथवा ओलीहरू लिङ्देन वा महन्थ ठाकुरहरूको भरमा जानुपर्ने अवस्था आउने नै थिएन । यसरी हेर्दा प्रचण्डहरू देउवा क्याम्पमा र ओलीहरू निजी स्वार्थ पूरा गराउन लिङ्देन–महन्थको क्याम्पमा शरण लिन जाने कुरा आफैमा ताज्जुब लाग्ने कुरा छैन त ?

अन्त्यमा, वामपन्थी राजनीतिक चरित्र पनि यस्तो हुन पुगेको छ कि यो पानीको चरित्रसँग ठ्याक्कै मिल्छ । पानीलाई जुन आकारको भाँडोमा खन्यायो पानीले सोही भाँडोको आकार ग्रहण गर्छ ! हात्तीबारे नजानेको दृष्टिविहीनले हात्ती छामेर हात्ती यस्तो छ वा उस्तो छ भनेजस्तो छ दलहरूको अवस्था । कांग्रेससँग मिल्दा कांग्रेस कांग्रेसजस्तो, राप्रपासँग मिल्दा राजावादी राजावादी हो कि जस्तो, महन्थ ठाकुरसँग मिल्दाका बखत महन्थ महन्थ हो कि जस्तो देखिने । यो पनि अचम्मै लाग्ने छैन त ? ताज्जुब लाग्दैन त यस्तो देख्दा र सुन्दा ?


प्रतिक्रिया दिनुहोस !