झमेलमा ‘वन वे’ लागु,रेस्टुरेन्ट खोल्न दिने,गाडी छिर्न नदिने

झमेलमा ‘वन वे’ लागु,रेस्टुरेन्ट खोल्न दिने,गाडी छिर्न नदिने

ललितपुर महानगरपालिकाभित्रका अधिकांश सडक सवारी साधनको निम्ति एकतर्फी बनाइएको छ । बाटो साँघुरो भएको कारण ट्राफिक व्यवस्थापनमा समस्या झेल्दै आएको महानगरले पछिल्लो समय ‘वन वे’ लागु गरेको हो ।

त्योमध्ये एक हो बखुण्डोल–झम्सिखेल क्षेत्र । यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा पनि चिनिन्छ । ठूला रेष्टुरेण्ट र होटल यही क्षेत्रमा धेरै छन् ।

पर्यटक लक्षित सुविधा सम्पन्न होटल र रेस्टुरेन्टहरु यो क्षेत्रमा खुल्ने क्रम रोकिएको छैन । मानौं,काठमाडौं ठमेलका होटल सबै सुकेर यताका फुकेका हुन् । त्यसैले कसै कसैले यो क्षेत्रलाई झमेल पनि भन्ने गरेका छन् ।

यो क्षेत्रका होटल व्यवसायमा थप लगानी भइरहेको छ । स्वच्छ हावापानी र रमणीय ठाउँमा पर्यटक बसोबास गर्न रुचाउने भएकाले यहाँ लगानी गर्नेको भीड लागेको बताइन्छ । प्रधानसेनापतिको सरकारी निवास पनि यही क्षेत्रमा पर्छ । नाम चलेका बोर्डिङ स्कूलसमेत यतै केन्द्रित छन् ।

२४ औं घण्टा व्यस्त हुने क्षेत्रमा सडकले भने सास्ती दिने गरेको छ । ‘वन वे’ लागु भए पनि सडकमा सवारी चाप घटाउन खासै प्रभाव परेको देखिँदैन । धमाधम रेष्टुरेण्ट खुलेका छन् तर सोअनुसार चौडा सडक संरचना निर्माण भएका छैनन् ।

“मानौं,काठमाडौं ठमेलका होटल सबै सुकेर यताका फुकेका हुन् । त्यसैले कसै कसैले यो क्षेत्रलाई झमेल पनि भन्ने गरेका छन् ।”

पार्किङ अभावका कारण सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । सवारी आगमन खुलाउने काम ट्राफिक प्रहरीको भए पनि नगर प्रहरी सानेपा हाइटबाट बृटिश स्कूलको बाटोतिर गाडी रोक्न तगारो हाली बसेका भेटिन्छन् ।

पैदलयात्री सडकमै हिँड्ने र साना सवारी साधन पनि त्यहीँबाट गुड्ने भएकाले यो क्षेत्रमा अधिकांश समय लामो जाम हुने गरेको छ ।

ट्राफिक जामका कारण नगर प्रहरीलाई पनि सवारी आगमन सहज बनाउन धौ धौ पर्दै आएको देखिन्छ । झम्सिखेल–सानेपा क्षेत्रमा मापदण्डबिनाका होटल खुल्दा यसले सवारी साधन जामलाई प्रोत्साहन गरेको स्थानीयहरुको आरोप छ ।

यता, नगर प्रहरी प्रमुख सीताराम हाछेथुले पहिलेभन्दा धेरै सहज भएको बताए । ‘अहिले अलिअलि जाम देखिएको छ,यसलाई पनि सहजीकरण गर्न कोशिस भइरहेको छ’, उनले भने ।

ट्राफिक प्रहरीले मात्र धान्न नसक्ने भएकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाइएको उनको भनाइ छ । सबैले एकजुट भएर काम गरेमा सहज हुने उनी बताउँछन् । स्थानीय सरकारको मापदण्डअनुसार नगर प्रहरीले आफ्नो ड्युटी गरिरहेको उनको भनाइ छ ।

महानगरले पाटनढोका, महापालबाट इखालखु, लगनखेलको इचिटोल, प्रयागपोखरीलगायत क्षेत्रमा सवारी आवागमनलाई एकतर्फी बनाएको छ । यी क्षेत्रमा बस,चार पाङग्रे ठूला सवारी साधनलाई निषेध गरिएको छ । ललितपुर महानगरका अधिकांश स्थानमा १६ फुटे सडक छन् ।

टिप्पणीहरू