मेक्सिकोका मेयरको गोहीसँग बिहे

मेक्सिकोका मेयरको गोहीसँग बिहे

मेक्सिकोमा सबैलाई चकित पार्ने विवाह समारोह भएको छ । सानपेड्रो हुआमेलुलाका मेयर गोहीसँग विवाह बन्धनमा बाँधिएका छन् । मेयर ह्युगो सोसाले गत बिहीबार गोहीसँग विवाह गरेका हुन् । गोहीलाई दुलहीको रुपमा सिँगारेर भव्य समारोहको आयोजना गरिएको थियो ।

विवाहमा नेतालगायत थुप्रै प्रतिष्ठित व्यक्ति सहभागी थिए । उनीहरुले आग्रह गरेपछि मेयर सोसाले विवाहमा सबैको सामु गोहीलाई चुम्बन गरेका थिए । गोहीको टोकाइबाट बच्न मुख बन्द गरिएको थियो । सेतो रङको कपडा लगाएकी सात वर्षीया गोहीलाई मेक्सिकोमा सानो राजकुमारी भनिन्छ ।
यसलाई मातृपृथ्वीको प्रतिनिधित्व गर्ने देवताको रुपमा पनि चिनिन्छ । साथै,मेयर र सरीसृपबीचको विवाहलाई प्रकृतिको उपहारको रुपमा लिइएको छ । यो ईश्वरसँग मानवको सम्बन्ध जोड्ने प्रतिक भएको उनीहरुको विश्वास छ । विवाह समारोह निकै धुमधामका साथ सम्पन्न भएको थियो ।

स्थानीयले गोहीलाई काखमा लिएर गाउँको सडक घुमाएका थिए । ‘यसले मलाई धेरै खुशी दिएको छ र मलाई यो कार्यप्रति गर्व पनि लागेको छ,’ विवाह समारोहको आयोजना गरेकी एलिया एडिथ अगुइलरले भनिन् । उक्त विवाहलाई प्रकृति र जीवजन्तु संरक्षणमा कोशेढुंगा मानिएको छ ।

स्रोतः रोयटर्स

टिप्पणीहरू