प्रधानमन्त्रीलाई ज्योतिषले घुमाइदिएपछि चुनाव मङ्ग्सिर ४ गते आइतवार

प्रधानमन्त्रीलाई ज्योतिषले घुमाइदिएपछि चुनाव मङ्ग्सिर ४ गते आइतवार

सरकारका निर्णयहरु संविधान, कानून,विधि-विधान र स्थापित मूल्य मान्यताका आधारमा हुन्छन्,हुनुपर्छ । अझ निर्वाचनको मिति तोक्नेजस्तो संवेदनशील विषयमा निर्णय गर्दा त सरकारले आम सहमतिसमेत जुटाउनुपर्ने हुन्छ । तर,ज्योतिष विद्यामा असाध्यै विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मितिका सम्बन्धमा निर्वाचन आयोगको सिफारिसलाई लत्याएर ज्योतिषीको भर परेपछि आसन्न संघ तथा प्रदेशको चुनाव कहिले गर्ने भन्नेमा बालुवाटारमा लामै गन्थन भएको छ ।

निर्वाचनको तयारीबारे सरकारलाई जानकारी गराउन प्रधानमन्त्रीको निमन्त्रणामा हिजो बालुवाटार पुगेको प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुको टोलीले मङ्सिर २ गते एकै चरणमा निर्वाचनको मिति सिफारिस गरेको थियो । केही विश्वासिला मन्त्री, मुख्यसचिव,गृहसचिव र अन्य सरकारी प्रतिनिधिहरुलाई साथमा राखेर छलफलमा बस्नुभएका प्रधानमन्त्री देउवालाई आयोगको सिफारिस चित्त बुझेन । कारण हो, ज्योतिषले जुराएको साइत र आयोगको सिफारिसमा मिति नमिल्नु ।

“गृहसचिवले पन्चांग निर्णायक समितिका अध्यक्षलाई हेराएर निकालेको चार गतेको साइत निर्वाचन आयोगको टोली पुग्नुअगावै प्रधानमन्त्रीलाई सुनाइएको थियो ।”

हिजोको बालुवाटार भेटघाटमा सहभागी निर्वाचन आयोगका सचिवका अनुसार प्रमुख आयुक्त थपलियाले चुनावको तयारीबारे ब्रिफिङ गर्दै मङ्सिर २ गतेको मिति प्रस्ताव गरेलगत्तै प्रधानमन्त्री देउवाले चार गते गर्दा के हुन्छ भनेर प्रश्न गर्नुभएको थियो । शव्दमा व्यक्त नगरे पनि प्रधानमन्त्रीको अभिप्राय बुझेपछि थपलियाले पनि दुई गतेका ठाउँमा चार हुनुपर्ने कारणबारे जिज्ञासा राख्दा स्पष्टीकरण दिन गृहसचिव टेकप्रसाद पाण्डे अघि सर्नुभयो । प्रधानमन्त्रीतर्फ हेर्दै उहाँले ज्योतिषले चार गतेको साइत जुराएको संकेत गरेपछि आयोगले बनाएको सेड्युल प्रभावित नहुने कुराको ग्यारेन्टी भए जुनसुकै मितिमा चुनाव गर्न आयोग तयार रहेको थपलियाको भनाइ स्रोतले सुनायो ।

दशैँको पूर्णिमालगत्तै मनोनयन दर्ता हुने गरी मिति तोकिए सबैलाई सजिलो हुने र चुनावको सम्पूर्ण नतिजा सार्वजनिक गर्ने समय तालिका मिलाएर कार्य अघि बढेकाले दुई गतेकै मिति उपयुक्त हुनेमा थपलियाले जोड गरेपनि गृहसचिवले ‘हैन,चार गते गरौँ’ भनेको बताइन्छ । २ गते शुक्रबार परेकाले मुस्लिमहरुको नमाज हुने तर्क पनि त्यहाँ उठेको थियो । बाहिर जे-जे भने पनि ज्योतिषले जुराएको साइतअनुसार नै चुनाव गर्ने प्रधानमन्त्रीको चाहना प्रष्टै देखिएको स्रोत बताउँछ ।

त्यसपछि छलफलकै क्रममा दिनेश थपलियाले भन्नुभयो,’आयोगले दुई गते गर्ने भनेर निर्णय गरेर ल्याएको छ । त्यसमा एक-दुई दिन पुनरावलोकन गर्न सकिन्छ,कुनै समस्या छैन । तर, पाँच गतेभन्दा पर जान चाहिँ सकिंदैन ।’

“उहाँ ज्योतिषीले जे भन्यो त्यसैमा विश्वास गरेर काम गर्नुहुन्छ,यदि भोलि कुनै नाङ्गा बाबा आएर वीरगन्जसम्मै भारतको भूभाग हो, त्यो छोडे नेपालको भाग्य राम्रो हुन्छ हजुर भन्दियो भने त्यहि गर्ने ? प्रधानमन्त्रीले सत्यमा आधारित रहेर मुलुकको आवश्यकता सम्बोधन हुने गरि निर्णय गर्ने कि ज्योतिष हेराएर ?’

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ज्योतिष हेराएर चुनावको साइत निकाल्ने जिम्मा गृहसचिवलाई नै दिनुभएको थियो । उहाँले पन्चांग निर्णायक समितिका अध्यक्षलाई हेराएर निकालेको चार गतेको साइत निर्वाचन आयोगको टोली पुग्नुअगावै प्रधानमन्त्रीलाई सुनाइएको थियो । छलफलमा प्रमुख आयुक्त थपलिया र गृहसचिवबीच छुट्टै खासखुस पनि चलेको देखियो । अहिले एउटा ज्योतिषीलाई हेराएर एउटा मितिको तयारी गर्ने अनि भोलि अर्को ज्योतिषले अर्को मिति उपयुक्त हुन्छ भन्यो भने के गर्ने भन्ने विषयमा थपलियाले गृहसचिवसँग प्रश्न गरेको बताइन्छ ।

चुनावको मितिका विषयमा कुरा चलिरहेकै बेला वीचमा मुख्यसचिव शंकरदास बैरागीले इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) को प्रयोगबारे प्रसंग ल्याउनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियातर्फ हेर्दै उहाँले सोध्नुभयो, ‘इभिएम प्रयोग गर्न खोजेको हो,के सम्भव छ र !’ यसबारे आयोगले औपचारिक निर्णय नै गरेर सरकारलाई पठाएको भन्दै थपलियाले यहि महिनाभित्र मेसिन उपलब्ध भएमात्र यसपटक सम्भव हुने बताउनुभएको थियो । तर, प्रधानमन्त्री देउवा भने त्यसमा खासै इच्छुक नदेखिएको बताइन्छ । भृकुटीमण्डपमा हिलट्यांकीलाई बुथ बनाएर भोट हालेको ताजा अनुभवका कारण होला उहाँले सोध्नुभयो, ‘पार्टीको आन्तरिक चुनावमा त इभिएम सम्भव छैन भने के यसमा सबै पार्टी मिल्छन् होला र ?’

लामो छलफलपछि सहमति जुट्यो – निर्वाचन आयोगले दुई गतेकै मितिमा विज्ञप्ति निकाल्ने तर,पछि सरकारले घोषणा गर्दा चार गते गर्ने । त्यहिअनुसार आयोगले बालुवाटारबाट फर्केलगत्तै हिजै साँझ विज्ञप्ति निकालेर मङ्सिर २ गते चुनाव गर्न सरकारलाई सिफारिस गरेको जानकारी गराएको थियो ।

चुनावको मिति घोषणा भएपछि आवश्यक तयारीका लागि कम्तिमा १२० दिन चाहिने भएकाले मङ्सिर दुई या चार जुनसुकै मिति तोकिए पनि साउनको पहिलो सातामा मिति घोषणा गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको आयोगले बताएको छ । प्रधानमन्त्री देउवा भने संसदबाट कानुन निर्माणका सबै काम टुंग्याएर त्यसको भोलिपल्ट चुनावको मिति घोषणा गर्ने मनशायमा रहेको बताइन्छ । स्रोतका अनुसार हिजोको छलफलमा पनि प्रधानमन्त्रीको त्यो मनशाय देखिएको थियो । निर्वाचनको मिति तोकिएपछि संसदका कामकारवाही प्रभावित हुन्छ कि हुँदैन भनेर उहाँको चासोका पछाडिको कारण त्यहि हो भनिन्छ । तर,आयोगका प्रतिनिधिहरुले भने आचारसंहिता जारी नहुँदासम्म सरकार र संसदलाई आफ्नो नियमित काम गर्न कुनै बाधा नपर्ने भएकाले प्रधानमन्त्रीलाई ढुक्क हुन भनेका छन् ।

तथापि,स्थानीय चुनावमा पनि जेठ ५ को आयोगको प्रस्ताव मिल्काएर ज्योतिषको सल्लाहमै प्रधानमन्त्रीले बैशाख ३० गते मिति तोकेको ताजा दृष्टान्त र हिजोको छलफलमा व्यक्त धारणाले चुनाव कहिले हुन्छ भन्ने कुराको सुनिश्चितता अझै छैन । निर्वाचनको मिति तोक्ने अधिकार नि:सन्देह सरकारको हो । यसोभन्दा निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीमा रहेको निर्वाचन आयोगले लामो अध्ययन र तयारीपछि गरेको सिफारिसलाई केही पनि होइन भन्न मिल्दैन । तर, प्रधानमन्त्री देउवाले आयोगको सिफारिसभन्दा ज्योतिषको साइतलाई प्राथमिकतामा पारेपछि कतिपयले संशय गरेका हुन् ।

प्रधानमन्त्रीको ज्योतिष मोह र त्यसैका आधारमा अरु तीन पटक प्रधानमन्त्री हुने उहाँको विश्वास बुझेका कतिपय कांग्रेस नेताहरुको तर्क छ ‘एउटा ज्योतिषले मङ्सिर ४ भनेछ,प्रधानमन्त्री त्यसैको विश्वासमा हुनुहुन्छ । अब अर्कोले अर्को तिथि तोकिदिए उहाँ के गर्नुहुन्छ ?’ कांग्रेस इतरका अर्कोथरीको आक्रोश छ, ‘उहाँ ज्योतिषीले जे भन्यो त्यसैमा विश्वास गरेर काम गर्नुहुन्छ,यदि भोलि कुनै नाङ्गा बाबा आएर वीरगन्जसम्मै भारतको भूभाग हो, त्यो छोडे नेपालको भाग्य राम्रो हुन्छ हजुर भन्दियो भने त्यहि गर्ने ? प्रधानमन्त्रीले सत्यमा आधारित रहेर मुलुकको आवश्यकता सम्बोधन हुने गरी निर्णय गर्ने कि ज्योतिष हेराएर ?’

टिप्पणीहरू