एमाले मुख्यालयमा यस्तो सुनिन्छ अचेल

एमाले मुख्यालयमा यस्तो सुनिन्छ अचेल

एकथरिलाई पार्टीको विगत र भविष्यप्रति केही मतलब छैन, आ–आफ्नो दुनो सोझ्याए पुग्यो । अर्काथरि छन्, स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको कूल मत गन्दै पार्टी अझै सबभन्दा ठूलो छ भनेर गफ दिने !

नेकपा (एमाले) भित्रको भद्रगोल हो यो । अध्यक्ष केपी ओलीसँग दुई साताअघि भेटेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ललितपुर, च्यासलस्थित नयाँ पार्टी कार्यालयमा आइतबार दिउँसो कार्यकर्ताहरुलाई सुनाउँदै थिइन्, ‘कुरामात्रै गरेर के गर्नु, अध्यक्ष कमरेडले प्रत्येक मान्छेको लगत राखेर बस्नुभएको छ । उहाँ एक इञ्च तल–माथि हुनेवाला होइन ।’ अर्थात्, फेरि पनि पुराना गल्ती सच्याउने र टिकट वितरणलाई न्यायोचित बनाउने कुरामा ओलीको रुचि नदेखिएपछि अष्टलक्ष्मी विरक्तिएकी हुन् ।

अध्यक्षका कुरा सुनेर दिक्क मान्दै अष्टलक्ष्मी छिरिन्, प्रदीप ज्ञवाली र ईश्वर पोखरेलका कार्यकक्षमा । ईश्वर भन्दै थिए, ‘देख्नुभयो, माधव नेपाल त सक्कियो नि ! रामकुमारी झाँक्री, प्रेम आलेजस्तालाई बोकेपछि सक्किँदैनन् त !’ अष्टको जवाफ रह्यो, ‘माधव नेपाल सक्कियो कि सक्किएन भन्ने कुरा हैन, हामी के भयौँ ? कहाँ पुग्यौँ र अब कहाँ पुग्छौँ भन्ने कुरा गरौँ न !’ ईश्वरले ‘यस्तो कुरामा पनि टाइम वेस्ट गर्छन्’ भन्दै कुरा मोड्न थाले ।

अष्टले ‘अब हामीले वस्तुगत विश्लेषण गर्ने हैन र ?’ भन्दा ईश्वरको जवाफ थियो, ‘विगत सम्झिएर हुँदैन, सबै घाइते भएका छन् । अगाडिको रिपोर्टमा हामी माथि नै छौँ, सक्कि’गो नि !’ अर्थात्, पार्टीसामु अहिले जे–जस्ता संकट छन्, त्यसमा ईश्वरलाई केही मतलब छैन ।

त्यसपछि अष्टले भेटिन्, प्रदीप ज्ञवालीलाई । उनी छिर्दा भित्र ठाकुर गैरे र निरज आचार्य थिए । उनीहरु केन्द्रीय कमिटीको बैठक कहिले बस्छ भन्ने जिज्ञाशा राख्दै थिए । प्रदीपले स्थानीय तह निर्वाचनको रिपोर्टहरु सबैतिरबाट आइनसकेको कारण तत्काल नबस्ने जवाफ दिए । अरुभन्दा अलिक सुझबुझयुक्त व्यक्तित्व मानिने उनी पनि केन्द्रीय सदस्यहरुलाई उही वडाध्यक्षहरुको प्राप्त मतको ‘जुवाडे जवाफ’ दिँदै थिए ।

भन्दै थिए, ‘हामीले चुनाव कहाँ हारेका छौँ र ? पपुलर भोट हामीसँगै छ भन्ने देखिन्छ नि !’ उनी ‘प्रत्यक्षमा १० वटा हारिएला, समानुपातिकमा आइहाल्छ भन्नेमा छन् । उनको ठहर छ, प्रत्यक्षमा मज्जैले ३० जना जितिन्छ । एकजनाले प्रदीपलाई भन्दै थिए, ‘त्यति सीट जितेको भरमा केपी कमरेडले भनेजस्तो बाजा बजाएर सिंहदरबारको मूलढोकाबाट छिरिँदैन होला नि त !’ यस्तो भनिँदा वरिपरि गलल हाँसो बर्सियो ।

च्यासलमा महासचिव शंकर पोखरेलले उपमहासचिवहरुसँग बसेर केही छलफल गरेका थिए । त्यसमा पृथ्वीसुब्बा गएनन् । बरु, केही नेता जतिसुकै संकट परे पनि जित्न सकिने क्षेत्रहरु निक्र्यौल गर्नमा व्यस्त छन् । झापाबाट केपी ओली, एलपी साँवा, धनकुटामा राजेन्द्र राई, रुपन्देहीमा विष्णु पौडेल, स्याङ्जामा पद्मा अर्याल, दाङमा शंकर पोखरेल, पाल्पामा ठाकुर गैरे, लमजुङमा पृथ्वीसुब्बा गुरुङसहित बाजुरा, बैतडी, दार्चुलामा जितिने हिसाब छ । त्यसमध्ये ठाकुरले जित्ने भनिएको पाल्पामा वडाध्यक्षहरुको मत जोड्दा एमाले चार हजार मतले पछाडि छ ।

यसरी अहिले एमालेमा अधिकांश नेता व्यक्तिवादी भएका छन् । सामूहिकता खत्तम छ । नेताहरुलाई ओली बाधक हो भन्ने लागेकै छैन । उहाँकै प्रतापले केही पाइएला भन्ने आशमा नेताहरु छन् । बुझ्नेहरुले जे भएको हो, त्यो बोल्न मिलेको छैन । ओली रिसाएपछि सब चकनाचुर हुन्छ भन्ने धेरैले राम्रोसँग बुझेका छन् ।

उता, बागमती प्रदेश संसदीय दलको बैठकमा सबैको एउटै गुनासो थियो, ‘एमाले सांसदका योजनालाई राजेन्द्र पाण्डेले छानीछानी कटौती गरे ।’ उक्त प्रदेशमा सांसद विकास कोषबाट विगतमा विनियोजित रकम यसचोटि हटाइएको छ । एमाले सांसदहरुको ठहर छ, ‘यसले हामीलाई सबभन्दा बढी क्षति पु¥याउँछ ।’

टिप्पणीहरू