प्रचण्ड पदाधिकारी छनोटको आन्तरिक तयारीमा

प्रचण्ड पदाधिकारी छनोटको आन्तरिक तयारीमा

आज सकिने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एकाएक स्थगित भएको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीको आन्तरिक पक्षलाई बलियो बनाउन पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयन गरेर जान अध्यक्षलाई दबाब दिएका छन् ।

गत पुसमा सम्पन्न आठौँ महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष मात्रै घोषणा गरेको थियो । महाधिवेशन सकिएको छ महिना बितिसक्दा पनि अन्य पदाधिकारी चयन गर्न नसकेको पार्टीले आकांक्षी धेरै भएको र स्थानीय चुनावको तयारी देखाउँदै उक्त विषयलाई पछाडि धकेल्दै र आलटाल गर्दै आएको थियो । हाल जारी केन्द्रीय समितिको बैठक तेस्रो हो । यसअघिका दुई वटा बैठकमा चुनावी तयारी भन्दै उम्मेदवारी छनौटलाई मुख्य विषय बनाएको थियो ।

स्थानीय तहको निर्वाचनपछि बसेको यस पटकको बैठकमा पार्टीको आन्तरिक संरचनालाई पूर्णता दिन भन्दै नेतृत्वलाई दबाब परेको छ । केन्द्रीय सदस्यहरूको चर्को दबाबलाई थेग्न नसकेपछि प्रचण्ड पदाधिकारी चयनको आन्तरिक तयारीमा लाग्नु भएको स्रोतले बताएको छ ।

उहाँ आज बिहानैदेखि पूर्वस्थायी कमिटी र कार्यालयको बैठकमा व्यस्त हुनुभएको हो । स्थायी समिति र पोलिटब्युरो मात्रै यस पटकको बैठकबाट चयन गर्ने र पदाधिकारीको विषय आसन्न संघीय र प्रदेश निर्वाचनसम्म धकेल्ने योजना नेतृत्वको रहेको बताइन्छ । तर दबाब परेपछि चालु बैठकमा टुङ्गो लगाउने गरी प्रचण्ड गृहकार्यमा लाग्नु भएको हो।

महासचिवको दौडमा आफ्ना नजिकका विश्वासपात्र जनार्दन शर्मा र वर्षमान पुन दौडिँदा प्रचण्डलाई अप्ठ्यारो परेको हो । सोही कारण पनि अन्य विषयलाई तत्काल हल गरेर पदाधिकारी चयनको विषय आगामी चुनावसम्म धकेल्ने प्रचण्डले योजना बनाउनुभएको नेतृत्व पंक्तिको दाबी छ । तर केन्द्रीय समितिको बैठकमा यस विषयमा चर्को दबाब परेपछि नेतृत्व आन्तरिक छलफलमा जुट्न बाध्य भएको बुझ्न सकिन्छ ।

टिप्पणीहरू