एमाले अध्यक्षले अमेरिकी दूतावासलाई लेखिएको ‘ओरिजिनल लेटर’ माग्नुभयो

एमाले अध्यक्षले अमेरिकी दूतावासलाई लेखिएको ‘ओरिजिनल लेटर’ माग्नुभयो

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्रको ‘ओरिजिनल कपी’ माग गर्नुभएको छ । उहाँले हिजो राजधानीमा आयोजित एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्म जयन्तीको अवसरमार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त माग गर्नुभएको हो ।

तत्कालीन रक्षा सचिव तथा हाल निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले उक्त पत्र प्रधानमन्त्री केपी शर्मा ओलीको जानकारीमा लेखिएको दाबी गरेपछि अध्यक्ष ओलीले ओरिजिनल लेटरको माग गर्नुभएको हो । त्यसबखत रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले लिनुभएको थियो ।

अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाली सेना सहभागी हुन तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा अरु सबै कम्प्युटर प्रिन्ट भए पनि मिति हातले लेखिएको देखिन्छ । त्यहि मितिलाई देखाउँदै उहाँले पत्रमा मितिथ संशोधन गरिएको आरोप लगाउनुभएको हो ।

सरकारलाई ‘ओरिजिनल’ पत्र सार्वजनिक गर्न आग्रह गर्नुभएको ओलीले काठमाडौंस्थित अमेरिकी दूतावासलाई त्यसबारे बोल्न आग्रह गर्नुभएको छ । बालुवाटार स्रोतले उक्त पत्र सार्वजनिक गरेकाले एमाले अध्यक्षले शंका गर्नुभएको हो । सचिव पौड्यालले प्रधानमन्त्रीको आदेश र निर्देशन नभएको अवस्थामा कुनै पनि निकायले त्यस्तो पत्राचार गर्न नसक्ने बताइसक्नुभएको छ ।

टिप्पणीहरू