जमलमा माधव नेपालको रिपोर्टिङ,बानेश्वरमा महेश बस्नेतको वचन

जमलमा माधव नेपालको रिपोर्टिङ,बानेश्वरमा महेश बस्नेतको वचन

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज राजधानीको जमलस्थित निर्वाचन आयोग भवन पारिपट्टी यल्लो पगोडा होटेलमा बस्यो । कान्तिपथको उक्त होटेलमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले यसबीच भएका पार्टी गतिविधिवारे रिपोर्टिङ गर्नुभएको हो ।

सत्तारुढ गठबन्धनवीचको आपसी सम्बन्ध,सरकारको कामलगायत वर्तमान राजनीतिक परिस्थितिबारे अध्यक्ष नेपालले १२ सदस्यीय सचिवालयलाई जानकारी गराउनुभएको हो । रिपोर्टिङमा मुख्य गरेर सत्तारुढ गठबन्धनको सट्टा आगामी निर्वाचनमा वाम गठबन्धनको निर्माण गरेर अघि बढ्नेबारे भइरहेका गतिविधिबारे पनि उहाँले यथार्थ विवरण राख्नुभएको थियो ।

विभिन्न साना वामपन्थी दलहरुबाट आएका बृहत वामगठबन्धन कायम राखेर अघि बढ्ने प्रस्तावबारे जानकारी गराउँदै अध्यक्ष नेपालले भन्नुभयो,‘उक्त विषयमा सल्लाह र छलफल गरौं, अहिलेको गठबन्धनलाई पनि कायम राख्दै अघि बढौं ।’ सुन्दा र देख्दा निकै राम्रो लाग्ने वाममोर्चाको विषयलाई पछिल्ला केही वर्षका गतिविधि,नेकपाको निर्माणपछि उत्पन्न परिस्थितिसँग दाँजेर हेर्नुपर्ने उहाँको भनाइ थियो ।यता केही दिनअघि एकीकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग एमाले नेता महेश बस्नेतले भेट गरेका छन् । प्रदेश सरकारलाई आधा कार्यकालमा भाग लगाउनुपर्ने नेपाली काँग्रेस वागमती प्रदेशका नेताहरुको लिखित सहमति बाहिर आएको सन्दर्भमा भएको उक्त भेटलाई अर्थपूर्ण मानिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका निकै विश्वासपात्र बस्नेतले मुख्यमन्त्री पाण्डेसँग गरेको लामो छलफलको निश्कर्ष सुनाउँदै भनेका थिए,‘काँग्रेस र माओवादीले मुख्यमन्त्रीबाट हट्नुपर्यो भने पनि तपाईं नआत्तिनुस् दाजु । आवश्यकता पर्यो भने हामी काँध हाल्छौं ।’

टिप्पणीहरू