मध्यअसारमा माओवादीको केन्द्रीय कमिटी बैठक राजधानीमा

मध्यअसारमा माओवादीको केन्द्रीय कमिटी बैठक राजधानीमा

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौँमा शुरु भएको छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक आज कमलादीस्थित प्रज्ञा भवनमा बसेको हो ।

बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि शपथ ग्रहण गर्न छुटेका निर्वाचित तथा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहणसमेत गराउनुभएको छ ।

माओवादीमा महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि पदाधिकारी चयन हुन सकेको छैन । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीमा आकांक्षी धेरै हुँदा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न नसकेको हो । महाधिवेशनलगत्तै बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेर पुस २५ गते सम्मलाई बैठक स्थगित गरेको थियो । पदाधिकारी चयनको सकसकै कारण त्यसयता पटक–पटक बैठकको मिति तोक्ने र स्थगित हुने भइरहेको छ ।

पदाधिकारीमा पनि महासचिवमा नेताहरुबीच हानथाप देखिन्छ । महासचिवमा प्रचण्डका दुई विश्वासपात्र वर्षमान पुन र जनार्दन शर्माका साथै नेताहरु देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेतलगायतको दाबी छ । जसमध्ये पुन र शर्माको बढी सम्भावना रहेको बताइन्छ । तर, उनीहरु एकले अर्कालाई स्वीकार नगर्ने बरु चुनाव हुनुपर्ने अडानमा रहँदा माओवादीलाई महासचिव छान्न महाभारत परेको हो ।

त्यसका साथै एमसीसी अनुमोदनलाई लिएर पनि माओवादीमा विवाद छ । नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत नेताहरु व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने अध्यक्ष प्रचण्डको निर्णयमा त्यतिबेलै असन्तुष्ट थिए । स्थानीय चुनावको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कमिटी बैठकले चुनावलगतै बैठक बोलाएर यसबारे छलफल गर्ने निर्णय गरेको थियो ।तर, एमसीसी बैठकको एजेण्डामा परेको छैन।

टिप्पणीहरू