फोहोरसम्बन्धी प्रदर्शनीमा काठमाडौँका मेयर आफैँ अनुपस्थित

फोहोरसम्बन्धी प्रदर्शनीमा काठमाडौँका मेयर आफैँ अनुपस्थित

काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेलमध्ये सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई फोहोर विसर्जन गर्न मिल्ने गरी काठमाडौँ महानगरलाई हस्तान्तरण गरिसकेको छ । सेल टुको काम अन्तिम चरणमा पुगेको छ । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि आयोजनको बेवास्ता गरेको आरोप लागेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको ल्याण्डफिल साइटबाट बगेको लिचेट प्रशोधनपश्चात् प्रयोग गर्न सकिने प्रविधि प्रयोग कार्यक्रम आयोजना गर्न लगाएर मेयर साह भने आफैँ अनुपस्थित भएपछि ल्याण्डफिल्ड साइट सञ्चालन उनको प्राथमिकतामा नपरेको आरोप लागेको हो ।

बन्चरेडाँडा ल्याण्डफिल साइटको दुई वटा सेलमा विसर्जन गरिने फोहोरबाट निस्कने दूषित पदार्थ (लिचेट) जम्मा गर्न २० हजार घनमिटर क्षमताको दुई वटा ट्याङकी निर्माण गरिएको छ । पोखरीमा जम्मा भएको लिचेटलाई सदुपयोग गर्न सकिने गरी प्रविधिको प्रदर्शनी गरिएको आयोजना निर्देशक रवीन्द्र बोहराले बताए ।

उनका अनुसार उक्त लिचेट संशोधनपछि माछापालनमा समेत प्रयोग गर्न सकिने छ । बोहराले भने, ‘बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न थालेपछि त्यहाँ उत्पन्न लिचेटले २० हजार घनमिटरको ट्यांकी भरिएको छ । यसलाई प्रशोधित गरी सदुपयोग गर्न सकिने भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।’

गत बिहीबार सहरी विकास मन्त्री मेटमणि चौधरीसहित मन्त्रालयमा भएको कार्यक्रममा लिचेट व्यवस्थापनको प्रविधिबारे जानकारी लिँदै मेयर साहले प्रदर्शनी गर्न आग्रह गरेका थिए ।

सोहीअनुसार आयोजनाले प्रदर्शनी गरेको हो । तर, आफैँले भनेको कार्यक्रममा मेयर साह अनुपस्थित हुँदा डिजाइनअनुसार फोहोर विसर्जन हुनेमा सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन् ।

मेयरकै आग्रह पूरा गर्न प्रविधि प्रदर्शनीका लागि भारतको चेन्नइबाट विज्ञ टोलीसमेत झिकाइएको छ । यति महत्वपूर्ण कार्यक्रम आयोजना गर्न लगाएर आफैँ उपस्थित नहुँदा मन्त्रालय र विज्ञलेसमेमत चित्त दुखाएका छन् । कार्यक्रम आयोजना गर्न लगाएर झण्डै छ घण्टा कुर्दा पनि मेयर नआएपछि मन्त्रालयको टोली र विज्ञ टोली खिन्न भएको हो ।

राजधानीमा पछिल्लो केही महिनादेखि फोहोर व्यवस्थापनको समस्याले सर्बत्र दुर्गन्ध फैलाएको छ । नयाँ मेयरको सामुन्ने यो विषय अहिले प्रमुख चुनौतिको रुपमा देखिएको छ ।

टिप्पणीहरू