विरोधी खोज्दै, एक एकलाई बालकोटमा बोलाउँदै

विरोधी खोज्दै, एक एकलाई बालकोटमा बोलाउँदै

विरोधीलाई देखिनसहने, बोल्न त के हेर्न पनि नरुचाउने केपी ओली अहिले कुन ठाउँमा पुग्नुभएको छ भने आफूविरुद्ध अन्तर्वार्ता दिनेलाई समेत बोलाई–बोलाई, भेटेर फकाउने ।

‘तपाईं मेराविरुद्ध किन लाग्नुपरेको ?’ केपी ओलीको प्रश्न थियो, कीर्तिपुरका युवा नेता सुरेन्द्र मानन्धरलाई । जनआस्थासहितका विभिन्न अन्तर्वार्तामा ओलीका कारण एमाले सत्यानाशको बाटोतर्फ गएको ठहर गर्दै सुरेन्द्रले अब पनि उहाँ नसच्चिए पार्टी पतनतर्फ जाने निश्चित भएको भन्ने गरेका छन् । यसपछि सीधै ओलीले फोन गरेर अघिल्लो हप्ता सुरेन्द्रलाई बालकोट बोलाउनुभयो । उनी गए ।

‘म तपाईंविरुद्ध लागेको भन्दा पनि तपाईंचाहिँ किन मेरो विरुद्ध लाग्नुपरेको ?’ सुरेन्द्रले ओलीबाट जस्तो झटारो आयो, त्यस्तै प्रश्न सोधे । ओलीले ‘छैन–छैन, किन तपाईंविरुद्ध लाग्नु’ भन्दै टार्नुभयो । काठमाडौंमा संगठन बिग्रियो, बनाउनुप¥यो भन्ने ओलीको सरोकार थियो । सुरेन्द्रले भने– तपाईंलाई त्यत्रो चिन्ता लागेको भए मलाई जिम्मेवारी दिनुस्, पोलिट्ब्युरो सदस्य बनाउनुस्, काठमाडौंको इञ्चार्ज बनाउनुस्, म गर्छु ।’

ओली ‘काम गर्नलाई किन पद चाहियो’ भन्दै हुनुहुन्थ्यो, कुरा सकिन नपाउँदै सुरेन्द्रले भने, ‘कुन भूमिकामा काम गर्ने ? कुन हैसियतमा काम गर्ने ?’ काठमाडौंमा पार्टीलाई परेको अप्ठेरोबारे ओलीले सुरेन्द्रसँग भन्नुभयो, ‘कुन क्षेत्रमा कसलाई उठाउने ? मान्छे छैनन् । तपाईं त क्षेत्र नं. १० मा निश्चित हो नि !’ तर, सुरेन्द्रले ‘म उम्मेदवार हैन’ भन्दै कुरा राखे, ‘पार्टीको साधारण सदस्य कसरी उम्मेदवार हुन्छ ? यदि म हो भने जिम्मेवारी दिनुप¥यो, बोलेरमात्रै हुन्छ ?’

उता, ‘घनश्यामको भेला’ भनिने हालै काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कम्युनिष्ट युवाहरुको भेलामा अहिले युवा नेतृत्वलाई अगाडि सार्नेमा एमालेभन्दा कांग्रेस प्रगतिशील देखिएको चर्चा भयो । देशका विभिन्न भागबाट भेलामा सहभागीहरु भन्दै थिए, ‘कांग्रेसमा गगन र विश्वप्रकाश फरक फरक गुटबाट चुनावमा उठेर जिते । तर, एमालेमा आन्तरिक लोकतन्त्र खत्तम भएको कुरा कसैले उठाएको छैन ।’

त्यहाँ रामेछापबाट आनन्द श्रेष्ठ आइपुगेका थिए । उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा जब घनश्याम बिनाविभागीय मन्त्री थिए, उनका पिए । पछि जिल्ला फर्किएर काम गर्ने क्रममा ओलीतिर लागे । यसचोटिको स्थानीय निर्वाचनमा मन्थली नगरपालिकाको मेयरका दावेदार थिए ।

तर, पहिला घनश्यामको मान्छे भएकै नाममा टिकट नपाएपछि घनश्यामको भेलामा आइपुगेका हुन् । खोटाङबाट पिके राई, ताप्लेजुङका पासाङ शेर्पा पनि ओलीपक्षीय थिए । उनीहरुले पनि घनश्यामको भेलामा पुगेर ओलीको आलोचना गरे, ‘२५ अर्ब, ४१ करोड ९६ लाख बजेट भएको काठमाडौं महानगरपालिकाको चुनाव हारेको छ । ३१ करोड ३७ लाख, ७४ हजार मात्र बजेट भएको मनाङको चामे गाउँपालिका जितेर खुशी हुनुको के अर्थ भयो र ?’

टिप्पणीहरू