जर्नेलले जोडे अथाह सम्पत्ति,स्रोतबारे दुनियाँ बेखबर

जर्नेलले जोडे अथाह सम्पत्ति,स्रोतबारे दुनियाँ बेखबर

नेपाली सेनाका एकजना उपरथीको अथाह सम्पत्तिबारे जङ्गीअड्डाभित्र चर्चा हुन थालेको छ । दुई तारे जर्नेल सीताराम खड्कालाई हिजोआज अरबपतिको विशेषण भिराइएको छ । छोटो समयमा अरबपतिको पहिचान बनाएका खड्का बहालवाला हाकिममध्ये सम्भवत: सबैभन्दा धनीमा पर्ने अड्कल लगाइएको छ ।

प्राप्त पत्रअनुसार सामान्य आम्दानी हुने एउटा जर्नेलले काठमाडौंदेखि झापासम्मका आकर्षक सबैजसो शहर र बजारमा जग्गा जमिन जोड्नुको कारण प्रष्ट छैन । ती जग्गा सबै उनको नाममा नरहेको बताइन्छ । कुनै आफ्नो नाममा,कतै श्रीमतीको त कुनै कुनै ससुराको नाममा राखिएको पत्रमा दाबी गरिएको छ ।

उनले विभिन्न ठाउँका जग्गामा लगानी गरेकाले आफू,श्रीमती र ससुराको नाम जोडिएको हो । विवरणअनुसार खड्काले काठमाडौंको मच्छेगाउँ वडा नम्बर ९ मा कित्ता नम्बर २५ को ७ रोपनी ९ आना जग्गा सुन काण्डका खेलाडीहरुसँग मिलेर किनेका हुन् । उक्त जग्गाको पार्टनरमा ३३ किलो सुन काण्डमा मुछिएका आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य पनि छन् ।

उनीहरुले २०७६ कात्तिक ५ गतेका दिन मालपोत कार्यालय काठमाडौंमा यसको रजिष्ट्रेसन पास गरेका थिए । उक्त जग्गाको मूल्य न्यूनतम १५ लाख प्रतिआना रहेको बताइन्छ । सो हिसाबले १२१ आना जग्गाको झण्डै १८ करोड १५ लाख हुन आउँछ ।

त्यसैगरी श्रीमतीको नाममा झापाको गरामनी १ मा कित्ता नम्बर ५११४ को ४२२ वर्गमीटर जग्गा २०७५ को जेठ १६ गते किनेको देखिन्छ । झापाको मालपोत कार्यालयमा उक्त जग्गा उमा खड्काको नाममा पास गरिएको हो । यो जग्गाको मूल्य पनि करोड बढी पर्ने बताइन्छ ।

खड्काले डिल्ली बजारमा आफ्नै ससुरासँगको साझेदारीमा ६ आना जग्गा किनेका छन् । उक्त जग्गाको मूल्य प्रतिआना ६० लाखदेखि माथि छ । यो हिसाबले पनि डिल्लीबजारको जग्गामा उनले तीन करोड ६० लाख लगानी गरेको देखिन्छ ।

सुख्खा तलवको भरमा करोडौंको घरजग्गा जोड्ने स्रोत के हो ? भन्नेबारे अहिले सेना, खड्काका छिमेकी र कतिपय नातेदारले समेत प्रश्न उठाएका छन् । दुई तारे जर्नेल पदीय हिसाबले नेपाल सरकारको सचिव अर्थात प्रथम श्रेणीका मासिक ६२ हजार तलव खाने तर करकट्टी गर्दा ५६ हजार बुझ्ने कर्मचारी हुन् । यो स्तरका कर्मचारीको तलब,भत्ता र सुविधालाई मनन् गर्दा उनले यसरी जोडेको सम्पत्तिको स्रोत कहिँ कतैबाट पनि पुष्टि नहुने बताइन्छ ।

आर्थिक तथा सामाजिक रुपमा कुख्यात ठहरिएकाहरुसँग जग्गामा साझेदारी गरेकाले पनि उनीमाथि सबैले शंका गरेका हुन् । उनी सरहका अन्य जर्नेलको आर्थिक हालतले पनि खड्का रातारात चम्केको सजिलै अनुमान लगाउन सकिन्छ ।

टिप्पणीहरू