नेपाल सुन्दरीहरुले क्रमशः छाडे नेपाल

नेपाल सुन्दरीहरुले क्रमशः छाडे नेपाल

झिलिक्क उदाएर क्षणभरमै गुमनाम बन्ने रोग रंगीन संसारबाट साहित्यको दुनियाँतिर पनि सरेको हो ? जसरी नेपाललाई विश्वभर चिनाउने वाचासहित सुन्दरीको ताज पहिरिएकामध्ये अधिकांश गुमनाम छन् ठीक उसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा उपाधि जितेर चम्किएका अधिकांश कवि किन अहिले ओझेल परेका होलान् ?

नेपालमा सुन्दरी प्रतियोगिता शुरु भएको २८ वर्ष लागिसकेको छ । जसमध्ये अधिकांश नेपाल सुन्दरी झिलिक्क उदाएर क्षणभरमै हराएका छन् । केही मात्र रंगीन दुनियाँमा संघर्ष गरिरहेका देखिन्छन् । ०५१ सालकी मिस नेपाल रुबी राणा कुपण्डोलमा ‘रुबीज कलेक्सन’ चलाएर बसेकी छन् । उनी पछिकी सुमी खड्का एयरहोस्टेसको जागिर खान पुगिन् । ०५३ सालमा मिस नेपालको ताज पहिरिएकी पुनम घिमिरे अमेरिकातिर छिन् । पुनमकै बाटो पछ्याइन् पोखराकी निलिमा गुरुङले ।

०५४ सालमा नेपाल सुन्दरीको ताज पहिरिएकी झरना प्रेममा झेल्नुपरेको असफलताका कारण अरु पूर्व मिस नेपालझैं विदेशतिरै अल्झिरहेकी छन् । मनोविज्ञानमा स्नातकोत्तर गरेकी श्वेता सिंहले आइपिडी नामक संस्था चलाएकी छिन् । त्यहाँ पूर्व मिस नेपाल प्रीति सिटौलासमेत जोडिन पुगिन् । ०५७ सालमा नेपाल सुन्दरी बनेकी उषा खड्गी फेसन डिजाइनरको रूपमा सक्रिय छिन् । माल्भिका सुब्बा टेलिभिजनतिर जमेकी छन् । ०६१ की मिस नेपाल पायल शाक्य केही समय गैंडा संरक्षण अभियानमा सक्रिय भएर विवाह गरिवरी अष्ट्रेलियातिर लागिसकिन् ।

सुगरिका केसी आरजेको रूपमा जमिन् । सिताष्मा चन्द मिस नेपाल बनेपछि अस्ट्रेलियालीसँग विवाह गरेर उतै हराइन् । ०६६ सालकी मिस नेपाल जेनिशा मोक्तान दीपक मल्होत्रा पुत्र दिकेशसँग लगनगाँठो कसेपछि अहिले व्यापारिक संसारमा मग्न छिन् । सदीक्षा श्रेष्ठ केही वर्ष विज्ञापनमा देखिइन् । ०६८ को मिस नेपाल मलिना जोशी केही सिनेमामा देखिइन् । अहिले रंगीन दुनियाँभन्दा पर छिन् । ०६९ को नेपाल सुन्दरी सृृष्टि श्रेष्ठले केही सिनेमामा काम गरिन् तर अधिकांश सिनेमा चलेन र आफैं पनि रंगीन दुनियाँबाट हराइन् ।

०७० की नेपाल सुन्दरी इशानी श्रेष्ठ दन्तरोग विशेषज्ञ हुन् । इभाना मानन्धरले आफ्नै पिताको कन्स्ट्रक्सनमा बजार प्रवद्र्धनको काम सघाउन थालिन् । सुबिन लिम्बू, अश्मी गुमनाम छन् । ०७४ की मिस नेपाल निकिता चण्डकले रानीमहल, साङ्लो चलचित्रमा काम गरिन् । आइतबारदेखि मन्त्रीबाट हटेका विरोध खतिवडाकी पुत्री श्रृंखला फाट्टफुट्ट सामाजिक काममा देखिन्छिन् । गत वर्ष मिस नेपाल बनेकी नम्रता श्रेष्ठ र हालै मिस नेपालको ताज पहिरिएकी प्रिंयका रानी जोशी चाहिँ यो रंगीन दुनियाँको चमकधमकमा कतिन्जेल टिक्छन् वा पूर्व मिस नेपालझैं हराउँछन् हेर्न बाँकी छ ।

उता, ९ असारमा कमलादीस्थित नेपाल एकेडेमीमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीकी टीका आत्रेयले पहिलो उपाधि हात पारिन् । यता पनि उस्तै हाल छ । कुनै समय नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वितरण हुने प्रज्ञा पुरस्कारको गरिमा बेग्लै थियो । भैरव अर्याल, गोविन्द भट्ट, श्यामदास वैष्णव, कालिप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, गणेश रसिकजस्ता हस्तीहरूले हात पारेको यो उपाधिको गरिमा र महत्व कतिसम्म थियो भने, ०३१ सालको राष्ट्रिय कविता महोत्सवमा प्रथम उपाधि जितेका घटराज भट्टराईले प्राप्त रकमबाट घर जोडे ।

तर अहिले प्रज्ञाले पुरस्कारलाई समयअनुुकूल बनाउन नसकेको यसअघि पुरस्कृत भइसकेका कविहरू गुनासो गर्दछन् । ०६७ सालभन्दा अघिसम्म प्रज्ञाले वितरण गर्न पुरस्कारले गरिमा राखेको भए पनि त्यस यता पुरस्कारको गरिमा घट्दै गएको बताइन्छ । जस्तो ०६७ सालमा लीला अनमोल प्रथम भए । ०६८ मा प्रथम बनाइएका रिता खत्रीभन्दा हेम प्रभास र बाबु त्रिपाठी, रावतहरू साहित्यको क्षेत्रमा सक्रिय छन् ।

०६९ मा प्रथम भएका ठाकुर बेल्बासेले पुरस्कारको गरिमा जोगाइराखेका छन् । बेल्बासेकै पालामा तृतीय भएकी कवि मणिराज सिंह (०७३ मा प्रथम बनाइएका)को दुव्र्यवहारको कारण अहिले मानसिक रोगको औषधि खानुपर्ने स्थितिमा पुगेकी छन् । ०७० मा प्रथम बनाइएका चक्रकुमार सुवेदी गुमनाम हुँदा बाबु त्रिपाठी (द्वितीय) साहित्य श्रृजनामै सक्रिय छन् ।

०७१ मा प्रथम भएका एकल यात्रीभन्दा दोस्रो भएका चेतनाथ धमलाहरू, ०७३ सालमा प्रथम भएका र बदनामीमा मुछिएका मणिराज सिंहभन्दा पुरु लम्सालहरू साहित्यको बजारमा रमाइरहेका छन् । ०७५ मा फुलमान वन,०७६ सालमा हेम प्रभास,०७७ सालमा भैरवी भूगोल प्रथम भएको कविता महोत्सवबाट गत वर्ष कविता राईले उपाधि जित्दा यसपटक टीका आत्रेयले यो स्थान सुरक्षित गरेकी छन् ।

प्रज्ञाले पुरस्कार दिँदा कम्तीमा क्षणमै आएर हराउने व्यक्तिलाई भन्दा केही समय यही क्षेत्रमा साधना गरेको र साहित्यकै नशा भएको व्यक्तिलाई पुरस्कृत गर्न सके क्षणमै आएर क्षणमै हराउने स्थिति रोकिने कवि ठाकुर बेल्बासे बताउँछन् । प्रज्ञाले वितरण गर्ने पुरस्कार कर्मकाण्डी र समय अनुकूल नभएको कारण यसमा करेक्सन हुनुपर्ने बेल्बासे टिप्पणी गर्छन् ।

टिप्पणीहरू