अनेक छन् अझै पनि भित्रभित्रै आशंका

अनेक छन् अझै पनि भित्रभित्रै आशंका

राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ– सत्तारुढ गठबन्धन आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म जान्छ कि जाँदैन ? यो गठबन्धन त्यहाँसम्म पुग्दा के हुन्छ ? बीचमै टुट्दा के हुन्छ ? यी प्रश्नका आन्तरिक र वाह्य कारण, प्रभाव र परिस्थितिको विश्लेषण गर्ने क्रम उच्च नेताबीच शुरु भएको छ ।

सबै मिली एमसीसी पास गरेर आफूलाई पाखा लगाइएको ठान्ने चीनलाई नेपालमा बेल्ट एण्ड रोड परियोजना (बिआरआई) कार्यान्वयन गराउने कुरासँग सबभन्दा बढी चासो छ । त्यसनिम्ति उसलाई वाम गठबन्धन वा वामपन्थी सरकार चाहिएको छ । तर, नेपालको समकालीन राजनीतिमा इण्डो–अमेरिकन लवी हावी छ । कांग्रेस नेतृत्वको सरकार बन्यो भने अमेरिकाले समस्या पार्छ भन्ने चीनको बुझाई छ । त्यसका लागि सकेसम्म वाम गठबन्धन बनोस् भन्ने नै उसको चाहना बुझिन्छ । यदि, फेरि पनि कांग्रेस नै एकल रुपमा सरकारमा हावी हुने हो भने चीनका चासोहरू कसरी मडारिन्छन् र इण्डो–अमेरिकी रुचि हावी हुन्छन् भन्ने कुरा बितेको एक वर्षमा प्रष्ट भइसकेका छन् । तर, उत्तरी छिमेकी जतिसुकै चिन्तित भए पनि तत्काल मुलुकमा ओली नेतृत्वको एमालेसहित वाम गठबन्धनको सम्भावना छैन ।

अहिले नेपालका कम्युनिष्टहरूको मुख्य अन्तर्विरोध न भारतीय ‘विस्तारवाद’सँग, न अमेरिकी ‘साम्राज्यवाद’सँग हो । केपी ओली प्रवृत्तिले मुलुकको कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने दिशा पक्डिएकाले त्यो खतराबाट मुक्त हुनुलाई उनीहरूले मूल ध्येय ठानेका छन् । त्यसैले ओलीप्रवृत्ति र त्यसले उत्पन्न गरेको घोर दक्षिणपन्थी अवसरवादलाई मुख्य अन्तर्विरोध बनाएर जानुपर्छ भन्नेमा माधव नेपाल, झलनाथ खनाल, प्रचण्डसहितका नेताहरू सहमत भएका छन् । त्यो कार्यभारलाई पूरा गर्नका निम्ति अब जम्मा चार–पाँच महिना गठबन्धन जोगाउन र मंसिरको चुनावबाट प्राप्त परिणामअनुसार राज्य शक्तिमा भागवण्डा गर्न उनीहरू आतुर देखिन्छन् ।

कम्युनिष्ट नेतामध्ये माधव नेपाल गठबन्धन जोगाउने र ओलीतिर ननजिकिने कुरामा दृढ हुनुहुन्छ । तर, केपी ओली प्रवृत्तिविरुद्ध संघर्षरत रहँदै केही उपलब्धी प्राप्त हुन्छ भने त्यसलाई पनि रक्षा गरेर जानुपर्छ भन्ने लागेको छ । झलनाथले शीर्ष नेताबीचको छलफलमा भन्नुभएको थियो, ‘एमालेमा खराब मान्छेमात्र छैनन् । राम्रा एमालेहरूसँग सहकार्य गरेर जानुपर्छ ।’ गत स्थानीय तह निर्वाचनमा उहाँले इलामको सूर्योदय नगरपालिका र जिल्ला समन्वय समितिमा एमालेसँग गरिएको तालमेलको उदाहरण दिनुभयो ।

तर, नेताहरूले त्यसरी केन्द्रीय नीति बनाएर जाने कुरामा सहमति जनाएनन् । एकजना नेताको भनाइ थियो, ‘त्यहाँका मान्छेहरू खराब छन् कि असल भन्दा पनि हिजो रुसमा स्वयं मिखाइल गोर्भाचोभ खराब थिए कि थिएनन् ? भन्ने कुरा हेर्नुपर्ने हुन्छ । डा.केशरजंग रायमाझीका मान्छे सबै खराब थिएनन् । तर, कम्युनिष्ट पार्टी त उनीहरूले खाए ।’ उनले झलनाथलाई भने, ‘मुख्य व्यक्ति कुन नियतको छ भन्ने कुराले सम्बन्ध राख्छ । तलका मान्छेहरू राम्रा छन् भन्दैमा नेतृत्व नै खराब भइदिएपछि राम्रा मान्छेहरूको मुख हेरेर हुने क्षति टार्न सकिँदैन । एमाले आज त्यही ठाउँमा छ । त्यहाँ राम्रा मान्छे छन्, तर तिनले ओलीका विसर्जनकारी भूमिका र गतिविधि रोक्न सक्दैनन् ।’ माधवले भन्नुभयो, ‘ओलीसँग सहकार्य गरेर जानु भनेको आफैं समाप्त हुनु हो । कर्पोरेशनहरू टाट पल्टिएर लिक्विडेशनमा गएजस्तो । त्यसो गर्न हामी तयार छैनौँ ।’

अहिलेको गठबन्धन आगामी चुनावसम्म जाने कुरा वामपन्थीहरूले अलग्गै गठबन्धन बनाउलान् कि नबनाउलान् भन्नेमा निर्भर भएको शेरबहादुर देउवाले पनि बुझ्नुभएको छ । कम्युनिष्टहरू ओलीसहितको गठबन्धनमा नजानासाथ कांग्रेस पहिलो दलका रुपमा आउने पक्का हुन्छ । त्यसैले देउवा र सिंगो कांग्रेस यो अवसरबाट लाभ लिन आतुर छ । तर, बीचमा जसरी जसपाभित्र विवाद भड्कियो, त्यसले गठबन्धनलाई केही अप्ठेरो पार्ने स्थिति थियो । बाबुरामले जसपाको वैधानिक विभाजन गर्न नसकेपछि उपेन्द्र यादव थेगिने अवस्था भयो । नत्र, सरकारमाथि नै प्रश्न उठ्थ्यो । यसबीच प्रचण्डको भूमिका गठबन्धन परिवर्तनको पक्षमा तुरुन्तै नरहने भएपछि देउवा विश्वस्त हुनुभएको स्रोतले जनाएको छ । बरु, माओवादी, समाजवादी, जसपा र राजमोको उपगठबन्धन बन्ला, ओलीसहित बनाउने कुरामा स्वयं प्रचण्ड तुरुन्तै तयार हुनुहुन्न ।

यसबीच, एमालेको प्रयत्न वाम गठबन्धनको नाममा पाँच दलीय गठबन्धन तोड्नेतिर नै छ । उसको एउटा पंक्तिचाहिँ कहिले झलनाथलाई राष्ट्रपति भनेर, राजेन्द्र पाण्डे र राजेन्द्र राईलाई मुख्यमन्त्री टिकाउने भनेर एकीकृत समाजवादीसँग नजिकिन खोज्दैछ । अष्टलक्ष्मी शाक्यले केपी ओलीसँग ‘बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई अप्ठेरो परे हामीले समर्थन गरेर जोगाइदिऔँ’ भन्नुको अर्थ पनि त्यही हो । त्यसैले अबको केही महिना एमाले र अरु वाम पार्टीका नेताबीच घनिभूत संवादको सम्भावना छ ।

यही विकसित घटनाक्रमप्रति सचेत हुँदै बागमती प्रदेशको सरकार फेर्नेबारे उठेका बहसमा शेरबहादुर देउवाले आफ्ना मान्छेहरूलाई हप्काउनुपरेको छ । केही दिनअगाडि सम्पन्न पाँचदलीय गठबन्धनका शीर्ष नेताको बैठकलगत्तै यो कुरा उठेको हो । मुख्यमन्त्रीका आकांक्षी इन्द्र बानियाँ भन्न खोज्दै थिए, ‘लिखित सम्झौताअनुसार…†’ तर, शेरबहादुरले भन्नुभयो, ‘यो कुरा बन्द गर्नुस् । अहिले यस्तो कुरा गर्ने होइन । चुनावमा गठबन्धन गरेपछि चुनाव जितेर आफैँ मुख्यमन्त्री हुने हो । अहिले त्यो सरकार ढाल्यो भने कर्णाली, गण्डकी, सुदूरपश्चिम र लुम्बिनीको गठबन्धन के हुन्छ ?’

शालिकराम जमरकट्टेल पनि प्रचण्डसँग इन्द्र बानियाँकै लाइनमा कुरा गर्दै थिए । उहाँले पनि ‘अहिलेको इश्यु त्यो होइन, कुरै नगर्नुस्’ भन्नुभएको छ । त्यसैले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध इन्द्र बानियाँहरूले शुरु गरेको हस्ताक्षर संकलनको अभियान छोडेका छन् । शायद, स्थानीय तह निर्वाचनको परिणामकै कारण हुनुपर्छ, एमाले नेताहरूमा एकीकृत समाजवादीप्रतिको स्वीकार्यताको महसुस हुन थालेको छ ।

हालै महासचिव शंकर पोखरेलले एक टेलिभिजन अन्तर्वार्तामा भने पनि, ‘पहिला उहाँहरूले संविधानविपरित पार्टी विभाजन गर्नुभयो, अदालत र निर्वाचन आयोगले पनि गैरकानुनी तवरले पार्टी दर्ता ग¥यो । अब उहाँहरू जनतामा गएर ४ प्रतिशतभन्दा बढि मत ल्याइसकेपछि हामीले मात्र छोइछिटो गरिरहने कुरा आउँदैन ।’  उता, किसान महासंघको बैठकलाई अध्यक्षता गर्ने क्रममा प्रेम दंगालले आफ्नो मन्तव्य दिँदा भनेका छन्, ‘वाम तालमेलको कुरा ठीकै हो । यो मुलुकको आवश्यकता पनि हो । तर, घनश्यामले भनेको कुरालाई समर्थन गर्न कहाँ सकिन्छ र ?’

यसअघिको गठबन्धनमा ओलीले माधव नेपालपक्षीय नेतालाई टिकट दिनुपर्ला भनेर ती–ती ठाउँ माओवादीको भागमा राखिदिनुभएको थियो । पार्टी एकतामा पनि त्यसै गरियो । नुवाकोटमा माधव पक्षका नारायण खतिवडा अध्यक्ष थिए । माओवादीका हितबहादुर तामाङलाई अध्यक्ष बनाइयो । नेपाली कांग्रेसभित्र अहिले शेखर कोइरालाहरूलाई परेको त्यही हो, देउवाले आफूहरूलाई सिध्याउन तालमेलका नाममा सीट बाँड्लान् भन्ने । भनिन्छ पनि– कांग्रेसले पहिला वामपन्थीलाई तालमेल गर्ने भनेर अल्मल्याउँछ, पछि मैले पार्टीमा मिलाउन सकिनँ भनेर पन्छिन्छ । बीचमा दशैं, तिहारले छोइहाल्छ । यदि, यस्तो भयो भने प्रचण्ड–माधवहरू चौथो बाटोमा जान बाध्य हुन्छन् । त्यसैले जे–जे दिएर भए पनि गठबन्धन गर्ने र गठबन्धनको नेता आफू बन्ने कुरामा प्रचण्ड अडिग हुनुहुन्छ । उहाँ आफ्नो पार्टीभित्र बहुमतमा हुनुहुन्छ नै ।

टिप्पणीहरू