यौटा सीताको सन्देश अर्कै सीतालाई पुगेपछि राप्रपामा हुँडलो

यौटा सीताको सन्देश अर्कै सीतालाई पुगेपछि राप्रपामा हुँडलो

एउटालाई पठाउन खोजेको म्यासेज झुक्किएर अन्तै पुग्दा के होला ? त्यो पनि गोप्य राजनीतिक सल्लाह । यस्तै भएको छ पूर्वपञ्चहरुको पार्टी राप्रपामा । पार्टीको आन्तरिक विवादलाई लिएर एक नेताले मन मिल्ने अर्का नेतालाई पठाएको म्यासेज झुक्किएर अध्यक्ष राजेन्द्र लिङ्ग्देनकी श्रीमतीको मोबाइलमा पुगेको हो । यसलाई राप्रपाका नेताहरुले ‘म्यासेज काण्ड’ भनेका छन् ।

गत मंसिरमा बसेको राप्रपा केन्द्रीय कार्य समितिको पहिलो बैठकले समान विधारधारा भएका व्यक्ति,पार्टी,धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न महामन्त्री धवल समशेर राणाको नेतृत्वमा वार्ता समितिसमेत गठन गरेको थियो ।

समितिमा राजाको पालाका माननीय ऋषिबाबु परियार र नेता दिलविकास राभण्डारी सदस्य थिए । तर, समितिमा संयोजक राणाको एकलौटी चल्न थालेपछि हैरान भएका भण्डारी र परियार राजीनामा दिने मनस्थितिमा पुगे ।

यसैबीच केही दिनअघि परियारले पूर्वसांसद सीता लुइंटेललाई आफूले वार्ता समितिबाट राजीनामा दिन लागेको म्यासेज गर्न खोज्दा झुक्किएर अध्यक्ष लिङ्ग्देनकी श्रीमती सीता लिङ्ग्देनलाई पुग्यो । लगत्तै लिङ्गदेनको खबर आयो, ‘माननीयज्यू कहाँ हुनुहुन्छ,माइन्युट लिएर आउनु त !’ त्यसपछि नेताहरु बुद्धिमान तामाङ्ग,धवल समशेरसहित बसेर लिङ्गदेनले वार्ता समिति नै भंग गरिदिए ।

अबदेखि यो वार्ता समिति विघटन भन्नुपर्नेमा विसर्जन गरिएको छ भन्ने माइन्युट गरेर दिलविकासलाई अपमानजनक ढंगले निकालिएको राप्रपा स्रोतको भनाइ छ । जानकार स्रोतका अनुसार राप्रपामा आउन चाहेका लेनिन बिष्टको पूर्व बालसेना समूह, पशुपति खड्का,कमल थापाको राप्रपा नेपाल र चुरे भावरका नेताहरु महामन्त्री राणाकै कारण रोकिएका हुन् ।

त्यस्तै, अभियन्ता बनेर चर्का भाषण गर्दै हिंडिरहेका ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र शाही’लाई पनि राप्रपामा भित्र्याउन हुँदैन भन्ने मत थियो रे राणाको । नेपालगन्जमा भाषण गर्न जाँदा शाहीलाई कुटाई खानबाट आफूले बचाएकाले उनीजस्ता अराजकलाई पार्टीमा ल्याउन हुँदैन भन्ने राणाको अडान थियो भनिन्छ ।

त्यसका बाबजुद वार्ता समिति सदस्य राजभण्डारीको जोडबलमा शाही राप्रपामा छिरेको स्रोत बताउँछ । अहिले उनै राजभण्डारी र पूर्वमाननीय परियारलाई ‘तह लगाउन’ वार्ता समिति नै ‘बिसर्जन’ गरिनुमा ‘म्यासेज काण्ड’ ले मुख्य भूमिका खेलेको राप्रपाका नेताहरु बताउँछन् ।

टिप्पणीहरू