हतियार खरिद प्रकरणबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग

हतियार खरिद प्रकरणबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग

नेपाल प्रहरीको हतियार खरिद प्रकरणको विषयले आज पनि सदन तातेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले आजको प्रतिनिधिसभा वैठकमा यो विषय जोडतोडले उठाएका हुन् ।

बैठकको सुरुमै अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिसमेत रहेकी एमाले सांसद पवित्रा निरौला खरेलले हतियार खरिदबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग गरिन् ।

ठूलो रकमान्तर गरेर हतियार खरिद गर्न लागेको र त्यसमा कमिशनको चलखेल भैरहेको कुरा सडकदेखि संसदसम्म उठिरहँदा प्रधानमन्त्रीले सदनमा उभिएर जवाफ दिनुपर्ने उनको भनाइ छ ।

एमालेका सांसदहरुले अर्थतन्त्र संकटमा परेका बेला हतियार खरिदका नाममा कमिशनको खेल भैरहेको भन्दै संसदमा विरोध गरिरहेका छन् । कमिसन लोभमा सरकारले बदनाम कम्पनीबाट हतियार खरिद गर्न लागेको आरोप एमालेको छ ।

तर, सरकारले भने अहिले हतियार खरिदको कुनै सोच र तयारी नरहेको प्रष्ट पारिसकेको छ । हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले हतियार किन्ने निर्णय नभएको बताउनु भएको थियो ।

हिजै बिचौलिया दीपक भट्टले हतियार खरिदबारे राज्यका सबै निकायमा आफ्नो पहुँच रहेको भन्दै बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएको थियो ।

टिप्पणीहरू