काठमाडौंको सुरक्षा जिम्मा संघीय प्रहरीलाई : गृहमन्त्री

काठमाडौंको सुरक्षा जिम्मा संघीय प्रहरीलाई : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गरिएको बताउनुभएको छ ।

आज संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले उक्त कुरा बताउनुभएको हो ।

उहाँले सो विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर संघीय प्रहरीलाई दिने कुनै उद्देश्य नराखेको स्पष्ट पार्नुभयो । राजधानीमा दैनिक सुरक्षा संवेदनशीलताका घटना बढेको उल्लेख गर्दै गृहमन्त्री खाँणले यस्ता घटनामा नागरिकको सुरक्षाका लागि पनि प्रहरी परिचालन बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जुन विधेयक ल्याएको छ । यो राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । यसमा प्रदेश प्रहरीको अधिकार कटौती गर्ने कुनै मनसुवा छैन । काठमाडौं, ललितपुर र भक्तपुरलाई काठमाडौं उपत्यका भन्ने जुन प्रचलन छ, त्यसको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको मात्र हो ।‘

टिप्पणीहरू