लोभीपापीलाई कोर्रा हान्ने देखाउलान् त आँट ?

लोभीपापीलाई कोर्रा हान्ने देखाउलान् त आँट ?

पूर्वएमाले सांसद इच्छाराज तामाङविरुद्धको ठगी मुद्दामा नेपाल बार एशोसिएसनका निवर्तमान कोषाध्यक्ष रुद्र पोखरेल र काठमाडौं जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीच भएको संवाद बाहिरिएपछि न्यायपरिषद्मा छानबिन चलिरहेको छ ।

चण्डेश्वर श्रेष्ठ नेतृत्वको बार एशोसिएसन कार्यसमितिमा पोखरेल २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए । एमाले अध्यक्ष केपी ओलीनिकटस्थ उनले पदको तुजुक देखाएर तामाङलाई उन्मुक्ति दिलाउन जिल्ला न्यायाधीशसँग १० करोड रूपैयाँ धरौटीमा मोलमोलाई गरेका थिए । केपी ओलीको निर्वाचन क्षेत्र झापा गौरादहका पोखरेल पाटन बार एसोसिएसनमा २०७०–७३ सम्म अध्यक्ष थिए । हाल एमाले कानुन विभागको सदस्यसमेत छन् ।

एमाले अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध र बारको कोषाध्यक्षसमेत रहेका कारण उनी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग हिमचिम बढाउन सफल भएको उनीनिकट कानुन व्यवसायी बताउँछन् । प्रधानमन्त्रीका रूपमा ओलीले संसद विघटन गर्दा पोखरेलले उक्त कदमको प्रतिरक्षा गर्दै सर्वोच्च अदालतमा बहस गरेका थिए ।

जतिबेला बारले राणालाई पदच्युत गराउन सर्वोच्चमा धर्ना, बेञ्च बहिष्कार र कालोपट्टी बाँध्नेलगायत आन्दोलन गरिरहेको थियो, पोखरेल राणाको समर्थनमा दिलो ज्यानले उत्रिएका थिए । कतिसम्म भने बार र सर्वोच्चका न्यायाधीशहरूले बेञ्च बहिष्कार गरिरहेका बेला उनी भने राणाले तोकेका न्यायाधीशको बेञ्चमा बहस गर्न पुगेका थिए ।

नेपाल बारको आन्दोलनविरुद्ध टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँड्थे । तामाङको मुद्दामा बाहिरिएको अडियो रेकर्ड पहिलेदेखि गर्दै आएको ‘खेतीपाती’ कै निरन्तरता मात्र रहेको चर्चा कानुनव्यवसायी वृत्तमा छ ।

झण्डै १० मीनेट लामो अडियोमा न्यायाधीश कोइरालालाई ‘यस्तो अवसर फेरि–फेरि नआउने’ भन्दै पोखरेलले धरौटीमा छोड्न भनेका छन् । दश करोड धरौटी लिएर छाड्न प्रधानन्यायाधीश राणासँग कुरा मिलाउने भन्दै ढुक्क हुन सिकाएका छन् । उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने आश्वासनपछि कोइराला सहमत भएको अडियो संवादबाट प्रष्ट हुन्छ ।

राणामार्फत काठमाडौंका प्रमुख न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने, खतिवडाले कोइरालालाई राणाको निर्देशनबमोजिम गर्न लगाउने,उच्च अदालतबाटसमेत सदर गराउने र दश करोड रूपैयाँ धरौटी तारेखमा छाडेपछि दुई करोड रूपैयाँ ‘झ्याप्प्राक्कै’ हात लाग्ने बताउँदा न्यायाधीश कोइराला हौसिएका छन् । तर अन्तिममा राणाको निर्देशनलाई लत्याउँदै काठमाडौंका प्रमुख न्यायाधीश खतिवडाले कोइरालालाई सतर्क गराएपछि सबै कुरा ‘बुमराङ’ भएको बताइन्छ ।

अन्ततः कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश गरे । प्रमुख न्यायाधीश खतिवडाकै कारण तामाङलाई धरौटीमा छाड्ने र दुई करोड ‘घुस’ पच गर्ने योजना भताभुङ्ग भयो । न्यायाधीश खतिवडाकै असहमतिका कारण न्याय जोगिएको चर्चा न्यायिक वृत्तमा चलेको छ । उक्त प्रकरणलाई नजिकबाट हेरेका एक सरकारी वकिलले भने, ‘पोखरेल–कोइराला बार्गेनिङ प्रकरणमा न्यायाधीश खतिवडाकै अड्डीले तामाङ जेल पुगेका हुन् ।

नत्र यतिबेला तामाङ पीडितसँग आँखा जुधाउँदै खुलेआम सडकमा हिंडिरहेका हुन्थे । यो मुद्दामा पर्दाभित्रका हिरो खतिवडा नै हुन् ।’ खतिवडा निष्ठा र नैतिकतामा अड्ने न्यायाधीशका रूपमा चिनिन्छन् । त्यही नैतिक बलका कारण राणाको ठाडो फर्मान तामेल गर्न राजी नभएको उनी निकटस्थ कानुनव्यवसायी बताउँछन् ।

अदालतमा राणाको जगजगी र आसेपासेको बिगबिगी रहेका बेलासमेत खतिवडा टसको मस भएनन् । जतिबेला राणाबाट ठाडै पजनी हुनसक्ने आतंक थियो । आखिर उनकै कारण न्याय मर्नबाट जोगियो । आठ अर्ब ठगीको आरोपसहित चलेको मुद्दामा तामाङलाई २०७८ पुस १४ गते न्यायाधीश कोइरालाकै इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि घुसको गठजोड खरानीमा परिणत भयो ।

टिप्पणीहरू