थप दुई बालकमा हैजा पुष्टि

थप दुई बालकमा हैजा पुष्टि

राजधानीमा थप दुई जनामा हैजा पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका दुई बालकमा हैजा देखिएको हो ।

नगरपालिका–६ का ४ र ६ वर्षीय बालकमा हैजा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो । योसँगै उपत्यकामा हैजाका बिरामीको संख्या १९ पुगेको छ ।

निर्देशक डा. दासकाअनुसार बागबजार, डिल्लीबजार, बल्खु, कपन, सानेपा, बालाजु, थानकोट, कालिमाटी र बोहोराटारलगायतका क्षेत्रमा हैजा देखिएको छ । हैजाको प्रकोप बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरेको छ ।

खाना बनाउनुअघि वा पछि, दिसापिसाब गरेपछि वा फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । त्यस्तै, खानेपानीलाई सँधै सफा भाँडाले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ ।

टिप्पणीहरू