गाई मारेर गधा पोसेको गुनासो

गाई मारेर गधा पोसेको गुनासो

‘गाई मारेर गधा पोस्ने धन्दा’मा बिचौलियाहरू त सक्रिय थिए नै अर्थमन्त्री जनार्दन शर्मासमेत अग्रसर भएको भेटिएको छ । केही दिनअघि मात्र एक जना पूर्व नायब सुब्बाका कारण बदनामी खेपेका शर्माले बिचौलिया दीपक भट्टको प्रभावमा हालै केही नामुद व्यापारीले चलाएको कम्पनीलाई वार्षिक अर्बाैंको कारोबार सुम्पिएका छन्, त्यो पनि नेपाल सरकारको झण्डै ७० प्रतिशत लगानी रहेको अर्काे कम्पनीको व्यापार खोसेर ।

अघिल्लो वर्ष मात्र अवैध ढंगबाट जन्मिएको एउटा कम्पनीलाई सरकारी नेपाल पुनर्बिमा कम्पनीको व्यापार खोसेर पोस्ने धन्दामा अर्थमन्त्री जनार्दन शर्मालाई बिचौलिया दीपक भट्टले लुटुपुटु पारेको र उनकै दबाब र प्रभावमा अघिल्लो महिना यो काम तमाम पारिएको बिमा समिति स्रोतले जनआस्थालाई जनाएको छ ।

स्रोतका अनुसार अघिल्लो वर्ष शेखर गोल्छा, सतिष मोर, कैलाश सिरोहिया, शशिकान्त अग्रवालदेखि पशुपति मुरारकालगायत व्यापारीले सात अर्ब रुपैयाँको लगानीमा खोलेको हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बिमा कम्पनीको व्यापार खोसेर पोस्ने काम जेठ पहिलो साता अघि बढाएर अहिले तमाम पारिएको हो ।

हिमालयन पुनर्बिमा कम्पनीले सञ्चालन अनुमति नै चोर बाटोबाट पाएको थियो । लगानी बोर्डका सिइओ सुशील भट्टका दाजुभाइको साहिल अग्रवालजस्ता बदनाम व्यापारीसँगको विशेष साँठगाँठमा गत वर्ष मात्र सञ्चालन अनुमति दिइएको हो । सोही कम्पनीलाई सञ्चालन अनुमति दिनकै लागि नोटिस निकालिएको थियो वर्षदिन अघि ।

पुनर्बिमाको लाइसेन्स लिने दौडमा हिमालयनसहित काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स र प्रुडेन्सियल रि–इन्स्योरेन्स भए पनि बदनाम व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टहरूको प्रभावमा पारेर बिमा समितिले हिमालयनलाई मात्र लाइसेन्स दिएको हो ।

सो कम्पनीलाई पोस्नकै लागि पूर्व गृह तथा वाण्ज्यि सचिव सूर्य सिलवालले सञ्चालक समितिको बैठक बोलाएर नेपाल सरकारले नेपाल पुनर्बिमा कम्पनीलाई दिँदै आएको कूल बिमा शुल्कको २० प्रतिशत प्रत्यक्ष हिस्सामध्ये नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई आधा–आधा बाँडफाँड गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत गराएर सोको भोलिपल्टै सबैतिर सर्कुलर पठाइएको थियो ।

यो प्रकरणमा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका साथै सञ्चालकहरू सुशील कोइराला, रितेश शाक्य, कपिलदेव ओली र सन्तोष रिजाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल मुछिएका छन् । सो निर्णयसँगै पुनर्बिमाबाट हुने व्यापारको १० प्रतिशत हिस्सा खोसेर हिमालयन रिइन्स्योरेन्समा पुगेको छ । अब हिमालयन रिलाई वार्षिक साढे तीन अर्ब रुपैयाँ प्रत्यक्ष लाभ हुनेछ ।

स्रोतका अनुसार हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा अर्थमन्त्री जनार्दन शर्माका ज्वाइँ आलोकप्रताप राणा म्यानेजर छन् । यता, कुपण्डोलस्थित बिमा समितिको सञ्चालकमा सालो सन्तोष रिजाललाई राखिएको छ । त्यही प्रकरणमा अख्तियारदेखि संसदीय समितिसम्म गुहारिएको छ ।

टिप्पणीहरू