केही मन्त्री बिदा लिनै गएनन् किन ?

केही मन्त्री बिदा लिनै गएनन् किन ?

पदबहाली गर्दा पारिवारिक र न्यानोपन देखाउनु तर साढे आठ महिनामा पदमुक्त हुँदा बिदाइसम्म लिन हिच्किचाउनुको कारण के होला ? सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा खासखुस चल्यो । जति दिन सकिन्छ त्यति दिन कमाउ धन्दामा लाग्ने बानीका कारण अस्तिदेखि अवकाश पाएकी भौतिक योजना तथा यातायातमन्त्री रेणु यादव बिदाइ लिन मन्त्रालय गइनन् । बरु, घर जानुअघि दिउँसो यातायातका डिजी नवराज घिमिरेलाई हटाएर सुरेश राउतलाई नियुक्ति दिँदै थिइन् ।

औपचारिक रुपमै बिदाइ लिन मौखिक आग्रह गरिए पनि उनी सिंहदरबार छिर्न सकिनन् । त्यहाँ सचिव, सहसचिव, विभागका डिजी, आयोजना प्रमुख फेर्दा रकमको राम्रै मोलमोलाइ चल्यो । जसपाभित्र प्रभावशाली नेत्री रेणुमाथि मन्त्रालय सम्हालेदेखि नै डिजी चलाउने, डिइ हेरफेर गर्ने, आयोजना प्रमुखसँग बार्गेनिङ गर्ने, अनधिकृत ठेकेदारलाई बिचौलियाको रूपमा खडा गर्ने काममा लागेको आरोप छ । एक सय ४५ अर्बको बजेट चलाउने मन्त्रालयलाई दुहुनो गाई बनाउन उनी पछि परिनन् भनिन्छ ।

बहुतै कम मात्र कार्यालय आउने र निजी निवास शान्तिनगर र पुल्चोकस्थित मन्त्री क्वार्टरबाटै मन्त्रालय चलाउने, सरुवा तथा पदस्थापनलाई नै प्राथमिकता दिने काममा उनी लागिरहिन् । यसै क्रममा सडक विभागका डिजी अर्जुनजंग थापालाई मन्त्रालयमा तानेर सो ठाउँमा शिवहरि सापकोटालाई डिजी बनाइन् । रोजिएका डिडिजीलाई आकर्षक ठाउँमा जिम्मेवारी दिइन् ।

शिवहरिले अवकाश पाएसँगै सो ठाउँमा पुनः अर्जुनजंगलाई लगेर सचिवमा गोपाल सिग्देललाई ल्याइन् । निजी सचिवमा उपेन्द्र यादवले खटाएका विद्यार्थी नेता अशोक यादवलाई बेवास्ता गर्दै रेडियो नेपालका पूर्वकर्मचारी कृष्णदेव रायलाई उठ्तीपुठ्तीमा सामेल गराइन् । यस्तै, बिचौलियाका रूपमा ठेकेदार राजकिशोर गुप्तालाई पनि प्रयोग गरिन् ।

जाँदाजाँदै यातायातका नवराज घिमिरेलाई वन मन्त्रालयमा पठाएर सामान्य प्रशासनको जगेडामा रहेका सुरेश राउतलाई यातायातमा ल्याइन् । विजय गच्छदार भौतिक तथा निर्माणमन्त्री हुँदा उपेन्द्र यादवले सो मन्त्रालयलाई मालदार मन्त्रालय भन्ने गर्थे । यसरी रेणुले पनि मालदार मन्त्रालयबाट माल त कमाइन् तर सम्मानचाहिँ कमाउन सकिनन् ।

उता, वन मन्त्रालयबाट बहिर्गमन भएका रामसहायप्रसाद यादवलाई भने भव्य बिदाइ गरिएको छ । शालीन र लोभलालचमा त्यति नफस्ने यादवलाई सहज मन्त्रीका रुपमा कर्मचारीले लिए । यता, नवनियुक्त वनमन्त्री प्रदीप यादवबारे साइकलसँग जोडिएको एउटा किस्सा रोचक छ । गएका २ यादव मन्त्रीको तुलना गर्दा नै प्रष्ट हुन्छ– लेनदेन र असुलीलाई प्राथमिकता दिएपछि बिदाइमा सामेल हुने नैतिक साहस गुमाइँदो रहेछ ।

– राजकुमार रायबाट

टिप्पणीहरू