अब फेरि को आउला त अर्थमा ?

अब फेरि को आउला त अर्थमा ?

देशले कसलाई नयाँ अर्थमन्त्रीको रुपमा पाउने भयो ? फेरि पनि जनार्दन नै कि वर्षमान पुन ? अहिलेसम्म यो प्रश्न अनुत्तरित छ । यद्यपि, उक्त मन्त्रालयको भाग पाएको माओवादी केन्द्रको आन्तरिक शक्ति सन्तुलनका आधारमा विश्लेषण गर्नेहरुले फेरि पनि जनार्दन नै फर्किने अनुमान गरिरहेका छन् ।

माओवादी केन्द्रको महासचिव को हुने भन्ने निधो नहुँदा अरु पदाधिकारी टुंगो लाग्न सकेको छैन । जनार्दन मन्त्रालयबाट बहिर्गमित भइरहँदा छानबिनबाट दुई हप्तामै क्लिन चिट लिएर फेरि पनि उनै मन्त्रालय जाने वर्षमान पुनको दाबी थियो । खासमा वर्षमान र जनार्दन दुबै महासचिवका दाबेदार हुन् ।

पदाधिकारी प्रस्ताव गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कि कृष्णबहादुर महरालाई महासचिव बनाऔँ, कि अर्को व्यवस्था नहुँदासम्म अहिलेकै स्थितिबाट पार्टीलाई अगाडि लैजाऔँ भन्नुभएको थियो । यसले पनि संकेत गर्छ– सरकार र पार्टीमा जनार्दन–वर्षमानको तानातानका बीचबाट अरु नेताहरु अगाडि सारिँदैछन् ।

राजनीतिक वृत्तमा कस्तो पनि चर्चा चलिरहेको छ भने, चुनावअघि नै अर्थ मन्त्रालय कांग्रेसलाई दिएर माओवादीले गृह मन्त्रालय लिन सक्छ । त्यसका लागि साउन १५ भित्र प्रहरीको बढुवा, सरुवा र प्रमुख जिल्ला अधिकारी खटाउने काम सिध्याउने गरी गृहमा काम भइरहेको छ । अर्थात्, आफ्ना मान्छेलाई ठाउँ–ठाउँमा पठाइसकेर मन्त्रालय फेर्ने सम्भावना पनि थोरै छ ।

प्रचण्डले यी दुबैलाई क्रमशः लुम्बिनी र कर्णाली प्रदेशको चुनावी तयारीका लागि कमाण्डर बनाएर पठाउने सम्भावना छ । मान्छे चलाख भएपछि कसको के लाग्दो रहेछ र ? यी ‘मन्त्री रहेसम्म काममा फर्किन्नँ’ भनेर अर्थसचिव मधु मरासिनी बिदामा बसे, भोलिपल्टै जनार्दनले राजीनामा दिए !

पूर्वसचिव तथा राष्ट्रबैंकका बोर्ड सल्लाहकार श्रीराम पौडेलका भाञ्जेज्वाइँ हुन् । श्रीराम मन्त्रालयको आर्थिक सल्लाहकार हुँदा मधुलाई उपसचिवमा वासिङ्टन डिसी पठाएका थिए । आफ्नै संयोजकत्वमा छनौट समिति बनाएर मधुलाई विश्व बैंकमा दुई वर्षको जागिर दिलाए पनि । त्यसअघि कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा श्रीरामले भनेर बजेट महाशाखामा बसे ।

पछि परराष्ट्रबाट अमेरिकामा कन्सुलेट जनरलको पद सिर्जना गरेर गए । पछि प्रशासन सेवामा राजश्वको मान्छे महावाणिज्य दूत बन्न आयो भनेर प्रदीप ज्ञवालीलाई भनसुन गरी दरबन्दी नै उडाइयो । फर्किएपछि सचिव भए, महालेखा नियन्त्रकमा पोष्टिङ पाए । फेरि अर्थमा माओवादी आएपछि उनै मामा ससुरा श्रीराममार्फत् सरुवा भए ।

यसबीच फौजी निकायमा गरिएको लगानीबारे प्रश्न नउठ्ने र कसैले आँखा नलगाउँदा चुनावका मुखमा कमिशन बटुल्न पनि सजिलो हुने कारण नेपाल प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड र सेनालाई एमआई १७ हेलिकोप्टरका लागि एक अर्ब रुपैयाँ निकासा दिने बचन जनार्दनले दिएका थिए ।

त्यसमध्ये प्रहरीको हतियार खरिदका लागि बिचौलिया दीपक भट्टहरुलाई प्रतितपत्र (एलसी) खोल्ने अनुमति मन्त्रिपरिषद् बैठकले दिइसकेको छ । सेनाको हकमा भने ‘दिन्छु–दिन्छु’ भन्दाभन्दै निकासाको सट्टा राजीनामा दिनुपर्नाले कुरा अड्किरहेको अर्थस्रोतले जनाएको छ ।

यसबीच ‘जनार्दन रहेसम्म काममा फर्किन्नँ’ भन्ने सचिव मधु एउटा झमेलामा परे, वेभसाइटमा राखिएको आफ्नै नाम र फोटो हट्यो । जनार्दनले राजीनामा दिएपछि मन्त्रालय फर्किंदा उनका टेबुल, कुर्सी त सुरक्षित थियो तर वेभसाइटमा उनी थिएनन् ।

प्राविधिकहरुलाई ‘के ग¥यौ केटा हो ?’ भनी सोध्दा उनीहरुले मन्त्रालय प्रमुखमा प्रधानमन्त्रीलाई राख्न खोज्दा प्राविधिक कारणले सचिवको लाइन नै उडेको भन्दै फेरि उनको नाम र फोटो हालिदिए ।

टिप्पणीहरू