नक्कली बिहे, सक्कली मुद्दामामिला

नक्कली बिहे, सक्कली मुद्दामामिला

ललितपुरका उमेश महर्जन सात वर्षअघि बाराकी बुनु यादवसँग नक्कली विवाह बन्धनमा बाँधिए । युकेमा भेट भएको उक्त जोडीले क्यानाडा जानका निम्ति वडा कार्यालय पुगेर नक्कली विवाह दर्ता गरायो ।

बुनुले पढ्ने र उमेश डिपेन्डेन्टमा जाने भनिए पनि उनीहरूको भीसा लागेन । अन्ततः बुनुले सम्बन्धविच्छेदको माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिन् । आफूलाई कुटपिट गरेको र खान नदिएको जिकिर थियो उनको ।

बुनुले अंशसहित सम्बन्धविच्छेद गरिपाऊँ भन्दै दिएको उजुरी ०७७–सीपी–०३… नम्बरमा दर्ता भयो । यता, उमेशले भने अंश खानका लागि बुनुले आधारहीन उजुर हालेको दाबी गरे । उल्लिखित घटना त एउटा प्रतिनिधि पात्र मात्रै हो । पछिल्लो समय नक्कली विवाह गरेर बिदेसिने युवाहरूको लर्को लागेको छ । उच्च शिक्षा र राम्रो रोजगारीको अवसर नभएको भन्दै युवा वर्ग धमाधम बिदेसिँदै छ ।

माध्यमिक शिक्षा पूरा गर्न नपाउँदै जसरी हुन्छ बाहिरिने युवाहरूको सोचाइमा आएको परिवर्तन हो यो । लहैलहैमा लागेर वा देखासिकी गरेर मात्र होइन कि स्वदेशमा कम अवसरको उपलब्धताका कारण विदेश जान खोज्नेको लहर चलेको छ । बिदेसिने क्रम बढेसँगै अदालती विवाह पनि बढेको हो । कागजी विवाह विदेश छिर्नका निम्ति सबैभन्दा सजिलो माध्यम हो । जसकारण हाडनाताको सम्बन्ध भएकासँग पनि नक्कली विवाह हुने गरेको जानकारहरू बताउँछन् ।

उताको सरकारले पठनपाठनका लागि आउने भीसाधारीलाई केही हदसम्म राहत पुगोस् भनेर बनाएको कानुनको दुरुपयोग भएको अधिवक्ता प्रदीप कार्की बताउँछन् । उनका अनुसार पढाइ सँगसँगै कमाउन गाह्रो हुने भएकाले जोडीलाई नै भीसा दिने व्यवस्था गरिएको हो ।

तर, युवाहरूले यो व्यवस्थालाई गलत तरिकाले प्रयोग गरिदिएको उनको गुनासो छ । त्यसो त खर्च गर्न सक्नेलाई खोजेर उसको सम्पत्तिमा बिदेसिने प्रवृत्ति पनि पाइएको छ । एउटाले पैसा हाल्ने र अर्को विद्यार्थी बनेर जाने । अध्यागमनलाई देखाउन सक्कली विवाह गरे पनि सम्झौतामा समस्या आएपछि सम्बन्ध ‘डिभोर्स’ मा पुगेर टुंगिने गरेको छ ।

यसले नेपालमै कतिपयको घरबार विखण्डन गरिदिएको छ । भीसा नलागेपछि अंशमा हकदाबी हुनुको कारण पनि यही नै हो । अदालती विवाह गरेपछि सम्बन्धविच्छेद नगरी अर्को घरजम गर्न मिल्दैन । सम्बन्धविच्छेद नगरे बहुविवाहको मुद्दा लाग्ने डर हुन्छ । एकातिर पुराना सम्बन्ध तोड्न अंश दिनुपर्ने, अर्कोतिर नतोडिकन विवाह गरे जिन्दगीभर अदालतको चक्कर काट्नुपर्ने बाध्यता छ ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ अनुसार कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तीमा दुई जना साक्षीको नामसमेत खुलाई नेपालभित्र भए सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदूतावास वा महावाणिज्य दूतावाससमक्ष पुगेर निवेदन दिई विवाह दर्ता गर्न सक्छन् ।

दुई जना साक्षीको भरमा विवाह गर्दा हुने भएपछि बाबुआमाको उपस्थितिबिनै अदालतले लगनगाँठो कसिरहेको छ । एकातर्फबाट हेर्ने हो भने यो अदालतको ठूलो कमजोरी पनि हो । साथीलाई साक्षी मानेर सजिलै विवाह दर्ता गरिदिँदा यसले नक्कली विवाहलाई प्रोत्साहन गरेको बताइन्छ । नक्कली विवाह गर्ने क्रम बढेपछि हाल अदालतले कडाइ गर्न थालेको हो कि भन्ने देखिन्छ ।

यस्तै, विदेश पठाउन नक्कली भिडियो र कागज जोरजाम गर्नेमा कन्सल्टेन्सीहरूको पनि सक्रियता देखिएको छ । कतिपयले त विदेश पठाउने भन्दै ठगीधन्दासमेत चलाएको पाइन्छ । पछिल्लो समय अष्ट्रेलिया नेपाली युवाहरूको रोजाइमा पर्न थालेको छ । डिपेन्डेन्ट भीसामा त्यता जाने युवाको लर्को लागेको छ । त्यसैगरी, बेलायत, क्यानाडा, जापान, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, पोल्याण्डलगायत अन्य थुप्रै युरोपेली मुलुकमा डिपेन्डेन्ट भीसामा जान पाइन्छ ।

टिप्पणीहरू