नागरिकता विधेयक अन्तिम चरणमा पुगेपछि एनआरएन पुग्यो बालकोट

नागरिकता विधेयक अन्तिम चरणमा पुगेपछि एनआरएन पुग्यो बालकोट

गैरआवासीय नेपाली संघ (एनआरएन) ले नागरिकता विधेयकबारे अधिकांश राजनीतिक दलसंग छलफल गरेको छ । दुई दिनदेखि एनआरएनएका पदाधिकारीहरुले विभिन्न नेतासंग भेटघाट गरेका हुन् ।

हिजो टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग भेटवार्ता गरेको थियो ।

बालकोटमा भेटवार्ताको क्रममा अध्यक्ष ओलीले संघका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । नागरिकता विधेयक ल्याउन सहयोग गरेको उल्लेख गर्दै ओलीले संघका कार्यकारी अध्यक्ष कुल आचार्य,अध्यक्ष डा. बद्रि केसी,संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायतलाई धन्यवाद दिएका हुन् ।

त्यसैगरी, उनले “एक पल्टको नेपाली सधैंको नेपाली” भनेर समेत हौस्याए । उक्त भेलामा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेल, संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्लेलगायतका प्रतिनिधि र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।त्यस्तै, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले विधेयक अन्तिम चरणमा रहेकाले यसलाई पारित गरी विश्वमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्ने जनाएका छन् ।

हिजो उनकै निवास काठमाडौंको सहयोगी नगरमा भएको भेटघाटको क्रममा उनले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने र प्रतिनिधिसभा पेश हुने नागरिकता विधेयकमा केही कुरा छुटेको भए संशोधनसहित पास गर्ने दाबी गरेका छन् । विधेयक ल्याउन सहयोग गरेकोमा उनले धन्यवाद व्यक्तसमेत गरेका थिए ।

संघले कानुन,न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दी (कोइराला) संग पनि वार्ता अघि बढाएको छ । संघका कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीसहितको टोलीले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेको हो ।त्यस्तै, आज उक्त टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेको छ । परराष्ट्रमन्त्री खड्काले नागरिकता विधेयक ल्याउन गरेको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले पनि यो विधेयक ल्याउन संघले निर्वाह गरेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू