वामदेवजी कहिलेकाहिँ गलत बाटोमा हिँड्नुहुन्छ « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

वामदेवजी कहिलेकाहिँ गलत बाटोमा हिँड्नुहुन्छ

प्रकाशित मिति :  २४ असार २०७९, शुक्रबार २१:३०


हालै अलग्गै पार्टी खोलेका नेता वामदेव गौतमसँग झण्डै तीन दशक लामो सहयात्रा गरे बलराम बाँस्कोटाले । नयाँ पार्टी खोल्नु वामदेवहरुको गम्भीर भूल भएको बलरामहरुको ठहर छ । लामो समयसम्म वामदेव गौतम एमाले किसान महासंघको अध्यक्ष हुँदा सचिव, महासचिवदेखि उपाध्यक्षसम्मको भूमिकामा रहेर सघाएका बलराम एमाले फुटेर समाजवादी बनेसँगै अखिल नेपाल किसान महासंघको अध्यक्ष छन् । उनको नेतृत्वमा ३ सय ५१ सदस्यीय कार्यसमिति बनेको छ । आगामी भदौ–असोजमा कम्युनिष्ट विचारधारा बोक्ने ६ वटै किसान संगठन मिलेर ठूलो आन्दोलन गर्ने र सरकारलाई झुकाउने योजना बनाइरहेका छन् ।

-हरि गजुरेल

लामो समयसम्म वामदेव गौतमको सहयात्री हुनुभयो । अहिले उहाँलाई के भन्नुहुन्छ ?

– उहाँ अध्ययनशील, लगनशील, आफूलाई लागेको कुरा स्पष्टसँग भन्ने व्यक्ति । तर, सानो परिणामबाट असर गरिहाल्छ, भावनामा बग्नुहुन्छ । विभाजन उहाँले चाहेर पनि रोक्ने स्थिति थिएन । कम्युनिष्ट आन्दोलन विभाजन गर्ने ग्य्राण्ड डिजाइनअन्तर्गत केपी ओली आएका हुन । अरु पार्टी जुट्दा दीपावली गर्दछन्, केपी ओलीले अदालतको सेटिङबाट नेकपा फुटाएपछि दीपावली मनाएबाट पनि यो पुष्टि हुन्छ । केपी ओलीले नियतवश फुटाएको पार्टीलाई जुटाउनसक्छु भन्ने कमरेड वामदेव गौतमको सोच नै वस्तुपरक थिएन । रसियामा पनि उहाँजस्तै पात्र थिए प्लेखानोभ । लेनिनसँग पार्टी कुनै हिसाबले नफुटाऊँ भनेर अनुनय विनय गरे । टाउको फुटोस् तर पार्टी नफुटोस् भन्ने उनको तर्क लेनिनले सुन्नुभएन । वामदेव कमरेडको भूमिका पनि त्यस्तै रह्यो ।

तटस्थता, मझधारमा बस्ने कम्युनिष्टको काम होइन । यसले आन्दोलन, सिद्धान्त, विधि, पद्धतिलाई नै कमजोर पार्छ । ०५४ सालमा उहाँले पार्टी विभाजन गर्दा राजेन्द्र पाण्डेले माधव नेपालतिरै जाने आशयले एकता अभियान चलाए । पार्टी एकता होस् भन्ने उद्देश्यले चलाएको उक्त अभियान पनि सार्थक भएन । प्रचण्ड र निर्मल लामाबीच विवाद हुँदा पार्टी फुटाउनु हुँदैन भनेर नरबहादुर कर्माचार्यको संयोजकत्वमा संयोजन समिति बन्यो । नरबहादुरजी एकातिर लाग्नुभयो, बाँकी रह्यौं सिन्धुनाथ प्याकुरेल र ममात्र । त्यसकारण राष्ट्रिय र अन्तर्राष्ट्रिय यी घटनाबाटै एकता अभियान कामयाव हुँदैन भनेर वामदेव कमरेडलाई भनेँ । वामपन्थीहरु बीचमा एकता हुनुपर्छ भन्ने हाम्रो चाहना हो, जनता पनि त्यही चाहन्छन् । स्थानीय चुनावपछि केपी ओलीको अहंकार–दम्भ केही हदसम्म घटेको छ तर पनि पार्टी एकताको सम्भावना अहिले देखिँदैन ।

एकताको वास्तविक बाधकचाहिँ को हुन् त ?

– नेपालको राजनीति नेपाली नेताले गर्दैनन् । ती यो वा त्यो ढंगले कसैको गोटी भइरहेका हुन्छन् । नेताहरु गोटी बनिसकेपछि कसको के लाग्छ र ? केपी ओलीले चाहना राखेको भए पार्टी एकता हुन्थ्यो । धेरै लामो समयसम्म सहकार्य गरेका झलनाथ, माधव, वामदेवसँग एक चरण बसेर कुराकानी नै गर्नुभएन । केन्द्रीय कमिटीको मिटिङ बोलाउँदा माधव नेपाल पक्षलाई खबरै गर्नुभएन ।

यसबीच तपाईंलाई अमेरिकाबाट फोन गरेर वामदेवले के भन्नुभएको थियो ?

– ‘म नेकपा एकीकृत समाजवादीमै काम गर्ने हो । त्यहाँ काम गर्न र एकताको आधार बनाउन सहयोगको अपेक्षा राखेको छु’ भन्नुभयो । पूर्वमालेका साथीकै वर्चश्व छ, माधव नेपालले नेतृत्व गर्नुभएको पार्टीमा । उहाँलाई माया गर्ने, सहकार्य गर्ने साथीहरु त्यहीँ छौँ । उहाँले अघिल्लो दिनमात्र एकता अभियानबाट निर्णय गराएर समाजवादीमा जाने हो भन्नुभयो । पछि छुट्टै पार्टीको रुप दिनुभयो । आफ्नो गन्तव्य कहाँ हो ? भन्नेमै अलमलमा पर्नुभयो । निम्न पुँजीवादी रोगबाट उहाँ अलि बढी ग्रसित हुनुभयो ।

समाजवादीको तेस्रो वरियतामा रहन तयार हुनुहुन्थ्यो, हैन र ! पछि के भएर कुरा मिलेन ?

– त्यसमा बार्गेनिङ भएकै होइन । ‘म सल्लाहकार बसेर काम गर्न सक्छु, उपाध्यक्ष पनि हुन सक्छु’ भन्नुभएको थियो । ‘वरिष्ठ उपाध्यक्ष नराखे पनि हुन्छ’ भन्ने उहाँको आशय थियो । नवौं महाअधिवेशनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएको छ । त्यसलाई यहाँ पनि राख्नुस्, विवाद भएको खण्डमा सम्मेलन, महाअधिवेशन वा कुनै फोरममा छलफल गरौंला भन्ने कुरा रह्यो ।

जबजको आधारभूत कम्पोनेन्टलाई फलोअप गर्ने कुरामा कुनै विमति रहेन । केही साथीबाट नेपालमा जनवादी, पुँजीवादी क्रान्ति सम्पन्न भइसकेपछि यसको आवश्यकता छैन भन्ने तर्क पनि आयो । यो विषयमा हाम्रो पार्टीभित्र अहिले बहस छ । लुकाइराख्नु पर्ने कुरै होइन । ठोस वस्तुस्थिति एकातिर थियो तर उहाँको चाहना त्यो डकुमेन्टमै हुनुपर्छ भन्ने रह्यो ।

आज उहाँ खिइँदै किन यो स्थितिमा पुग्नुभयो ? उहाँका खास मान्छेहरुले नै उहाँको साथ किन छाड्दै गए ?

– राजनीतिमा नेताले कस्तो विचार, नीति अवलम्बन गरेको छ ? लेनिन भन्नुहुन्थ्यो, ‘आमकार्यकर्तालाई संरक्षण गर्न सक्छ वा सक्दैन ?’ वामदेवको खुट्टा आमकार्यकर्तासँग पनि रहेन । ०५४ सालमा पार्टी विभाजन गर्नुभयो । ०५७ सालमा एकता भइसकेपछि पूर्वमालेका नेता, कार्यकर्ताको संरक्षण गर्न सक्नुभएन । मेरो दायित्व सकियो, माधव नेपालसँग कुरा गर्नुस् भनेर पन्छिनुभयो । केपी ओलीले सातौं महाधिवेशनमा आफ्ना विचार प्रस्तुत गर्नुभयो । बहुपदको वकालत केपीले गर्नुभएको थियो । महासचिवको कुरा भने माधवले गर्नुभयो । किरण गुरुङ, त्रिलोचन ढकाल, गोपाल शाक्यलगायत पूर्वमालेबाट आएकाहरुले माधव नेपाललाई समर्थन गर्ने कुरा भएको थियो । हरि पराजुली र मैले केपी ओलीलाई समर्थन गर्न नसक्ने कुरा राखेर फर्कियौं ।

भोलिपल्ट वामदेव कमरेडलाई रिपोर्ट गर्न जाँदा केपी ओलीको पक्षमा अन्तर्वार्ता दिइरहनुभएको रहेछ । उहाँ चौबाटोमा उभिएपछि अनेकन विकल्प सोच्नुहुन्छ । कहिलेकाहिँ गलत बाटोमा हिँड्नुहुन्छ । कार्यकर्ता संरक्षण गर्न लाग्दै लाग्नुभएन । यसले गर्दा पूर्वमालेका धेरै साथी माओवादीको असली कार्यकर्ता बने । शेरबहादुर देउवा भरतमोहन अधिकारीकी छोरी लिमाको विवाहमा आउनुभएको थियो । कुराकानी भयो । ‘म तिमीहरुको वामदेवजस्तो हो ? आमकार्यकर्तालाई सेट नगरी बरु सकिन्छु तर पार्टी एकता गर्दिनँ’ भन्नुभयो । आज देउवा कार्यकर्ता सेट गरेकै कारण स्थापित भए । वामदेवले कार्यकर्तालाई बीचमै अलपत्र पारिदिएका कारण विश्वास गर्ने आधार भएन । पछाडि कार्यकर्ता भइदिएको भए उहाँ स्थापित हुनुहुन्थ्यो ।

यति लामो समय वामदेवसँग सहकार्य गर्नुभएकोमा तपाईलाई पश्चाताप त लागेको छैन ?

– जुन दिनसम्म उहाँसँग बसियो, विवाद रह्यो, छलफल भयो । कहिलेकाँही ठाक्कठुक्क पनि भयो । तपाईंले कार्यकर्ताको संरक्षण गर्नुभएन पनि भनियो तर बसुञ्जेल शानसँग क्रान्ति, पार्टीप्रति इमान्दार रहेर बसियो । अहिले पनि वामदेवजीको क्रान्ति र पार्टीप्रतिको इमान्दारितामा कुनै शंका छैन । उहाँले अवलम्बन गर्नुभएको कार्यनीतिले पार्टीलाई सहयोग पुगेन भन्ने जुन दिन ठम्याई भयो, त्यो दिन उहाँको साथ छोडियो ।

आफैँ संयोजक÷अध्यक्ष हुने रहरले हो कि यो कदम चाल्नुभएको ?

– ७० वर्ष उमेरहदको पहिलो प्रस्तावक नै उहाँकै हो । नेतृत्वको भोक कस्तो हुन्छ भने केपी ओली पनि ७० कै संघारमा हुनुहुन्थ्यो । अरु राधा, गोमा, अमृत, केशवलगायत सबैलाई फाल्नुभयो । आफूलाई भने दुई महिना बाँकी हुँदा ५ वर्ष थप्नुभयो । यो अनैतिक कुरा हो, कुसंस्कार हो । मेरो मान्यता राजनीतिमा उमेरको हदबन्दी लगाउनु हुँदैन भन्ने हो । हामीले शपथ खाँदा नै ‘एक थोपा रगत रहेसम्म क्रान्ति र पार्टीका लागि समर्पित भइरहन्छु’ भनेका हुन्छौँ । कम्युनिष्ट पार्टीभित्र एज र बारको कुरा कसरी आयो र कसरी कार्यान्वयन गरियो भन्ने चिज नै राजनीतिक विचारधारासँग सरोकारको विषय होइन ।

बामदेवलाई मनाउने प्रयास नै भएन वा उहाँ कन्भिन्स हुनुभएन ?

– उहाँसँग माधव नेपालले कैयौं चरण कुरा गर्नुभएको छ । हामी पनि मध्यस्तकर्ता बनेर भलाकुसारी गरेका छौं । कुनै बार्गेनिङबिना नै ‘म समाजवादीमा आवद्ध हुन्छु’ भनेर कमिटमेन्ट नै गर्नुभएको हो । चुनावपछि अर्को परिस्थिति आउँछ । केपी ओलीबाट उत्पीडनमा परेका, उपेक्षित भएका र करिब करिब दलितको व्यवहार भोगिरहेका साथीहरु कतै पछाडि पर्नुहुन्छ कि भनेर उहाँहरु सँगसँगै आउने ढंगबाट समेत कुराकानी भएको थियो । उहाँ हामीसँग नजिकै भएर काम गर्नुभएको हो । नेतृत्व नलिनुभएको मात्र हो । चुनावताका त कलमको पक्षमा गीत नै लेख्नुभएको हो ।

नेकपा एकता राष्ट्रिय अभियान गठनपछि वामदेवले प्रचण्ड, माधव नेपाल, केपी ओलीसँग समेत भेट गरिसक्नुभएको छ । यो बीचमा उहाँहरुसँग के कुराकानी भएछ, केही जानकारी छ ?

– एकता अभियानलाई पार्टीको रुप दिइसक्नुभएपछि उहाँ नेकपा एकीकृत समाजवादीमा जाने संकेत मैले देखिनँ । म जुन पार्टीमा क्रियाशील छु, मेरो धर्म–नैतिकता भनेको त्यही पार्टीप्रति वफादार हुने हो । उहाँ नेकपा एकीकृत समाजवादीकै नेता बन्नुहोस् भन्ने मेरो अभिलाषा थियो । उहाँले एउटा प्लान पनि ल्याउनुभएको थियो, तर कार्यान्वयन हुने समयमा पार्टी परित्याग गरेर हिँड्नुभयो ।

वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानमा हप्ता दिन नपुग्दै विभाजनको प्रक्रिया प्रारम्भ भएको छ । पालैपालो एउटाले अर्काेलाई निश्कासन र कारवाही गर्नुलाई कसरी लिनुहुन्छ ?

– नेपालको कम्युनिष्ट आन्दोलनमा झण्डै ५० वर्ष व्यतित गरियो, तर जसले वामदेवलाई निश्कासन गरेको भनिएको छ, तिनको नाम नै सुनिएको थिएन । पार्टी खोल्न पाइने स्वतन्त्रता हो । वामदेव कमरेडले पार्टी खोल्नुभएपछि उहाँहरु जोडिनुभयो । अहिले वामदेवजीलाई ती व्यक्तिले कारवाही गर्नु वा नगर्नुले उहाँको मुभमेन्टलाई केही असर पार्छजस्तो लाग्दैन । त्यसको काउण्टर वामदेवजीले दिइरहनुपर्दैन । हात्ती लम्कँदै गर्ने हो पछाडि जो–जो भुके पनि । वामदेवजी पनि त्यही हात्ती नै हो ।

पछाडि कोही भुक्दैमा किन उहाँ पछाडि फर्किरहनुभएको छ ? त्यसले उहाँकै कद घटाएको छ । हेर्नुस् त, एक वर्ष अगाडिसम्म पनि उहाँसँग कस्ता कस्ता मान्छे थिए ? आज ती कहाँ छन् ? वामदेवसँग त छैनन् । विश्वासिला, कम्युनिष्ट राजनीतिक चरित्र र स्वयं वामदेवप्रति इमान्दार भएर हिँडेका सहयात्रीलाई उहाँले छोडेपछि कस्तो मान्छेहरुसँग पुग्नुभयो ? के वामदेव त्यस्ता मान्छेहरुबाट कारवाही गरिनुपर्ने र उनीहरुसँग सवाल–जवाफ गरेर बस्नुपर्ने मान्छे हो र ! हैन नि † त्यसैले उहाँले साथी, सहयात्री, कार्यकर्ता त चिन्नुभएन नै, आफूले आफूलाई पनि बिर्सिंदै हुनुहुन्छ । यो गल्तीबाट उहाँ सच्चिनुपर्छ ।

एकथरी भन्दैछन् कि, नेकपा एकीकृत समाजवादी कालान्तरमा गएर प्रचण्डकै पार्टीमा बिलय हुने हो । कत्तिको सत्यता छ यो भनाइमा ?

– कसैको कुबुद्धिले वा कूलमा एउटा कुपात्र निस्कनेबित्तिकै कूल नष्ट भएका त उदाहरणै छन् नि † चाहे रामायणको विभिषण हुन् वा महाभारतका दुर्याेधन । महाभारतको दुर्याेधनको जस्तै हठ केपी ओलीमा नभइदिएको भए कम्युनिष्ट आन्दोलन बिखण्डन, विभाजनको बाटोमा लाग्दैन थियो । लोकतन्त्र बचाउनु हाम्रो दायित्व थियो । कांग्रेस नभएर कम्युनिष्टहरुबीचको एकता भइदिए हुन्थ्यो भन्ने त लाग्छ नि । तर, लाग्नु र व्यवहार फरक कुरा हो । हाम्रो चाहना हिजोको नेपाल कम्युनिष्ट पार्टी निर्माण अभियानमा लाग्नुपर्छ भन्ने छ ।

नेकपा एमालेभित्रका इमान्दार शक्ति, समाजवादी र नेकपा माओवादी, नेकपा मसाल, माले, विप्लव सबै एकै ठाउँमा हुनुपर्छ । कार्यगत एकता हुनेसँग कार्यगत, मोर्चागत एकता हुनेसँग मोर्चागत र पार्टीगत एकता हुनेसँग पार्टीगत एकता । केपी ओलीले आफ्नो गल्ती रियलाइज गरी वस्तुपरक ढंगबाट कम्युनिष्ट पार्टीको एकतामा प्रचण्ड, माधव, केपी, सिपी सबै त्यसमा सरिक हुनुपर्छ । कोही कसैको अहंकार–दम्भका कारण पार्टी विभाजन गर्ने अधिकार कसैको छैन ।

फेरि पनि विगतको दम्भ त्यागेर, गल्ती महसुस गरेर कम्युनिष्ट पार्टी एक बनाउन केपी आउनुहोला र ? सम्भावना देख्नुहुन्छ ?

– केपी कम्युनिष्ट हो भने आत्मालोचना गर्नुपर्छ । अहिले पार्टी एकताको लागि केपीले आह्वान गर्नुभयो भने उहाँको व्यक्तित्व बढ्छ । हिजोका गल्ती र कमजोरीमा जनता र कार्यकर्ताले माफी दिनेछन् । उहाँमा नेपोलियन बोनापार्टको जस्तो जुन सोच र शैली छ, त्यसले कार्यकर्तालाई वैचारिक हतियारबाट सुसुचित गराउँदैन । कम्युनिष्ट पार्टीका कार्यकर्ता अवसर ओरियन्टेड नेताले तिनलाई विचार नदिने भएपछि त्यस्ता पार्टी सकिन्छन् ।

हिजो केपी ओली सत्तामा हुँदा उनका पक्षमा मोटर साइकल ¥याली निकाल्ने र केपी बा आइ लभ यू भन्नेहरु आज कहाँ पुगे ? पञ्चायत कालमा हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने त्यो भीड अहिले ज्ञानेन्द्रको पक्षमा देखिएको छ र ? सत्तामा हुँदा नजिकिने खान्ते पिन्ते समूह, जो सैद्धान्तिक, वैचारिक रुपले निर्देशित छैनन्, ती त बाहिरिन्छिन नै । चाउचेस्कु र गोर्भाचोभलाई नै हेरौं न । यी सबै घटना दिनको घामजत्तिकै छर्लंग छ । ओलीले वैचारिक पक्षलाई व्यवस्थित गरेको, आत्मकेन्द्रित नभएको भए त्यहाँ भीम रावल, घनश्यामहरु जन्मने नै थिएनन् नि ।

मंसिरमा प्रदेश र संघको चुनाव हुँदैछ । चार महिनाका लागि मन्त्रीहरु किन फेरबदल गरेको ?

– हामीले विद्रोह गरिसकेपछि सामेल भएका साथीहरुमध्ये केही अवसर ओरियन्टेड पनि थिए । अगाडि जानेलाई ६ महिना, पछाडि जानेलाई ६ महिना र त्यसपछि एक वर्षभित्र निर्वाचनमा जाने भन्ने समझदारी थियो । त्यहीअनुसार सरकारमा पठायौं । आठ महिना पूरा भएपछि हटाउने निर्णय गरेका थियौं । त्यसरी हटाउने कुरा सार्वजनिक रुपमा हल्ला गर्ने विषय थिएन । प्रधानमन्त्रीले पुनर्गठन गर्दा ती मन्त्रीहरुले थाहा नै पाउनुहुँदैन थियो । मन्त्रिपरिषद् पुनर्गठन ढोल पिटेर, बाजा बजाएर गर्ने चिज हो र ? सत्ता भन्ने चिज कसलाई सहजै छोड्न मन लाग्छ र ?

किसान महासंघ किन सेलायो ?

– किसान महासंघ सेलाएको छैन । हिजो एउटा किसान महासंघ थियो । अहिले तीन चिरा भएको छ । एउटा चिरा प्रचण्डले नेतृत्व गरेको, अर्काे चिरा केपी ओलीपट्टि र हाम्रो राष्ट्रिय किसान महासंघ । विद्रोह पछाडि ४२ जिल्लामा जिल्ला समिति निर्माण गरेका छौं । १७÷१८ वटा विषयगत किसान संघ छन् । ६ वटा कम्युनिष्ट पार्टी आवद्ध किसान संघले सँगै जाने र ठूलो आन्दोलन गरेर सरकारलाई झुकाउने योजना बनाइरहेका छौं । मागपत्र तयार भइसकेका छन् । उपयुक्त समयमा नयाँ ढंगले किसान आन्दोलनलाई पुनः आन्दोलित गरेर किसानलाई बलियो बनाउन लागिरहेका छौं ।


प्रतिक्रिया दिनुहोस !