भृकुटीमण्डपको आगलागीमा ३० करोडको क्षति

भृकुटीमण्डपको आगलागीमा ३० करोडको क्षति

आज अपरान्ह लागेको आगलागीमा समाज कल्याण परिषद्को भवन र अन्य सम्पत्ति गरि ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ । भृकुटीमण्डपस्थित परिषद्को स्टोरमा लागेको आगोमा मानवीय क्षति भएको छैन ।

करेन्ट सर्ट भएर आगो लागेको बताइए पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । दिउँसो पौने ३ बजे लागेको आगो साँझ साढे ६ बजे नियन्त्रणमा आएको हो । आगो निभाउन नेपाली सेना र काठमाडौं महानगरका दुई, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै ललितपुर र भक्तपुरका दमकलको प्रयोग गरिएको थियो । साथै नारायणहिटी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दमकल पनि बोलाइएको थियो ।
त्यसैगरी १५ वटा पानीको ट्याङ्क पनि प्रयोग गरिएको बताइएको छ । आगलागी नियन्त्रणमा लिन सेनाको चण्डीदल गणबाट सहसेनानी महेश कार्कीको नेतृत्वमा ४० जना र गणेश दलबाट सहसेनानी चिजकुमार श्रेष्ठको नेतृत्वमा ३४ सेना परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बलबाट इन्सपेक्टर अमर बरामूको नेतृत्वमा १८ जना परिचालन गरिएको थियो भने नेपाल प्रहरीका डेढ सय प्रहरी पनि आगो नियन्त्रणमा परिचालन भएका थिए । आगलागी भएको स्थानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि पुगेको बताइन्छ । महानगरीय प्रहरी पनि त्यहाँ परिचालन भएका थिए ।

टिप्पणीहरू