गण्डकीमा मुख्यमन्त्रीको राजीनामा मागियाे

गण्डकीमा मुख्यमन्त्रीको राजीनामा मागियाे

प्रमुख प्रतिपक्ष नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै एमालेले मुख्यमन्त्रीको राजीनामा मागेको हो ।

एमाले उपमहासचिव तथा प्रदेश सांसद पृथ्वीसुब्बा गुरुङले संसदलाई निकास दिन नसकेको भन्दै मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन दबाब दिनुभएको छ । आज एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण संसदमा प्रस्तुत बजेटमाथिको छलफललाई रोकेर संसदलाई अनिर्णयको बन्दी बनाउन नपाइने बताउनुभयो ।

मुख्यमन्त्री र अर्थमन्त्रीमध्ये एक जनाले भए पनि राजीनामा दिएर संसदमा बजेटमाथि छलफलको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सरकारका मन्त्रीहरुले नै आपत्ति जनाएको एमालेको आरोप छ ।

पूर्वमुख्यमन्त्री समेत रहनुभएका नेता गुरुङले बजेट पास हुन नसक्ने स्थिति भए सरकारको विकल्प सोच्नुपर्ने चेतावनी दिनुभयो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारका मन्त्री संसदमा नआउँदा समेत मुख्यमन्त्रीले कारबाही गर्न नसकेको गुरुङलेआरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीमा नैतिकता भए त्यतिबेला नै राजीनामा दिनुपर्ने थियो । मुख्यमन्त्री शासन प्रणालीमा सरकारका मन्त्रीहरु सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन संसदमा उपस्थित हुनैपर्छ । तर उहाँहरु अनुपस्थित हुनुभयो । त्यो बेला मुख्यमन्त्रीले कारबाही गर्न सक्नुपर्ने सक्नुभएन ।’

टिप्पणीहरू