युवा संघले शंकरलाई छाता ओढाउँदै धान रोप्यो, पोखरामा दुबोझैँ गलामा बीऊको माला

युवा संघले शंकरलाई छाता ओढाउँदै धान रोप्यो, पोखरामा दुबोझैँ गलामा बीऊको माला

आज असार १५, किसानहरुका लागि मानो खाएर मुरी उब्जाउने दिन । दही च्युरा खाने दिनका रुपमा प्रचलित असार १५ लाई पछिल्ला वर्षहरुमा धान दिवस मनाउन थालिएको छ । सरकार, राजनीतिक दल, विभिन्न संघ संस्था, कलाकारहरुले देशभर औपचारिक कार्यक्रम आयोजना गरि धान दिवस मनाउने गरेका छन् ।

यसैक्रममा आज कृषि तथा पशुपक्षी मन्त्रालयले राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । सो कार्यक्रममा पुग्नुभएका कृषि मन्त्री महिन्द्रराय यादवले मेशिनबाट धान रोप्नुभयो । रोपाइँ महोत्सवमा मन्त्रालय र अनुसन्धान केन्द्रका पदाधिकारीहरू पनि सहभागी थिए । सो अवसरमा मन्त्री यादवले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी हुनुभयो । पत्नी राधिका शाक्य र कार्यकर्तासहित रोपाइँमा सहभागी हुनुभएका उहाँले पनि मेसिनमार्फत् धान रोपेपछि केहीबेर भाषण गर्नुभयो ।

यता, एमालेको भ्रातृ संगठन युवासंघ नेपालले ललितपुर महानगर–२२, बुङ्गमतीस्थित फसिडोलमा धान रोपाइँ कार्यक्रम गरेको छ । खेतमा युवासंघको झण्डा फहराउँदै आयोजना गरिएको धान रोप्ने कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, भक्तपुरका नेता महेश बस्नेतलगायत सहभागी थिए । सो अवसरमा युवाहरुले महासचिव पोखरेललाई छाता ओढाएर खेतमा लगेका हुन् ।असार १५ को दिन हिलो छुनैपर्ने मान्यता रहिआएको छ । कृषि पेशालाई सम्मान गर्न र किसानलाई हौसला दिन आयोजना गरिने यस्ता कार्यक्रम पछिल्ला वर्षमा भने नितान्त रमाइलो गर्ने र सामाजिक सञ्जालमा फोटो टाँस्ने माध्यम बनिरहेको छ । गमला, कार्पेट र औपचारिक कार्यक्रमका मञ्चमै धान रोपेर देखासिकी गर्ने क्रम पनि उस्तै छ ।त्यतिमात्र होइन, रोपाइँ खेल्ने नाममा भित्र्याइएका विकृत संस्कृतिले असार १५ को मौलिकता नै लोप हुने खतरा बढेको छ । परम्पराका नाममा शरीरमा हिलो दलेर संवेदनशील अंग प्रदर्शन गर्ने, महिला र पुरुष हिलोमा लडिबुडी गर्ने, संवेदनशील अंगमा धानको बीऊ राखेर फोटो खिच्ने जस्ता अश्लिल हर्कतहरु हुने गरेका छन् । यसै पनि औपचारिकतामा सीमित हुँदै गएको धान दिवस यस्ता हर्कतले कुसंस्कृत बन्दै गएको छ ।केही वर्षअघि आजैका दिन तत्कालीन कृषिमन्त्री हरि पराजुलीले धान रोपाइँका क्रममा अशोभनीय व्यवहार गरेपछि पदबाट हट्नु परेको थियो । रमाइलो गर्ने बहानामा पदीय मर्यादालाई बिर्सेर रोपाहारलाई अँगालो हालेका उनको चर्को आलोचना भएको थियो । स्व. सुशील कोइराला नेतृत्वको सरकारमा पराजुली एमालेबाट मन्त्री थिए ।उता पोखरामा आज मनाइएको धान दिवसमा मञ्चमा सुकिला पोशाकमा सजिएकाहरुको गलामा बिहेको दिन बेहुलाले दुबोको माला लगाएझैँ देखिएको छ । उनीहरुको निधारमा रातो टीका लगाइएको छ । झ्वाट्ट हेर्दा विवाह समारोह जस्तै देखिएको उक्त फोटो र कार्यक्रमको चर्को आलोचना भएको छ । उब्जनी हुने खेतमा घर ठडिएकाले अब धानको बीऊ गलामा भिर्नुको विकल्प नभएको फोटोमा आलोचकहरुको टिप्पणी छ ।धान दिवस उल्लासपूर्वक मनाइने नेपालमा वर्षेनी अर्बौं रुपैयाँको धान र चामल विभिन्न देशबाट भित्रिने गर्छ । यो तथ्य भन्सार विभागको तथ्याङ्कले देखाएको छ । पछिल्लो ११ महिनामा मात्र विश्वका विभिन्न देशबाट १६ अर्ब ७९ करोड १७ लाख ४९ हजार रुपैयाँको धान नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको उक्त अवधिमा सो मूल्य बराबरको धान नेपालले आयात गरेको हो ।

चालु आर्थिक वर्षमा प्रत्येक महिना औसतमा १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको धान नेपालले आयात गर्दै आएको छ । धान र चामलको आयातको गति यही रहे चालु आर्थिक वर्षमा नेपालले करिब साढे १८ अर्ब रुपैयाँ धान र चामल आयातमा खर्चने छ । सो अवधिमा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार २१० केजी धान आयात गरेको हो ।

टिप्पणीहरू