प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभयो प्रचण्ड

प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभयो प्रचण्ड

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साँझ बालुवाटार पुग्नुभएको छ । उहाँ झण्डै सवा ६ बजेको हाराहारीमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिर्नुभएको हो ।

अपरान्ह सिंहदरबारमा बसेको क्याबिनेट बैठकपछि प्रधानमन्त्रीले बालुवाटार पुगेलगत्तै प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । झण्डै डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

पछिल्लो केही दिनदेखि बिहान सबेरै अर्थमन्त्री जनार्दन शर्माको खुमलटार धाएको अवस्था,अर्थमन्त्रालय र मन्त्रीले बजेट तयारीको सिलसिलामा असम्बन्धित व्यक्तिलाई जेठ १४ गते राति मन्त्रालयमा लगिएको विषयमा भइरहेको विरोधका कारण प्रधानमन्त्री निकै दबाबमा पर्नुभएको हो ।

संसदमा विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको शर्माको चर्को विरोध र नागरिक समाजको लगातारको असन्तुष्टिले पनि अर्थमन्त्रीको बहिर्गमनको कुरो अघि बढेको बताइन्छ । यसबीचमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गरेको मन्त्री हेरफेरलाई समेत ध्यानमा राखेर प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू