युट्युबर समात्ने प्रहरी नै फन्फनी

युट्युबर समात्ने प्रहरी नै फन्फनी

थानकोट चेकपोष्ट प्रहरी कार्यालयबाट एक किलोमीटरको दूरीमा उनको घर त फेला पर्यो, तर शुक्रबार प्रहरीले खोज्दा उनी भेटिएनन् । यसपछि प्रहरीले सिडिआर (कल डिटेल्स) को विधिबाट खोजी गर्न थाल्यो । कल डिटेल्सले देखायो, चिसापानी ।

युट्युबरका नाममा स्वास्थ्यकर्मीमाथि दुर्ब्यवहार गर्ने व्यक्तिले आइतबार बिहानभर काठमाडौं प्रहरीलाई यस्तरी घुमाए कि,प्रहरी घरी यता, घरी उता दौडिँदैमा समय बित्यो ।

शुक्रबार दिउँसो काठमाडौं छिर्ने प्रमुख नाका नागढुङ्गामा बागमति प्रदेशका जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा.नारायण कार्कीमाथि दुर्ब्यवहार भएको थियो । आफूहरुलाई युट्युब च्यानल सञ्चालक बताउँदै स्वास्थ्यकर्मीको झोला खानतलासी लिने उत्तम कार्कीसहितका युवालाई प्रहरीले शनिबारदेखि नै खोज्दै थियो ।

त्यस्तो व्यवहारको सञ्चार क्षेत्रसहित नागरिक समाजबाट पनि विरोध हुँदै आएको थियो । थानकोट चेकपोष्ट प्रहरी कार्यालयबाट एक किलोमीटरको दूरीमा उनको घर त फेला पर्यो, तर शुक्रबार प्रहरीले खोज्दा उनी भेटिएनन् । यसपछि प्रहरीले सिडिआर (कल डिटेल्स) को विधिबाट खोजी गर्न थाल्यो । कल डिटेल्सले देखायो, चिसापानी । सुन्दरीजलबाट उत्तरतर्फ लाग्दा काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्छ, चिसापानी ।

एकातिर मोबाइलको लोकेशन चिसापानी, अर्कातिर आइतबार बिहानै उत्तमले काठमाडौं प्रहरीका एसएसपी श्यामलाल ज्ञवालीलाई फोन गरेर सुनाए, ‘सर, म दहचोकतिर छु । आधा घण्टापछि आफैँ थानकोटको डिएसपी सा’बलाई भेट्न जान्छु ।’ उनको आशय थियो,घरमा पुलिस पठाएर पक्राउ हुनबाट जोगिनु । तर, आधा घण्टामा डिएसपीलाई भेट्छु भन्ने उत्तमको तीन घण्टासम्म अत्तोपत्तो भएन ।

मोबाइलले देखाएको लोकेशन चिसापानी साँखु प्रहरी प्रभागको क्षेत्रमा पर्छ । साँखुले पनि सुन्दरीजल प्रहरीलाई दौडायो । तर,अरुलाई पानीमुनि गए पनि छोड्दिन भनेर फेसबुक प्रोफाइलमा लेख्ने उत्तम आफैचाहिँ भनेको ठाउँमा भेटिएनन् ।

यसपछि एसएसपी ज्ञवालीलाई प्रहरी परिसर टेकुका एसपी सोमेन्द्रसिंह राठौर र डिएसपी सुधीरराज शाहीले भने, ‘यसरी भएन हजुर,हामी जसरी पनि ल्याइदिन्छौँ ।’

दिउँसो ११ बजे सोमेन्द्र थानकोटतिर लागे । यतिबेलासम्म उत्तमको नयाँ लोकेशन ट्रेस भइसकेको थियो,थानकोट चेकपोष्ट । बाटोबाट उत्तमलाई सोमेन्द्रले फोन गरे, ‘तपाईं घरबाट निस्किएर थानकोटको प्रहरी कार्यालय आउने कि घरबाटै पोको पारौँ ?’

‘हैन, हैन सर, म आइहालेँ’ भनेर आत्तिँदै घरबाट निस्किएका उत्तमलाई सोमेन्द्रले घरभन्दा दुई सय मीटर वरै समातेर गाडीमा हाले ।

टिप्पणीहरू