किन भनेको होला आए आँप, गए झटारो

किन भनेको होला आए आँप, गए झटारो

‘छाड यी कागती र निबुवाहरूलाई
मेरो गाउँ हिँड, आँप फलेको छ’

 (तोयाराज घिमिरे, महोत्तरी)

फूलहरूकी रानी गुलाब र फलहरूको राजा आँप । भारतको त राष्ट्रिय फल नै आँप अर्थात् आम । बङ्गलादेश, म्यान्मा, अण्डमान निकोबार द्वीपमा पनि आँप प्रशस्त फल्छ । सिरहा–सप्तरी त नेपालमा आँपका राजधानी नै भए । आँप जस्तै स्वादिलो न स्याउ हुन सक्यो, न रूख कटहर नै । थरीथरी आँपका थरीथरी स्वाद ।

स्वादिलो त छँदै छ, यसमा कम क्यालोरीदेखि धेरै नै पौष्टिक तत्त्वका रूपमा प्रोटिन, फाइबर, चिनी, भिटामिन(ए, सी, डी) आदि अनेक तत्त्व पाइन्छ । यसको भित्री गेडा कोया पनि ठूलै हुन्छ । धेरै आँप खाए कोही मोटाइन्छ भन्छन्, कोही खाना रुचाउँछन् भन्छन् । अझ यसलाई त मधुमेह रोक्न सहयोग गर्ने, रोग प्रतिरोध क्षमता बढाउने, मुटुलाई स्वस्थ राख्ने, पाचन शक्ति बढाउने, आँखाको शक्ति बढाउने, केही अर्बुदरोगको जोखिम घटाउने फलका रूपमा पनि लिइन्छ । काँचोमा थेपे अचारदेखि भाँडामा हालेर केही समयपछि खाइने अचार पनि बनाउन सकिन्छ । पाकेको आँप खानासँग खाँदा रुचाउने त छँदै छ, जस्तोसुकै मधुमेह भए पनि आँपमा ¥याल नचुहाउने को होला र ?

बम्बै, मालदह, गोपाल भोग, दसहरी, फर्से, सुपारे नेपालमा नाम चलेका आँप हुन् । नुवाकोटको त्रिशूलीमा भने सिंदुरे, धोक्रे, काली, बूढीकालीलगायत नामका आँप पाइन्छ । त्रिशूली र गँडखारका आँप त उहिले राजदरबारमा समेत अतिथि बन्न पाउँथे रे । भनिन्छ, हाल नेपाल विद्यु्त् प्राधिकरण, त्रिशूलीअन्तर्गत रहेका आँपका बोट(सात सय) भीमसेन थापाका पालामा रोप्न लगाइएको ।

आँप कोया र कलमी दुवै तरिकाबाट रोपिन्छ । नुवाकोटको सैनिक तालीम केन्द्र रहेको मैथिली क्याम्प पनि आँपसँग सम्बन्धित छ । रणबहादुर शाहले मैथिल ब्राह्मणकी पुत्री कान्तवतीसँग जबर्जस्ती बिहे गरेपछि उनीसँगै आएका मानिसहरू फर्कन नचाहेपछि सोधियो रे, ‘तिमीहरु कहाँ बस्न चाहन्छौ ?’ जवाफमा उनीहरूले भने रे, ‘हामीलाई आँप फल्ने ठाउँमा राख्नुहोस् ।’

काठमाडौँ नजीकका गर्मी ठाउँ र आँप हुने ठाउँ नुवाकोटका विदुर–बट्टार पनि हुन् । त्यहाँ आँप पनि फल्थ्यो रे । त्यसैले मैथिलहरूलाई त्यहाँ राखिएपछि त्यस ठाउँलाई हालसम्म मैथिल क्याम्प भनिएको मानिन्छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला हाम्रा फलहरूको तारिफ गर्दै विदेशीलाई मालदह आँप खुवाइदिनुपर्ने विचार व्यक्त गरेका थिए ।

आँपबारेका अन्य ऐतिहासिक तथ्य तथ्याङ्क त खोज्नै पर्ला । बरु यो ‘आए आँप, गए झटारो’ उखानको पनि उत्पत्तिबारे सोधखोज गर्नैपर्ला । पहिला आँपका बोट अग्ला नै हुन्थे, अचेल मात्र कलमी गरिएका विकासे आँप रोप्न थालिए । अग्ला बोटमा फलेका आँप टिप्न कि त रूख नै चढ्नुप¥यो, कि त झटारो हान्नुप¥यो । अझ अर्काको बोटमा फलेका आँप झटाराले हानेर झारी खान त मजा नै आउला । झटारो हान्दा कि आँप झर्छ, कि झटारो कतै टाढा पुग्ला ।

झटारो हराएर केही फरक पर्दैन मान्छेलाई, बारी–जङ्गलमा काठका झटारा कति पाइन्छ कति ! हान्दा हराएका झटाराका साटो अर्काे झटारो फेरि खोज्न सकिन्छ । आफ्नो मोल नभएको वस्तु कतै गए वा हराए पनि केही फरक पर्दैन । झटारो हानेर अर्काको सिंत्तै पाएको सम्पत्ति मोज गर्नेहरू यहाँ प्रशस्तै छन्, लुटको धन फुपूको श्राद्ध नै गर्नेहरू जत्तिकै । अहिले सिजनमा घुस खुवाइने वस्तुमा आँप पनि पक्कै पर्छ होला, दशैँमा खसी कोसेली वा उपहार पाए जस्तै ।

अहिले तराईका अझ मालदह वा बम्बै आँप कोसेली नपाउने को ठूलोबडा होलान् र ? अवैधानिक ढङ्गले आँप खानेका आँप त कीरै परेको होस् । घुस खानेलाई कीरै परोस् भन्ने त चुनावमा भाग लिएको विवेकशील साझा पार्टीको एउटा नारा नै थियो । हेर्दा मीठो तर कीरा परेका आँप छन् भने कसरी खानू ? बाहिरबाट बोक्राले बन्द कीरा भित्र कुन सास फेरेर बाँच्दो हो, अचम्म लाग्छ । तैपनि कीरा फालेर आँप खान मान्छेले के छाड्थे ?

बजारमा कार्बाइड हालेर नक्कली रूपले पकाइएका आँप प्रशस्तै आएका छन् । बिक्रेता त्यस्ता आँप बेचिरहेका छन्, खानेले पनि खाइरहेका छन् । बिक्रेतालाई सोध्नुभयो भने उसले दसहरीलाई पनि मालदह नै भनिदिन्छ । आँप खाने भाग्य जो पायो उसले पाउँदैन, त्यसमाथि चिल्ला, सग्ला मालदह । ल है, आँप खाने भाग्य आजमाउनुस्, सिङ्गै सिङ्गै वा सलाद वा डेजर्टका रूपमा घुसकै रूपमा खाँदा भने नपचेर ओकल्नुपर्ला, आउँ पनि पर्ला । सिजनमा फलेको फल खान नपाउने त अभागी नै हुन् ।

२०७९ असार १४

टिप्पणीहरू