अदालतले गर्भपतनमा रोक लगाएको विरोधमा प्रदर्शन

अदालतले गर्भपतनमा रोक लगाएको विरोधमा प्रदर्शन

सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको वासिंगटन डीसीमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि विरोधमा त्यो प्रदर्शन भएको हो ।

‘हामी फिर्ता जानेछैनौं’ भन्ने नारा लगाउँदै जम्मा भएका प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए । प्रदर्शनमा अमेरिकाभरबाट आएका १० हजार जनाको सहभागिता रहेको बताइएको छ ।

प्रदर्शनमा भाग लिन करिब एक हजार ३०० माइल यात्रा गरी डलासका ३३ वर्षीया न्यायाधिवक्ता लरेन पियर्स पनि सहभागी थिइन् । शारीरिक स्वायत्तताको मौलिक अधिकारका लागि आफू त्यहाँ उपस्थिति भएको उनले बताइन् ।

पियर्सको गृह राज्य टेक्सास अमेरिकामा गर्भपतनलाई पहिले नै निषेध गरिएका १० राज्यहरूमध्ये एक हो । कम्तिमा एक दर्जन अन्य राज्यहरूले पनि गर्भपतनमा अकुंश लगाउने अपेक्षा गरिएको छ ।

गर्भपतनलाई हत्याको रुपमा हेर्ने अभियानकर्ताहरूले भने अदालतको पछिल्लो फैसलाको स्वागत गरेका छन् ।

टिप्पणीहरू