मजस्तै कति नेपाली चेलीलाई बिगार्यो यो भारतीय मनुवाले ?

मजस्तै कति नेपाली चेलीलाई बिगार्यो यो भारतीय मनुवाले ?

माता जागेर गुजारा चल्थ्यो । थुप्रै मानिसका भाग्य र भविष्य भनेँ । तर, एकदिन आफ्नै भाग्य र भविष्य लुट्न कोही भारतीय नागरिक आइलाग्यो । यतिबेला म ती भारतीय, न्याय दिन्छन् भनिएका प्रहरी र प्रशासनसमेतबाट ठगिएकी छु ।

एकल महिला हुँ । काठमाडौं महानगरपालिका–१९, यट्खा, दमाईंटोलमा छ माइती । पतिसँग धेरै वर्षदेखि अलग छु । १७ वर्षीया छोरीको हुर्काउँदै म ललितपुरको कुपण्डोलमा सानोतिनो बुटिक चलाउँथेँ ।

०७२ सालको भूकम्पले बुटिक भएको घर भत्कियो । यसपछि माता जगाएर अरुका विगत, वर्तमान र भविष्य हेर्ने काम मात्र गरेँ । फुर्सदमा अरुको घरमा काम गरेर केही पैसा कमाउँथेँ ।

माता हेराउने सिलसिलामा एकदिन बिनिता कौशल नामक भारतीय युवती आइन् र बुबाको दिन बिग्रेर दुःख पाएको बताइन् । मैले लिएर आऊ, हेरिदिन्छु भनेँ । उनका बुबा थिए, भारत, पन्जाबस्थित बटालाका ६६ वर्षीय विजय भूषण कौशल ।

पत्नीसँग सम्बन्धविच्छेद भएका र व्यापार–व्यवसायमा डुबेका । हेर्दा उनको घरायसी समस्या देखियो । इमान्दारीसाथ केही गरे राम्रो हुने योग पाइयो । हामी माताले त आएको कुरा भन्ने मात्रै हो । मैले पनि त्यही गरेँ ।

यसपछि छोरी विनितासँग हैन, बुबा विजयसँगै पटक–पटक भेट हुन थाल्यो । उनलाई नेपालमा पुल निर्माणका लागि आवश्यक सामान सप्लाई गर्ने कम्पनी खोल्नुपरेको थियोे । त्यसका लागि विश्वासिलो व्यावसायिक साझेदार चाहियो । उनी भारतीय नागरिक भएकाले व्यापारिक फर्म खोल्न अनेक झन्झट हुन्थ्यो । त्यसैले मेरो नाममा खोल्न चाहन्थे । मलाई यस्तो काममा लाग्ने कुनै इच्छा थिएन तर उनले जीवनभर हरेक सुख–दुःखमा साथ दिन्छु भने । धेरैपटक भनेपछि सोच्न बाध्य भएँ ।

पतिबिनाको जीवन कष्टकर थियोे । छोरी हुर्किसकेकी थिइन् । जीवनमा कोही सहारा दिन्छु भन्दै आएपछि के गर्ने ? धेरैबेर यो प्रश्नले चिमोटिरह्यो । यसपछि निर्णयमा पुगें, कुनै किसिमबाट उसलाई परीक्षण गर्ने ।

०७२ सालको असारदेखि ऊ मसँग नजिकिन खोजेको हो । माघमा सिद्धार्थ बैंकको खाताबाट ९० हजार ट्रान्सफर गरिदियो । भारत लग्यो । आधार कार्ड बनाइदियो । अनि आफ्नो मनले भन्यो, ‘अब पनि किन शंका गर्नु ?’

पत्नीसँग डिभोर्स भएको पेपर देखाएपछि नपत्याउनु कसरी ? यसप्रकार म ऊसँग विश्वस्त भएँ । ०७५ असोज ९ गते मेरो नाममा एसियाटिक इन्टरनेशनल नाम राखेर व्यापारिक फर्म खुल्यो । मैले आफ्नो सुन धितो राखेर उसको २५–३० लाख रूपैयाँ ऋण तिरिदिएँ । शुरु–शुरुमा निकै माया गरेजस्तो ग¥यो । व्यापार पनि राम्रै चल्दै गयो । आर्थिक रूपमा उसको समस्या कम हुँदै गयो ।

त्यसपछि ऊ मसँग भन्दा बाहिर बढी रमाउन थाल्यो । विभिन्न महिलासँग सम्बन्ध राख्नु आदत रहेछ । दुःख पाएका, सम्बन्धविच्छेद भएका, पतिको निधन भएका महिलाको खोजी गर्नु धन्दा नै थियो । ०७७ सालमा सम्बन्धविच्छेद भएको भनिएकी पत्नी आइन् । यसपछि म छाँगाबाट खसेझैँ भएँ । किनभने, ती पत्नीसँग सम्बन्धविच्छेद भएको कागज नै मलाई देखाएको हो ।

किन त्यस्तो गरेको भनी सोधेँ । उसले मलाई देखाएको कागज ‘फेक डकुमेन्ट’ भनिदियो । अब लफडामा पर्नुभन्दा जे–जति रकम खर्च भएको छ, त्यो असुलउपर गरेर बाटो लाग्नु राम्रो हुने निर्णयमा पुगेँ । कोरोनाका कारण लकडाउनको समय थियो । खान, बस्न र बाँच्नै समस्या होलाजस्तो हुन थाल्यो ।

मानसिक रूपमा निकै समस्यामा परेँ । आफ्नो सुन धितो राखी–राखी उसको ऋण तिरिदिएको पैसा फिर्ता आउला भनेर ०७७ सालदेखि संघर्ष गर्दैछु तर पैसा आएन । फेरि म अर्काको घरमा काम गरेर कमाएको पैसाले छोरी हुर्काउने र आफू बाँच्ने कोसिसमा लागेँ ।

वैशाख ३० को स्थानीय चुनावमा नुवाकोट जिल्लाको विदुर नगरपालिका–१ बाट मेरो भाइ लेनिन रञ्जितले वडाध्यक्षमा जितेको थियो । उसलाई भेटेर सगुन खुवाउन एकजना साथीसँग त्रिशूली जाँदै थिएँ । बाटोमा पर्ने बट्टार बजारमा विजय भुषणलाई देखेँ । ऊ एकजना महिलासँग बसिरहेको थियो । मैले त्यही मौकामा आफ्नो लेनदेनको कुरा गरेँ । मलाई देखेपछि ऊ झस्कियो । एकछिन आत्तियो । आखिर मेरो भाइ भर्खर वडाध्यक्ष जितेको थियो ।

मलाई त्यति डर थिएन । भाइकै घरमा लगेर कुरा गरेँ । उसले मलाई दिनुपर्ने रकम बराबरको कुमारी बैंक, मैतीदेवी शाखाको चेक काटिदियो । ऊसँग त्यसबेला खल्तीमा ३० हजार रूपैयाँ रहेछ, त्यो पनि दियो । यसपछि लाग्यो कि, ढिलै भए पनि पैसा फिर्ता आउने भयो । भागेर हिँड्ने कारण उसको विश्वास गर्ने ठाउँ थिएन । मैले यही कुरा भनेपछि उसले आफ्नो भारतीय आधार कार्ड झिकेर दियो ।

नुवाकोटबाट काठमाडौं फर्किएपछि जावलाखेल प्रहरीबाट फोन आयो । ‘तपाईंले विजय भूषणलाई लुटपाट गर्नुभएको रहेछ, सामान फिर्ता गर्नुहुन्छ कि ल्याएर थुनिदिऊँ ?’ यस्तो कुरा सुनेर तनाव भयो । उसले विश्वासका लागि भनेर आफैँले दिएको आधार कार्ड मैले लुटेको भनेर प्रहरीमा भन्न भ्याएछ ।

भारतीय दूतावासबाट प्रहरीमा फोन गराएर दबाब दिएको रहेछ । उसले दिएको चेक साट्न बैंक गएँ । खातामा पैसा थिएन । मलाई चेक काटेर दिएको भोलिपल्टै चेकबुक हराएको भनेर निवेदन दिएको रहेछ । मैले टेकु प्रहरीमा चेक बाउन्स मुद्दा दिएकी छु ।

मैले आफ्नो जायजेथा धरौटी राखेर उसलाई ऋणबाट मुक्त गरिदिएँ । उसले जीवनभर साथ दिन्छु भन्यो । त्यसैले पतिझैँ केही समय माया गरेँ । तर, उसले मलाई आर्थिक र शारीरिक रूपमा पनि शोषण गरेको छ । न मेरो पैसा फिर्ता भयो, न मेरो मानसिक स्वास्थ्यमा सुधार हुन सकेको छ । उसलाई दण्डित गर्नका निम्ति अनेकन कानुनी व्यवस्था छ ।

तर, कुनै पनि व्यवस्थाले साथ दिएन । जब जब न्याय खोज्न जान्छु, तब तब ऊ पैसा र दूतावासको सहारामा शक्ति देखाउँदै अपमानित गर्न तम्सिन्छ । केही दिन भयो, जावलाखेल प्रहरीले मलाई फोन गरेको छैन । तर, फेरि पनि मलाई कतै न कतैबाट यातनापूर्ण फोन गराउँछ ।

ममात्रै हैन, मजस्ता अरु थुप्रै महिलाहरूको सोझोपन र इमान्दारीको फाइदा उठाउँदै आफ्नो शारीरिक सन्तुष्टि पूरा गर्दै छ । उसलाई अहिलेसम्म कानुनले दण्डित गर्न सकेको छैन । तर, समाजले दण्डित गर्नुपर्छ । त्यस्ता मानिसलाई समाजमा उभ्याएर दुत्कार्नुपर्ने हो । तर, मलाई साथ दिने कोही छैनन् ।

– विमला लक्ष्मी कपाली, कुपण्डोल, ललितपुर

टिप्पणीहरू