भैरहवाका मेयरमाथि चुनाव जित्नासाथ बैंकिङ्ग कसुरको आरोप

भैरहवाका मेयरमाथि चुनाव जित्नासाथ बैंकिङ्ग कसुरको आरोप

सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँमाथि सवा दुई करोड रुपैयाँ चेक बाउन्सको आरोप लागेको छ । यही आरोपमा खाँलाई काठमाडौं प्रहरीले सोधपुछको निम्ति बोलाएकाले उनी आइतबार आएर हिजो भैरहवा फर्केको बताइन्छ ।

गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी उनी गृहमन्त्री बालकृष्ण खाँणका भित्रिया मान्छे रहेको काँग्रेसीहरुले नै बताएका छन् । उनलाई गृहमन्त्रीको दबाबमा निर्वाचनमा उम्मेदवारको टिकट दिइएको आरोप लाग्दै आएको छ ।

चेक बाउन्स र प्रहरीले सोधपुछको निम्ति बोलाएकोबारे जनआस्थाले राखेको जिज्ञासामा मेयर खाँले आंशिक सत्यता रहेको बताए । उनले भने, ‘चेक बाउन्सको लफडा चाहिँ हो । तर काठमाडौं प्रहरीले सोधपुछको निम्ति बोलाएको होइन ।’

मेयरले चेक बाउन्सको लफडामा प्रहरीमा जानै नपर्ने सहज उत्तर दिएका छन् । तर आफ्नो बारेमा गरिएको प्रचारको सत्यता अर्कै रहेको उनले बताए । मेयरले भने, ‘मेरो जग्गा बिक्रीको लागि खरिदकर्तासँग सवा दुई करोड एडभान्स लिएको हुँ । पछि उनले जग्गा लिन्नँ भने । मैले पैसा फिर्ताको लागि तीन करोड २० लाखको चेक दिएको हुँ । ब्याजसमेत दिने गरी अलि पछिको चेक दिँदा अहिले हल्ला अर्कै गरिएछ ।’

उनले जग्गा खरिदकर्ता र बाउन्स चेक भएको बैंकको नाम खुलाउन मानेनन् ।

टिप्पणीहरू