राजा ज्ञानेन्द्रको वक्तव्य

राजा ज्ञानेन्द्रको वक्तव्य

कमरेड केपी ओलीले भर्खरै एउटा नयाँ कुरा खुलासा गर्नुभएको छ कि राजा ज्ञानेन्द्र शाहको वक्तव्य उहाँले नै ड्राफ्ट गर्नुभएको हो रे ! आजसम्म कहिल्यै नसुनिएको कुरा बल्ल सार्वजनिक भयो । तथापि, पूर्वराजा ज्ञानेन्द्रले त्यो वक्तव्य केपी ओलीलाई ड्राफ्ट गर्न दिएको कुरा अहिलेसम्म कतै भन्नुभएको छैन ।

पहिले पहिले कांग्रेसका नेताहरू आरोप लगाउने गर्थे, कम्युनिष्टहरू र राजाको घाँटी जोडिएको हुन्छ । कांग्रेसीहरूले यस्तो कुरा कसरी पत्ता लगाउँथे त्यो त थाहा भएन तर घाँटीचाहिँ जोडिएकै हुन्छ कि क्या हो भन्ने प्रमाण भने अहिले सार्वजनिक भएको छ ।

राजा ज्ञानेन्द्रको वक्तव्य नै केपी ओलीले लेखिदिने भनेपछि अब अर्को के चाहियो ? धेरैजसो कम्युनिष्ट नेताहरू भूमिगत बसिरहेका हुन्छन् । भूमिगत समयमा के गर्दा रहेछन् भनेको त राजाको वक्तव्य लेखेर पो बस्दा रहेछन् । भूमिगत बस्दा राजाको वक्तव्य लेख्ने काम ठीकै हो । काम गर्नु नराम्रो होइन । उसै त कम्युनिष्टहरू श्रममा जो ‘विश्वास’ गर्छन् ।

जे होस्, यतिखेर एउटा कुराचाहिँ ठ्याक्कै थाहा भयो । राजा ज्ञानेन्द्रले निकाल्ने त्यतिबेलाका जम्मै वक्तव्य किन हावा–हावा मात्रै हुँदा रहेछन् भन्नुको कारण त यो पो रहेछ । वक्तव्य लेख्ने नै केपी ओली, अनि हावा नआए के आउँछ त ? ज्ञानेन्द्रले विघटित संसद् पुनःस्थापना गर्ने, केपीले जीवित संसद् पटक–पटक विघटन गर्ने !

टिप्पणीहरू