बालुवाटारमा प्रचण्ड दुई चोटी,खुमल्टारमा प्रचण्ड दुई चोटी

बालुवाटारमा प्रचण्ड दुई चोटी,खुमल्टारमा प्रचण्ड दुई चोटी

राष्ट्रिय राजनीतिका निर्णायक मोडहरुमा निकै सक्रिय रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिन तुलनात्मक रुपमा झन व्यस्त देखिनुभएको छ । वर्तमान सत्ता गठबन्धन बनाउन मुख्य भूमिका खेल्नुभएका उहाँ स्वयम् दैनिकजसो प्रधानमन्त्री भेट्न बालुवाटार जाने गर्नुभएको छ ।

स्थानीय चुनावपछि माओवादी र नेकपा एकीकृत समाजवादीका केही नेताले एमालेसँग सहकार्यनिम्ति लबिङ थालेपछि गठबन्धनको भविष्यलाई लिएर अनेक टिकाटिप्पणी र आशंका बढिरहेका बेला प्रचण्डसँगको भेटघाट झन् बाक्लिएको हो । त्यस्तै, पार्टीमा पदाधिकारी चयन, प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधयेक, चिनियाँ विदेश विभागका प्रमुखको नेपाल भ्रमणले पनि प्रचण्डलाई व्यस्त बनाएको छ ।

हिजोमात्रै उहाँ झन्डै आधा दर्जन भेटघाटमा सहभागी हुनुभयो । बिहानै आफ्नै निवास खुमलटारमा पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग केहीबेर कुराकानी गर्नुभएका प्रचण्डलगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँग पौने घण्टा बातचित गरेर निवास फर्केलगत्तै अपराह्न पार्टीका नेता नारायणकाजीसँग फेरि उहाँको कुराकानी भएको थियो ।

खुमलटारमा नारायणकाजीसँग कुरा सकेर प्रचण्ड साँझ फेरि बालुवाटार हान्निनुभयो । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग २५ मीनेट गोप्य सल्लाह सकेपछि त्यहि थलोमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई मिसिनुभयो । गठबन्धनका पाँच शीर्ष नेताले सरकारको एक वर्षे कार्यकालको समीक्षासहित पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन थप बलियो बनाउनेबारे छलफल गरेको बताइएको छ ।

यता, हिजै लैनचौरमा सभामुख अग्नि सापकोटा र माओवादी केन्द्रका नेता लीलामणि पोखरेलबीच बिहान तीन घण्टा भेटवार्ता भएको थियो । उहाँहरु बीच के विषयमा कुराकानी भएको हो भन्ने कुरा खुलाइएको छैन ।

टिप्पणीहरू