लिङ्गदेनमाथि रेखा ‘च्यापेको’ आरोप,असन्तुष्टहरु विद्रोहको तयारीमा

लिङ्गदेनमाथि रेखा ‘च्यापेको’ आरोप,असन्तुष्टहरु विद्रोहको तयारीमा

महाधिवेशनबाट कमल थापालाई साइड लगाएर अप्रत्यासित रुपमा नेतृत्वमा पुगेका राजेन्द्र लिङ्गदेन र पुराना नेताहरुवीचको अन्तरकलहले पूर्वपञ्चहरुको पार्टी राप्रपामा किचलो चर्किएको छ । पार्टी प्रवेशका नाममा अध्यक्ष लिङ्गदेनले नयाँ र बिकाउ अनुहार खोज्दै पुराना र पाका नेताको हुर्मत लिन थालेपछि उनको पार्टी सम्हाल्नै नसक्ने विवादको भुमरीमा फसेको बताइन्छ ।

राप्रपा स्रोतका अनुसार ‘महिला प्रेमी’ लिङ्गदेनले रेखा थापाको इशारामा पुरानालाई पेलेर एकलौटी निर्णय गर्न थालेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्द,पशुपति समशेर राणा,डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डेजस्ता अनुभवी नेताहरु विद्रोहको मनस्थितिमा पुगेका हुन् । यहि स्थिति कायम रहे छिट्टै विशेष महाधिवेशन बोलाएर लिङ्गदेनलाई हटाउनेसम्मको तयारीमा उनीहरु जुटेको उक्त स्रोतको दावी छ ।

बताइएअनुसार लिङ्गदेनको कार्यशैलीले पहिलेदेखि नै आजित भएका नेताहरु ‘अब बूढाहरुबाट पार लाग्दैन’ भनेर सार्वजनिक मन्चबाटै अपमान भएपछि थप चिढिएका छन् । हालै एक कार्यक्रममा लिङ्ग्देनले बूढाहरुबाट पार्टी बन्ने भए बनिसक्थ्यो,त्यसैले छोडेर गए पनि फरक पर्दैन भनेर भाषण गरेपछि अप्ठेरो अवस्थामा समेत राप्रपामै बसेका र राजनीतिमा लागेर कपाल फुलाएका नेताहरु विकल्पको खोजीमा जुटेको बताइन्छ ।

“प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके चरीको गर्लफ्रेन्ड भनिने खुस्बू ओलीलाई प्रवेश गराएर एकैचोटी संगठन विभागमा लगिएको भन्दै अर्को असन्तुष्टी छ ।”

‘केही समयअघि उहाँ (लिङ्गदेन)ले बूढाहरुले छोडे पनि केही फरक पर्दैन, छोडे भने उनीहरुलाई मरेपछि झण्डा ओढाउने मान्छे हुँदैन, मलामी पनि पाउँदैन भन्ने आशयको अभिव्यक्ति दिनुभएको थियो । त्यसपछि नै स्थिति बिग्रिएको हो, पार्टीमा पहिरो जानेवाला छ’, राप्रपाको एक उच्च तहका नेताले भने । उनका अनुसार नयाँलाई भित्र्याएर पार्टी चलाउन सकिन्छ भन्दै राजेन्द्र ढुक्कले हिँडे पनि ठूलो संख्या उनको कार्यशैलीका विरुद्ध निर्णायक संघर्षको तयारीमा छ ।

विभाग गठन, नेताहरुको जिम्मेवारी र पार्टी प्रवेशका नाममा लिङ्देनले एकलौटी गरेको राप्रपाका नेताहरु बताउँछन् । पार्टीमा महिलाहरु प्रवेश गराउने कामको छुट्टै जिम्मा प्रविन चाम्लिङ्गलाई दिइएको र उनले भनेअनुसार अध्यक्षले पार्टी चलाईरहेको उनीहरुको आरोप छ । माइतिघरमा मान्छे बटुलेर अराजक भाषण गर्दै हिँड्ने ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ लाई पार्टी प्रवेश गराएर एकैचोटी प्रवक्ता बनाएकोमा पनि राप्रपाका अधिकांश नेताहरु सन्तुष्ट नरहेको बताइन्छ ।

त्यस्तै, पार्टीको महत्वपूर्ण भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावललाई मनोनित गरेकोमा पनि पुराना नेता बिच्किएका छन् । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके चरीको गर्लफ्रेन्ड भनिने खुस्बू ओलीलाई प्रवेश गराएर एकैचोटी संगठन विभागमा लगिएको भन्दै अर्को असन्तुष्टी छ । उक्त विभागका प्रमुख महामन्त्री डा. धवलसमशेर राणाको चाहनामा नवप्रवेशी खुस्बूलाई माथिल्लो जिम्मेवारीमा पुर्याइएको असन्तुष्टहरु बताउँछन् ।

यसैबीच लिङ्ग्देनमाथि केन्द्रीय समितिको बैठक सारेर जिम्मेवारीबाट भाग्न खोजेको आरोप लागेको छ । ‘विवाद देखिएपछि बैठक बोलाएर समाधानको उपाय खोज्नुपर्नेमा उल्टै उहाँले बैठक रोक्नुभएको छ’, असन्तुष्ट अर्का नेताले भने, ‘हामी त्यसै छोड्नेवाला छैनौँ, आवश्यक परे विशेष महाधिवेशन बोलाएर बिद्रोह गर्छौँ ।’

टिप्पणीहरू