आइजी सा’ब, मासु च्युरा खान फोटो खिच्ने हो र !

आइजी सा’ब, मासु च्युरा खान फोटो खिच्ने हो र !

नेपाल प्रहरीका एक जना हवल्दारले ड्युटीमा रहेका बेला नेपाली नागरिकलाई नमिठोगरी होच्याए । खिसीट्युरी गरे । उडाए । ०७९ असार १ गतेदेखि मतदाताको फोटो खिच्ने र नामावली अद्यावधिक गर्ने कार्य भइरहेको थियो । संघीय र प्रदेश निर्वाचनको मिति घोषणा भएपछि नयाँ नाम दर्ता तथा फोटो खिच्न नमिल्ने भएकाले निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नागरिकको भीड अहिले पनि देखिन्छ ।

लोकतन्त्रमा निर्वाचनको धेरै ठूलो महत्व र अर्थ हुन्छ । यही भएर नागरिकको चासो बढेको हो तर ती हवल्दारले काठमाडौं जिल्ला निर्वाचन कार्यालय बबहरमहलमा फोटो खिच्न लाइन बसेका नागरिकलाई ‘चुनावको बेला मासुच्यूरा खानका लागि फोटो खिच्न आएको’ भन्दै होच्याए ।

जसरी एउटा खड्कुलो भरिको भात पाक्यो कि पाकेन भनेर केही सीता भात छामी पत्ता लगाइन्छ त्यसरी नै प्रहरी–प्रशासन र सरकारी कर्मचारीको मनोविज्ञान, स्वभाव, शैली, विचार, कार्यक्षमता, ज्ञान, प्राथमिकता, तालिम तथा समग्र क्षमता नाप्न एउटै प्रहरी हवल्दार काफी हुन्छ भन्ने फेरि प्रमाणित भयो ।

हवल्दारले जिस्केको वा ख्यालठट्टा गरेको भए पनि त्यो वाक्य, शैली, सोच र व्यवहार गम्भीर व्यवहार थियो, हो । राज्यको जिम्मेवार निकायमा खटेको कर्मचारीलाई देखेरै नागरिकले सरकार कस्तो छ हेर्ने हो । सामान्यतयाः नागरिक सिंहदरबार पुग्दैनन् । मूलतः नागरिकको काम पनि सिंहदरबारमा पर्दैन ।

यसर्थ स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न जिल्लास्थित कार्यालयमा नागरिक र सेवाग्राहीले सरकार देख्छन् । भोग्छन् । प्रहरीले जिस्केर पनि त्यस्ता प्रणालीलाई नै होच्याउने, गिज्याउने वाक्य प्रयोग गर्नुहुन्न । लोकतान्त्रिक प्रक्रिया र प्रणालीमा प्रत्यक्ष जोडिएका नागरिकप्रति घोचपेच, छेडछाड गर्ने र पूरै लोकतान्त्रिक प्रणालीको खिसी उडाउँदा प्रहरी–प्रशासनको खराब बिम्ब बन्ने मात्र काम हुन्छ ।

हवल्दारले पटक–पटक सार्वजनिक स्थानमा र सार्वजनिक कार्यमा लाइन लागेका नागरिकप्रति लक्ष्य गर्दै ‘भोट हाल्दै मासु–च्यूरा खाँदै गर्नको लागि घाममा लाइन त लाग्नैप¥यो नि !’ भने । अझै अगाडि बढेर युवातर्फ लक्षित गर्दै ‘यस्ता केटाहरूले चुनावमा बियर र मासु नै खाने होला नि !’ भन्दै जिस्क्याए ।

लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको उत्तम विकल्प समृद्ध, जनआधारित र जिम्मेवार लोकतन्त्र नै हो । जसरी खानेपानीको विकल्प अझ सफा, स्वस्थकर, छानेको वा उमालेको स्वच्छ खानेपानी हो । खानेपानीको विकल्प मुला, गाजर वा अन्य पानी भएका खानेकुरा बन्न सक्दैन । अर्थात् लोकतन्त्रमै लोकतन्त्रको खराबी र दुर्गुण हटाएर थप समृद्ध बनाउने शक्ति, तागत र स्वभाव हुन्छ । यसर्थ लोकतन्त्र आधुनिक विश्वको जीवन र सामाजिक–राजनीतिक प्रणाली हो ।

यसको विकल्प छैन । यसर्थ लोकतन्त्रमा पनि खराब नेता, व्यक्ति, सार्वजनिक पदाधिकारी वा नेतृत्व आउन नसक्ने भन्ने हुन्न । यसलाई पनि छान्ने शक्ति लोकतन्त्रमा निर्वाचन नामको फिल्टरले हो । यसैले लोकतन्त्रको असल विकल्प लोकतन्त्र हो भनिएको हो । यसमा व्यक्ति आउने–जाने हुन्छ । व्यक्ति खराब हुन पनि सक्छन् । तर त्यसको दोष प्रणालीलाई दिनु र सोच्नु भएन । हुन सक्छ–कहीँकतै कसैले मासुच्यूरा खायो–खुवायो होला । केही मासुच्यूरामा बिके पनि होलान् ।

अब सोही अर्थमा पूरै नागरिक समाज र नेपाली लोकतान्त्रिक चरित्र छ र हो भन्ने खाले सोच तथा मनोविज्ञान बनाउने हो भने प्रणाली कस्तो होला ? लोकतन्त्र भनेको नागरिकद्वारा, नागरिकको लागि लागू हुने उनीहरूको आफ्नो शासन प्रणाली हो । यसर्थ यस्तो प्रणालीमा कोही कसैले कहीँकतै केही गरेको वा खराबी भएकै आधारमा पूरै नागरिक प्रणालीलाई गिज्याउने र खिस्याउने गर्नु हुँदैन । त्यसमा पनि प्रहरी–प्रशासनमा रहेका व्यक्तिबाटै सार्वजनिक स्थानमा सयाँैले सुन्ने गरी त्यस्ता अभिव्यक्ति बोलिन्छ भने त्यसलाई कस्तो शैली भन्ने ?

प्रहरी–प्रशासनमा रहेका कर्मचारीलाई विभिन्न तालिम दिइँदै आएको छ । जुन आवश्यक हो । तर, त्यो तालिम सेवा प्रवेशको बेला विशेषगरी एक पटकचाहिँ बाध्यकारी ढंगले दिइन्छ । तहअनुसारका बढुवा भएपछि अर्काे तालिम हुन्छ । त्यस्ता तालिम मूलतः सेवा, पद र कामसँग बढी सरोकार राख्ने नै हुन्छन् । त्यो ठीकै हो । तर त्यतिले मात्र सरकारी कर्मचारीलाई जिम्मेवार बनाउन सकिएन, सकिँदैन ।

तालिमले निरन्तरता पाउनुपर्ने खाँचो छ । अर्काेतर्फ पदअनुसारका कामबारे मात्र केन्द्रित भएर दिइने तालिमले मुलुकको लोकतान्त्रिक गणतान्त्रिक प्रणाली, नागरिकप्रतिको जिम्मेवारी, असल शासन, सुशासन, मानव अधिकारको रक्षा र सुरक्षा, नागरिक उत्तरदायित्व, नागरिक शासन तथा सार्थक राष्ट्रसेवा हुने छाँटकाँट देखिएन ।

नागरिक शासन नागरिकको संवैधानिक–कानुनी अधिकार तथा हितको रक्षा एवं सुरक्षाका लागि हो । यसर्थ निजामती कर्मचारी, प्रहरी–प्रशासनमा रहेका कर्मचारीको आचरण, स्वभाव, कार्यशैली र व्यवहार हेरेर त्यो देशको लोकतान्त्रिक शासन दाँज्नुपर्ने हुन्छ । यसैले नागरिक सरोकारसँग प्रत्यक्ष जोडिने प्रहरीको भूमिका नागरिकमैत्री तथा लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने खालको हुनुपर्छ ।

लोकतान्त्रिक प्रणालीलाई स्वयम् प्रहरी–प्रशासनका कर्मचारीले होच्याउने, गिज्याउने र खिसीट्युरी गर्ने हो भने त्यहाँ प्रहरी प्रशासन कसको लागि हो भन्ने गम्भीर प्रश्न खडा हुन्छ । विशेषगरी प्रहरीको इन्स्पेक्टरभन्दा तल्ला तहका कर्मचारी नागरिक सुरक्षा तथा शासनको फिल्डमा प्रत्यक्ष खटिएका हुन्छन् । हवल्दार र सिपाहीहरू अझ सोझै जनतासँग अन्तरक्रिया गर्छन्, जोडिन्छन् । प्रहरीको अनेकौं जिम्मेवारी र भूमिका हुन्छ, छ । प्रहरीले खाइ–नखाई मुलुक र नागरिकको सेवा तथा सुरक्षा दिइरहेका छन् । प्रहरीले नगर्नुपर्ने काम केही छैन ।

अर्थात् नागरिकका अनेकौँ पक्ष र सेवामा प्रहरी जोडिएको छ र हुन्छ । सुरक्षा, छानबिन, नियन्त्रण, निगरानी, सचेतना, खबरदारी तथा सुशासन कायम गर्न प्रहरी दिनरात खटिएको कुरा सत्य हो । प्रहरी न्यूनतम तलब सुविधामा रातदिन खटिएका छन् । निजामतीमा प्रहरीको तलब दोब्बर गरे पनि कम हुन्छ ।

यो साँचो र तीतो सत्य हुुँदाहँदै पनि कहिलेकाहीँ प्रहरीका हवल्दार–सिपाही वा कर्मचारीबाट हुने प्रणाली विरोधी गतिविधि वा पदीय आचरणविरोधी हर्कत र हेलचेक्र्याइँपूर्ण व्यवहारबाट भने नागरिक दिक्क पनि बन्न सक्छन् भन्नेतर्फ प्रत्येक प्रहरी सचेत बन्न सक्नुपर्छ । प्रहरी–नागरिक सम्बन्ध सुमधुर बन्न सके प्रहरीको प्रतिष्ठा वृद्धि हुन्छ ।

टिप्पणीहरू