प्राप्त पुरस्कारमा थपेर इश्वरकी पत्नीलाई

प्राप्त पुरस्कारमा थपेर इश्वरकी पत्नीलाई

चर्चित उध्योगपति,कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार परिवारमा समर्पण गरेका छन् । उनले एक लाख रुपैयाँ राशिको ‘नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले पाएको सो अवार्ड ईश्वरबल्लभको परिवारका लागि समर्पण गरेका हुन् ।

थापाथलीस्थित स्वर्गीय कवि ईश्वर बल्लभको निवासमा पुगेर साहित्यकार चौधरीले बल्लभ परिवारजनलाई आफूले पाएको पुरस्कार राशिमा त्यति नै रकम थपी हस्तान्तरण गरेका हुन् । बल्लभकी पत्नी कमला भट्टराईलाई भेटेर उनले दुई लाखको चेक प्रदान गरेका थिए ।

चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा नई प्रकाशनले पुरस्कार स्थापना गरी वितरण गर्न थालेको हो । नेपालका स्थापित कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईको समेत उपस्थितिमा चौधरी स्व. बल्लभकै घर पुगेर आफूले पाएको पुरस्कार राशिमा थपी कवि परिवारलाई सहयोग प्रदान गरेका थिए । सो क्रममा नेपाली कविता तथा साहित्यिक पत्रकारिताको क्षेत्रमा स्व. बल्लभले पुर्याउनुभएको योगदानको समेत चर्चा गरिएको थियो । स्व. कविकी पत्नी कमला भट्टराईले बसन्त चौधरीको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।

बसन्त चौधरी गीतकार, कवि,स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह,अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् । उनका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुई वटा हिन्दी भाषाका गीति एल्बमसमेत प्रकाशित छन् । साथै दर्जनौं कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग पनि गरेका छन् ।

हालै उनले ‘तिमीबिनाको म’ नामक नेपाली भाषाको कविता संग्रह र ‘अनेक पल और मैं’ नामको हिन्दी कविता संग्रह प्रकाशन गरेका छन् । उनी अन्तर्राष्ट्रिय स्तरको नर्भिक हस्पिटल चलाउँछन् ।

टिप्पणीहरू