लामो यात्रामा हिँड्नु त यसरी पो हिँड्नु (२)

लामो यात्रामा हिँड्नु त यसरी पो हिँड्नु (२)

अब लागियो गोवी नै गोवीतिर । बाटोमा मंगोलका मन्दिर र मठहरू भेटिए । उत्तरबाट रुसी र दक्षिणबाट चिनियाँहरूले धकेल्दै धकेल्दै मंगोल विचराहरूलाई मरुभूमि भित्रभित्रै पु¥याउन लागिसकेछन् । ७ मेमा सेइतुंगला पहाडतिर पुगिएछ । १८७३ मै रुसी प्रसिद्ध हिँडन्ते, अन्वेषक कर्णेल प्रेजाभालस्कीले पत्ता लगाएको स्थान । अनुहार मिलेर हो या कुनै कन्स्पिरेसी थ्योरी नै हो, उनैलाई हो स्टालिनको बाबु हुन् भन्ने गरिएको । ८ मेमा तुर्किस्तानको गुचेनबाट साठी दिनअघि हिँडेका एक सय पचास उँटका क्याराभान भेटिए । हामी गोवीको केन्द्रतिरै पस्दै थियौं । झन् झन् सुक्खा स्थान आए, खोला हैन खहरेहरू पनि हराउँदै गए । क्याराभानहरूले खोतलेका पानीका कुवा मात्र भेटिए । घाँस उम्रने त नाम निशानै छैन ।

कसरी हिड्यौं थाहा छ गोर्खे ? हामी दिउँसो चार बजे हिँड्न शुरु गथ्र्यौैं र रातभरि नै हिंड्थ्याैँ किनकि दिनमा अति तातो हुन्थ्यो । १३ मेमा मात्र रुखहरू देखिए इल्मका । हावा यति चल्न थाल्यो कि हिँड्दै नसकिने भएर दुई दिन रोकियौं । हुरीले गर्दा बाटो देख्नै गारो भयो बालुवामा बाटोका डोभहरू मेटिएर । रोकिएर, आराम गरेर कहाँ पुगिन्थ्यो र त्यसैले नहिँडी सुखै थिएन । यसरी नै हुर्कु हिल्स आयौं । २२ मईमा बोर्तन आयो, कुवा भेटियो । मरुभूमिमा पानीको कुवा भेटिनु ठूलो सन्तोषको विषय हो । केही दिन पानी नै नपाइएला भनेर रिजर्भ पानी बोकेका थियौं । केही मंगोलका पाल देखिए । तिनैसँग केही उँट किन्यौं । हेर्दै खाइलाग्दा मंगोलहरू साँच्चै चंगेज खाँका सन्तानजस्ता । अहिलेसम्म विश्वमा सबैभन्दा धेरै भूगोल विजय गरेको तेमोजिन अर्थात् चंगेज खाँले । गुचेन जानको लागि सामान किनेर चीनतिरबाट आएका चिनियाँ ब्यापारीको उँटका बथान भेट्यौं जो पहिला बाउतुमा हामीभन्दा अघि हिँडेका थिए । उरुम्चीमा जनरललाई उपहार दिनको लागि राइफल पनि किनेर ल्याएको रहेछ चिनियाँले । आखिर जरसाहेब जहाँका पनि उस्तै है ? तेरोमा कस्ता छन् नि ती ? शिकार र ह्वीस्कीका मात्र कहानी भन्नेवाला छन् कि देशको सुरक्षाबारे पनि केही चिन्ता गर्छन् ?

मई महिनाको अन्तिम हुन लाग्यो । भयानक हुरी चल्यो । बाटोमा मंगोलका क्याम्पहरू भेटिँदा खुशी लाग्थ्यो । जुन महिना लाग्नासाथ तुपुचीमा मंगोलहरूको सानो बस्ती जस्तो भेटियो । यात्रा गर्नेहरूले खर्चपानी छाड्ने र लिने रहेछन् त्यहाँ । ८ जुनतिर मेरो गाईडले रिभोल्बर हातमा समातेर हिँड भनी सचेत गरायो किनकि त्यो लुटेराहरूको ठाउँ रहेछ । तेरोमा जस्तो प्रहरी चौकी फल्टुँडे खडा गर्दिन सकेको भए यसरी लुट्ने थिएनन् कि ? अति थाकें । मैले पेकिंगबाट ल्याएको दोश्रो बोतल सेरी पनि खोलें । बाटोमा तेरो गाउँतिर जस्तो तीनपाने पाइने भए पो ? आफू त बेलायती परियो, मरुभूमिकै गहिराईमा किन नहोस् पारा देखाउन परिहाल्यो ।

अल्ताइ हिमालका स्परहरू आउन थाल्यो । मानचिन तोलमा अझै ठूलो मंगोलहरूको क्याम्प भेटियो । पानी पनि प्रशस्त रहेछ त्यहाँ । पुग्न बीस दिन जति लाग्छ भने । हामीले बाटोमा थाकेका र गोडा खन्च्याङ खन्च्याङ गरेका उँट साँट्यौं । पश्चिम उत्तरतर्फ सुन्दर अल्ताई हिमालमा हिउँ परेको देखियो पर धेरै परबाट । हाम्रो सहयोगी मातेलाको गाउँ आयो । उसलाई गाइडले दुई वर्षदेखि यस्तै महिनौं हिँडिरहने काममा लगाएर जम्मा ३ पाउण्ड जति मात्र दिएकोले ज्यादै दुःखी भएको रहेछ । ठेकेदार या साहु त्यो जमानाका पनि ठग नै हुने रहेछन् । भाटे कारवाही गर्न नपुगेको ।

याहुस्थित सानो मंगोलको क्याम्पमा हल्का खेती गरेको पनि देखियो । करिब दुई महिना लगातार मरुभूमिको हिँडाइपछि उला खुतुन पुग्यौं । मरुभूमिका भेंडा ओभिस अर्गालीका सिङहरू देखिए । विशाल खच्चर जत्रै हुने रहेछन् । तेरो देशभन्दा करिब आठ गुणा ठूलो छ गोवी । लम्बाइ चौडाइ पनि त्यस्तै । उकाली ओराली, भञ्ज्याङ अनि चौतारी भएको बाटो हो र त्यहाँको ? तेरा बाजे सन्मान सिंह थापा खानचोक भञ्ज्याङ, हाँसेको पसल, भ¥याङभुरुङ, सामरी, बरबण्डेको थाप्लो भएर नेपाल, गोरखा हिँडेजस्तो हो र ? छिङघाईको चिलियान हुँदै पहाड छिचोलेर गोवीको एक छेउमै रहेको गान्सु प्रान्तको मिन्ल शहर पुगेको रहेछस् त तँ पनि । हो, अहिले त्यही मिन्ल भएर, हमी हुँदै, उरुम्ची तेज रेल नै जान्छ रे । हवाइजहाजको त झन् कुरै भएन ।

जुलाई लाग्यो । अब हामी मंगोलबाट तुर्की भूमिमा पुगेका थियौं । चिङचेंग पुगियो । गहुँ खेती देख्यौं । केही सिपाही भेटिए । तर नेपालकै जस्ता दुई पैसाको तमिज नभएका, चढेका रहेछन्, बन्दुके । हमी त अझै टाढै छ भनेर तर्साए, महिनौं हिँडेर अत्यासिएको एक्लो परदेशीलाई । मलाई तिनको पारा देखेर कन्पारा तातेर आयो त्यही झोंकमा अब हमी नआउञ्जेल मेरो पाल नटाँग्नु भनें अनि हामी हिँडेको हिंड्यै ग¥यौं, कम्मर कसेर । यसरी तातेर हिँडेको परिणाम के भयो थाहा छ ? गोवीको यात्रा सकियो । जुलाई ४ तारिख १८८७ का दिन हमी पुगियो । लामो सुृस्केरा हालें । कति रमायो होला मन एउटा मानव बस्तीमा मरुभूमिको लामो यात्रा तय गरेर पाइला टेक्दा । तँलाई बाँसपानीको उकालो कटेर तल गुटु भेटेजस्तै । छिवाचेनबाट शुरु भएको गोवी मरुभूमिको यात्रामा २०१९ किलोमिटर हिँडिएछ र ७० दिनमा बल्ल आइपुगियो र पहिलो बास । पेकिङ, अझ मञ्चुरियाको हिंडाइ जोड्ने हो भने त अझ कति दिन भयो भयो । यसरी अत्यासैलाग्दो यात्रा गरेर हमी आइपुगें, माथिल्लो मुस्ताङगको घमी भनेहुन्छ हमीलाई करिब । त्यो बेलाको हमी मंगोलिया, चीन, पूर्वी तुर्किस्तान र सारा पश्चिमतिर व्यापार व्यवसाय गर्ने जंक्सन, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङतिरको लागि त्यो बेलाको सेतीदोभान जस्तै ।

मैले हमी आउनासाथ कर्णेल बेलको बारेमा सोधपुछ गरें । दुवै अलग–अलग बाटो, स्थानीय गाइडको भरमा महिनौं हिंड्नु छ । घाइते, बिमारी भए के गर्ने भन्ने पनि केही छैन । तर पनि न सञ्चार, न केही– यति दिनपछि यहाँ भेट्ने है भन्ने कत्रो विश्वास बेलायतीको ? कर्णेल बेल हामीभन्दा लगभग तीन हप्ताअघि नै आएको जानकारी पाएँ । हुन त उनी लडाइँमा मात्रै हैन हिँड्नै कहलिएका फौजी हुन् । मजस्तै लप्टन हुँदा नै पहिलो ‘अशान्ति साम्राज्य र अहिलेको घाना अपरेशनमा’ लडेर भिक्टोरिया क्रस पाएका बहादुर कर्णेल बेल । तिम्रोमा तक्मा कामले, या लडाइँले नै पाउँछन् कि नेता अनि हाकिमलाई रिझाएर त्यसै थाप्छन् हात पसारेर ? त्यस्तो तक्मा त लाउन पनि लाज हुन्छ ।

अब कसगार पुग्न कति लाग्छ भनेर सोधें । ७० दिन लाग्ने बताए । अहो ? फेरि उत्तिकै । कसगार पुग्न त त्यति लाग्छ भने काश्मिरै निस्कन त कति लाग्ने होला ? हमी त्यो बेला सानो शहर रहेछ करीव छ हजार बासिन्दाको । यहाँ चिनियाँ, मंगोल, कालमाक, तुर्कीलगायत समुदाय भेटिने रहेछन् । रसियन व्यापारी पनि भेटिए । भोलिपल्ट रसियनहरूलाई खान बोलाएँ । मैले सम्राट जारको लागि र रसियनले बेलायती महारानीको नाममा चियर्स ग¥यौं । सत्तरी दिन लगातार हिँडेको जीउ थाकेकाले हमीमा चार दिन बस्यौं । तीन वर्षपछि जुन बेला म कासगार थिएँ, तिनै दुई रसियन व्यापारीलाई चिनियाँले पक्रेर नराम्रो दुःख दिएछन् । अब पुग्नु थियो कासगार, चिनियाँ सहयोगीले उपाय निकाले चालिसै दिनमा पुग्ने गरी ।

तियानसान हिमाल दायाँतिर देखियो पर । गोवी मरुस्थल त छाडिएको थियो, फेरि त्यसैसँग जोडिएको ताक्लमकान मरुभूमि आयो । बाटोमा रहेका गाउँ तापुमा, सानपु, उरपु र सान्तोलिन्जु हुँदै हिँडेर । १७ जुलाईमा तुरफान पुगियो । हामी पुग्दा ओरोस् ओरोस् भनेर गुन्गुन गरे मान्छेहरूले । वास्तवमा मलाई रसियन ठानेछन् । रसियनप्रति शंकालु रहेछन् भन्ने ठम्याएँ । सायद तिनलाई अनेक दुःख दिएको हुनुपर्छ पहिला । म त अंग्रेज हुँ भनेँ । त्यहाँ हिन्दी जानेको अफगानी भेटिँदा ज्यादै खुशी लाग्यो । अर्का व्यापारी साउदीमा हज गरेर आइसकेका रहेछन् । भारत, अफगानिस्तान, पर्सिया, तुर्की पूरै घुमेका । तुर्फान त चिनियाँ र तुर्कीहरूको शहर रहेछ । यतातिर जहाँ पनि हानहरू कि मंगोल, कि किर्गिज कि तुर्कीहरूसँग मिसिएका रहेछन् । चिनियाँ साम्राज्यको नीति पनि हुन सक्छ । कहाँको पेकिंङ, कहाँको सुदूरपश्चिम तुर्किस्ताने । त्यति सहज त छैन पैदलै ती स्थानमा नियन्त्रण कायम गरिराख्न चिनियाँहरूलाई पनि । सैनिककै भरमा गरेका होलान् छिङ्हरूले हैकम । दृढसंकल्पित शासक र देशका लागि मरिहत्ते गर्ने सैनिककै बलमा निर्माण भएका हुन् ठूला या साना देशहरू इतिहासमा ।

हामी सुचोउ पुग्यौं । एकजनाले कर्णेल बेललाई केही दिनअघि देखेको बताए । एउटा फुच्चे सबल्टर्नलाई कुनै खोज खबर नगरी कति छिटो लम्केका होलान् हाम्रा कर्णेल जस्तो लाग्यो । आमा क्लारा अनि बाबु जोनको सम्झना आएन होला त मलाई ? छोरोको महिनौँ दिनसम्म कुनै आइनो काइनो नहुँदा आमा कति आत्तिइन् होला है बेलायतमा ? तर अझै अपरिचित भूमिमा हिँडिरहेको छ तिनको छोरो प्रmान्सिस । अहिले जस्तो बाटबाटैबाट यहाँ पुगें भनेर जानकारी दिन सकिने कुनै उपायै थिएन । जाबो फोटो खिच्ने क्यामेरा विकास नभएरै त होला मेरो झोलामा थिएन नि त्यो बेला । अहिलेको जस्तो आइफोन, स्यामसुङ, नोकिया, हुवावेइ भएको भए मैले बाटोका हजारौं हजार परिदृश्यका फोटा कति खिच्ने थिएँ होला ? कासगार पुगियो । त्यहाँ तुङगानिस समुदायका मानिस भेटिए, उनी पनि पवित्र मक्का हज गरे फर्केका । कति दिन लाग्यो होला मक्का पुगेर फर्कन ? कोर्लिया गाउँ आयो । खेतीपाती प्रशस्त गर्ने स्थान, मलिलो तेरो देशको पाँचखाल, धुनीबेशी जस्तै ।

बुयुर गाउँको ब्यारेकमा तीन सय जति सिपाही भेटिए, तिनीहरू गाउँ फर्कंदै रहेछन् सायद तँ तिरको रोल्पाको पाखापानी, रुकुमको आठवीसकोट या जाजरकोटको दल्ली गएर आएजस्ता । मलाई मेरो ल्युसानले सचेत गरायो चनाखो हुनु सिपाहीसँग भनेर । किनकि ती सिपाहीले लुट्ने रहेछन् फेला पार्नासाथ जहाँ पनि । कस्ता बदमास मोराहरू ! तेरोमा कोही सत्य सेवा भन्दै लुट्छन् र कोही त्यसउपर अझ प्रतिबद्धता थप्दै या जप्दै, सीमा रक्षक बनेर असुल्छन् रे हो ? माओवादी लडाइँमा खशी लुटे, कुखुरा लुटे, टिओ गर्दिन्छु भन्दै गलाको सिक्री लुटे, घिउको ठेकी घुट्क्याउँदा नपुगेर अस्मिता पनि लुटे रे भन्ने सुनें के हो ? झन् अर्को गोरिल्ला हो कि गुरिल्लाको त के बयान गर्नु ? यही पूर्वी तुर्किस्तानको बुयुरमा तालिम लिएका होलान् कि के हो तिनका पुर्खाले ? हैन भने बुद्धको देशका सिपाही त झन् संसारमै शुद्ध हुनुपर्ने हो नि, हैन त कान्छा ? धन्न म लुट्नबाट जोगिएँ यहाँ । म पनि फौजी अफिसर हुँ भनेको भए, बुझेको भए सलाम् गर्दा हुन् यी घामटले पनि । तर, म आफ्नो गोप्य परिचयमा हिँडिरहेको थिएँ रुस र मञ्चुरियाको पूर्वी सीमादेखि यहाँसम्म । तेरो देशको झिंझाको पहिलाका डाँकाले जस्तै नांगेझार पारिदिएको भए मलाई जैसियान गुवाग्सु सम्राटका सेनाले ? रिभोल्बर त थियो तर त्यसको गोलीले कति पुग्नु ? धन्न केही भएन ।

टिप्पणीहरू